सत्येन्द्र प्रताप सिंह/मध्यान्ह
रौतहट : रौतहटको यमुनामाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बिहीबार एक समारोहका बीच जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव तथा जिल्ला स्वास्थ्य कार्यालयका अनिल कर्णले यमुनामाईलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् ।
पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको र हाल सोही तथ्यांक तथा सूचकका आधारमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुधिर कुमार सिंहले बताए ।
स्वास्थ्य शाखाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैतमा नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए/नपाएको एकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरेको छ । सबै सर्तहरू पूरा गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकामा कोभिडविरुद्धको खोप १२ वर्षभन्दा माथि उमेर समूहका २१ हजार ४ सय एक जनाले पूर्ण मात्रामा लगाएको पालिकाको तथ्यांकमा उल्लेख छ । सोही तथ्यांकका आधारमा पालिकाका करिब ९४.८० प्रतिशतले कोभिडविरुद्धको खोप लगाएको जिल्ला समन्वय समितिसमक्ष पेश गरिएको र स्वीकृत भइ खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
पालिकामा पाँच वटा स्वास्थ्य चौकी र दुई वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । साविकका सरुअठा, राजपुर तुलसी, राजपुर भेरीयाही, जेठरहिया र झुनखुनवा गरी पाँच वटा गाविसहरू समेटी यमुनामाई गाउँपालिका बनेको हो । यस पालिकाभित्र हाल ५ वटा वडा छन् ।
उक्त कार्यक्रममा ५ वटा स्वास्थ्य चौकीका कार्यालय सहयोगीहरुलाई स्वास्थ्य संयोजक सिंहले साइकल वितरण गरेका थिए । कार्यालय सहयोगी प्रमोद यादव, सुनिल यादव, तपेश्वर मुखिया, अखिलेश प्रसाद अधिकारी तथा शमीकपुर यादवलाई साइकल प्रदान गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies