आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको एमआरआई मेसिन बिग्रिँदा बिरामीहरुले सास्ती खेप्नु परेको छ । एमआरआई मेसिन बिग्रिँदा निजी अस्पतालमा दोब्बर शुल्क बुझाएर सेवा लिन बिरामीहरु बाध्य भएका छन् ।
नारायणी अस्पतालमा ३० कराेड रुपैयाँमा खरिद गरेर ल्याइएकाे एमआरआई मेसिन ६ महिनाअघि मात्रै जडान गरेर सञ्चालनमा ल्याइएको थियो । सेवा शुरु गरेको ६ महिनामै मेसिन बिग्रिँदा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिर्नुपरेको छ ।
गत असाेज २३ गते संघीय सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बस्नेतले नारायणी अस्पतालकाे एमआरआई कक्षकाे उद्घाटन गरे पनि गत कात्तिक १४ गतेदेखि एमआरआई सेवा सञ्चालनमा आएको थियाे ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले एमआरआई मेसिनको सफ्टवेयरमा समस्या देखिएपछि दुई हप्तादेखि सेवा अवरुद्ध भएको बताए । मेसिनकाे सफ्टवेयर अपडेट (अद्यावधिक) हुन नसकेका कारण सेवा अवरुद्ध भएको उनको भनाइ छ । मेसिनकाे आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थ केयर प्रा.लि.ले मेसिनकाे बाँकी रहेको २० प्रतिशत रकम भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगरिदिँदा मेसिनमा समस्या देखिएको साहले बताए ।
अस्पतालका अनुसार एमआरआई मेसिन वारेन्टी समयमै रहेकाले त्यसको सम्पूर्ण जिम्मेवारी आपूर्तिकर्ता कम्पनीकै रहेकाे भएपनि २० प्रतिशत रकम भुक्तानी नपाएका कारण उसले सफ्टवेयर अपडेट नगरिदिएकाे हो । साहले आपूर्तिकर्ता कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेकाे २० प्रतिशत रकम अमेरिकी डलरको भाउ बढेका कारण भुक्तानी गर्न नसकिएको भन्दै अपुग रकमका लागि मन्त्रालयसँग आग्रह गरिसकिएको बताए ।
उक्त एमआरआई मेसिन खरिद गरी ल्याएपनि हिलियम ग्यासकाे अभावका कारण अस्पताल परिसरमा करिब तीन महिनाजति खुला आकाशमुनि राखिएको थियो । मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रा.लि.ले त्यसबेला मेसिनमा प्रयोग हुने हिलियम ग्यास बजारमा नपाइएको कारण देखाउँदै अस्पतालमा मेसिन जडानमा ढिलाइ गरेको थियो ।
आपूर्तिकर्ताले अस्पतालमा मेसिन जडान गरेपछि पनि जेनेरेटर अभाव र प्राविधिक कारणले उक्त मेसिन ६ महिनासम्म प्रयाेविहीन अवस्थामा थन्क्याएर राखिएको थियाे । पछि दैनिक १५ हजार रुपैयाँ भाडा तिर्ने गरी ५०० केभिएकाे जेनेरेटर ल्याएर एमआरआई मेसिन सञ्चालनमा ल्याइएको थियाे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies