महमद सदाब/मध्यान्ह
वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन समितिले केएफसी वीरगञ्जमा छापा मारेको छ । सोसल मिडियामा केएफसीको बारेमा गुणस्तरहीन चिकेन बिक्रीवितरण गरिरहेको सूचना पाएपछि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक इम्तियाज आलमले तत्कालै बैठक बोलाइ अनुगमन गर्ने निर्देशन दिएका थिए ।
वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य तथा बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरको नेतृत्वमा गएको टोलीले आदर्शनगरस्थित स्काइलाइन मलभित्र सञ्चालनमा रहेको उक्त केएफसीमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा केएफसीको किचेन र स्टोरमा अनुगम गर्दा फ्रीजमा राखिएको मासु, माछा र दूध राखेको हुँदा वीरगञ्ज महानगर पालिकाका कार्यपालिका सदस्य तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुरले छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएका छन् । जथाभावि सामान नराख्न र मांसहारी, साकाहारी डिपार्ट छुट्टाछुट्टै राख्न सुझाव समेत दिएका छन् भने गुणस्तरहीन रहेको मासुहरु खाल्टो खनि पुर्न निर्देशन दिएका छन् । यदि गुणस्तरहीन सामान बिक्रीवितरण गर्ने भेटिएमा कडा भन्दा कडा सजाय गर्ने चेतावनी दिएका छन् ।
महानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक इम्तियाज आलमले नगरबासीहरुको गुनासोले तत्काल समितिका पदाधिकारीहरुलाई बोलाइ तुरुन्त अनुगमन गर्ने निर्देशन दिएका थिए ।
उक्त टोलीमा वीरगञ्ज महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दास, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका सुरेश कुमार सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधि मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि ब्रम्हदेव यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies