पुर्ण सार्की/मध्यान्ह
डोल्पा : क्षेत्रफलको हिसाबले नेपालकै ठूलो जिल्ला डोल्पा जहाँ इलाका प्रशासन कार्यालय नहुँदा यहाका नागरिक वर्षौदेखि जिल्ला प्रशासन कार्यालय देखि नै सेवा लिन बाध्य छन् । ७८८९ वर्गकिलोमिटर क्षेत्रफल रहेको डोल्पालाई भूगोलको हिसाबले माथिल्लो डोल्पा, मध्य डोल्पा र तल्लो डोल्पा गरेर तीन भागमा विभाजन गरिएको छ ।
माथिल्लो डोल्पाको शे–फोक्सुण्डो, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका लगायत क्षेत्रका नागरिकहरु हप्तौंदिन लगाएर पैदल यात्रा गर्दै जिल्ला सदरमुकाम दुनै पुगेर सेवा लिन बाध्य छन् ।
राज्यले माथिल्लो डोल्पाका नागरिकलाई लक्षित गरेर इलाका प्रशासन कार्यालयको स्थापना गर्न नसक्दा ४०७२ जनसंख्या रहेको यस क्षेत्रका बासिन्दा वर्षौदेखि समस्या झेलिरहेका छन् ।
सदरमुकाम दुनैदेखि धेरै टाढा रहेकोले आवतजावतमै समस्या हुने गरेको डोल्पोबुद्ध गाउँपालिका ३ का ३१ वर्षीय तेम्बा लामाले बताए ।
लामाले भने,‘गाउँदेखि हिँडेको ५/६ दिनपछि सदरमुकाम दुनै पुगिन्छ । बाटोमा यात्रा गर्दै गर्दा कम्तीमा ७ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म खर्च गर्नुपर्छ । राज्यले उपल्लो डोल्पाबासीलाई वर्षौदेखि अन्याय गरिरहेको छ ।’
हप्तौं दिन लगाएर भिरको बाटो पैदल यात्रा गर्दा ज्यानको समेत जोखिम हुने गरेको छ । यहाँका बासिन्दा नागरिकताको लागि मात्रै नभइ प्रशासनदेखि पाउने सामान्य सिफारिशको लागि समेत सदरमुकाम दुनैसम्म पुग्ने गरेका छन् ।
नागरिकता, सीमा पास लगायतका प्रशासनदेखि पाउने जनजातिको सिफारिश समेतको लागि अझँै पनि सदरमुकाम दुनै पुग्नुपर्ने वाध्यता रहेको डोल्पोबुद्ध ०१ का वडा अध्यक्ष छिरिङ घुटुर मगरले दुखेसो गरे ।
यहाँका स्थानीय तहले समेत राज्यलाई पटक–पटक इलाका प्रशासनको माग गर्दा सुनुवाइ भएको छैन । माथिल्लो डोल्पाको ३ पालिकालाई समेट्ने गरेर इलाका प्रशासन कार्यालय स्थापनाको पटक–पटक माग गरेपनि आफ्नो माग सुनुवाइ नै नभएको डोल्पोबुद्ध १ का ३५ वर्षीय सामाजिक अभियन्ता समेत रहेका ग्याल्पो भोटेले बताए । सोमबार शहरी विकास मन्त्री तथा डोल्पा प्रतिनिधि सभा १ देखि निर्वाचित सांसद धन बहादुर बुढाले उपल्लो डोल्पाका नागरिकको समस्यालाई मध्यनजर गर्दै डोल्पोबुद्ध गाउँपालिका ‘धो’ मा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृह मन्त्रालयसँग माग गरेको बताए ।
यता जिल्ला प्रशासन कार्यालय डोल्पाले समेत उपल्लो डोल्पाका नागरिकको समस्यालाई मध्यनजर गर्दै जिप्रकादेखि सेवा प्रवाह लिनको लागि भौगोलिक विकटताको कारण सदरमुकाम दुनैसम्म आउजाउ गर्न निकै कठिन रहेको भन्दै सहज सेवा पहुँच प्रदान गर्न इलाका प्रशासनको माग गर्दै आएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । स्थानीयका मागलाई सम्बोधन गर्न प्रयास भइरहेको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies