कृष्ण तिवारी/मध्यान्ह
रौतहट : रौतहट बंकुल छोटी भन्सार नाकामा खटिने सशस्त्र प्रहरीले लाइन दिएपछि भारतीय सीमानाकामा चोरी तस्करी बढेको आरोप लाग्ने गरेको छ ।
भारतीय बजारसँग सिमाना जोडिएको रौतहटमा संगठित तथा पोके तस्करहरूले व्यापक रुपमा तस्करी गरिरहेको आरोप लागेको हो ।
पछिल्लो समय रौतहटको बंकुल छोटी भन्सार बडा बंकुल, नरकटियाबाट व्यापक मात्रामा तस्करी फस्टाएको आरोप लागेको छ ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका गौर भन्सार हुँदा हँुदै जिल्लाको पश्चिमी भेगमा रहेको बंकुल बजारस्थित छोटी भन्सार बंकुलमा खटिने सशस्त्र प्रहरीका गस्ती टोली युनिटले तस्करहरूबाट मासिक रकम लिएर अवैध कारोबार सञ्चालनमा सघाइरहेको स्रोतले बताएको छ ।
सीमा वारपार हुने तस्करी नियन्त्रणको जिम्मा पाएका निकायहरूकै संलग्नता र सहयोगमा तस्करी व्यापक मात्रामा मौलाएको देखिन्छ । भारतीय बजार घोडा सहनबाट रौतहटको छोटी भन्सार बंकुल नाका भएर भारतीय ट्याम्पो तथा मोटरसाइकलमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको आरोप लागेको छ ।
रौतहटको मुख्य नाकाको रूपमा रहेका पाँच वटा नाका बेलबिछवा, गौर भन्सार, औरैया, रामपुर खापमा पाँच वटा बीओपी रहेका छन, जसमध्ये गौर भन्सार, बेलबिछवा, औरैया, रामपुरखाप र बीओपी सरमुजवा लगायतका बीओपीहरुमा सशस्त्र प्रहरी निरीक्षकहरुको सरुवा र नया निरीक्षकहरु बीओपीहरुमा आउने बित्तिकै तस्करहरुसँग साटघाट गरी राति र बिहान सेटिङमा संगठित रूपमा तस्करी भइरहेको स्थानीयहरु बताउँछन् ।
बीओपी सरमुजवाका सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काले भारतीय तस्करहरुसँग भारतीय बजार घोडा सहनमा गइ भारतीय तस्करहरु झङ्डौखारका श्याम सुन्दर साह, लैन बसवारियाका मोनू जयसवाल, अगरवाका अरविन्द साह जस्ता भारतीय कुख्यात तस्करहरुबाट मोटो रकम लिइ बडा बंकुल र नरकटिया सिमा नाकाबाट नेपाली गिट्टी, बालुवा र अवैध मदिरा भारत लैजान सघाइरहेको तथा भारतबाट अवैध तयारी कुखुरा, स्पेयर पार्ट्स, कास्मेटिक आइटम, खाद्यान्न सामग्री लगायतका वस्तुहरूको ओसार–पोसारमा सघाउ पु¥याएकोले राजस्व संकलनमा कमी आएको देखिएको छ ।
गौर भन्सारका प्रमुख अमरेन्द्र कुमार सिंहसँग कुरा गर्दा नेपाल भारतको खुल्ला सिमानाका भएको कारण तस्करी फस्टाएको र आफुसँग जनशक्ति कम भएको कारण लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको बताए ।
सशस्त्र प्रहरीले सर्वसाधारणलाई दुःख दिने र दिनहुँ दशौं पटकसम्म सामान ओसारपसार गर्नेलाई छुट दिने गरेको स्थानीयहरु बताउँछन् ।
तस्करहरुसँग सशस्त्र प्रहरीको डिल भएकाले तिनीहरुलाई केही नगर्ने तर सर्वसाधारणले आफ्नो घरायसी प्रयोजनका लागि केही मात्रामा सामान ल्याउँदा माथिको निर्देशन भन्दै सताउने गरेको स्थानीयहरु बताउँछन् ।
बंकुल नाकाको छेउबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ । केही भारतीय खुद्रा तथा थोक तस्करहरुसँगको मिलेमतोमा सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्गमा दिनहुँ लाखौंको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुको भनाइ छ ।
भारतको बिहार राज्य सरकारले मदिरामा प्रतिबन्ध लगाएपछि तस्करहरूले यो नाकाबाट प्रत्येक दिन हजारौं कार्टुन मदिरा भारत पठाइरहेका छन् । सुरक्षा निकायका प्रमुखहरू भने खुला सीमाका कारण समस्या आएको र तस्करीको लाइनका बारेमा कुनै जानकारी नभएको बताउँछन् । सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भएको कारण नै यहाँका भन्सारले लक्ष्य अनुरूपको राजश्व संकलन गर्न सकिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा परिरहेको छ । तस्करीको सम्बन्धमा हेड क्वाटर ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुँमागाइसँग कुरा गर्दा आफुले आफ्नो पाँच वटै बीओपी प्रमुखहरुलाई तस्करी नगराउन कडा निर्देशन दिएको र तस्करीमा संलग्न भएको पाइएमा कडा भन्दा कडा कारबाही गर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies