मनीषा अवस्थी/मध्यान्ह
काठमाडौं : श्यामश्वैत पहिरन, ठूलो चस्मा अनि अनुहारमा बुढ्यौलीका रेखा प्रष्ट देखिए पनि किशोरावस्थाझैं स्फुर्ती । टोखास्थित नवजिवन परोपकार समाजको आँगनमा अभिभावकीय भूमिकामा देखिने धादिङकी अमृतकुमारी अधिकारीको दैनिकी यसरी नै बित्छ । उमेरले ८५ वर्षमा हिडिरहेकी अमृतिकुमारीको फुर्ती हेर्दा बृद्धाअवस्था झैं कत्ति पनि लग्दैन । दिनहुँ आश्रममा आउने पाहुनाको स्वागतमा उनी खिस्स हाँसिरहन्छिन् । त्यहाँ हुने सानातिना कार्यक्रमका लागि आश्रमभित्रका सामान जुटाउने जिम्मा उनकै छ ।
धादिङ साविक पीँडा गाविसमा २०औं शताब्दीको अन्त्यतिर वि.स. १९९६ सालमा जन्मिइन् अमृतकुमारी । तिमिल्सेना दम्पत्तिको साइली छोरीको रुपमा जन्मेकी अमृतकुमारीको बाल्यकाल हाँसखेलमा बित्यो । तर हाँसखेलको उमेर नसकिदै उनलाई पराइघरको जिम्मा लगाइयो । उमेर २२ वर्ष जेठो केटासँग आमावुवाले अमृतकुमारीको बिवाह गरिदिए ।
आठ वर्षको उमेरमै विवाह हुँदा उनलाई बिवाह र घरबारे केही पनि थाहा थिएन । उनकै भाषामा, ‘त्यतिबेला केही थाहा थिएन । आमाबुवाले बिवाह गरिदिए मैले पनि गरेँ ।’
माइतमा उनका दाजुभाइ थिएनन् । माइतीको लाड प्यारमै हुर्केकी अमृतकुमारीले विवाहपछिका केही वर्ष माइतमै बिताइन् । १० वर्ष भएपछि उनी अधिकारीको घर फिरिन् । उनका श्रीमान सरकारी जागिरे थिए । श्रीमान जागिरे हुँदा विवाहपछि धेरै वर्ष उनले श्रीमानको जागिरसँगै काठमाडौं, लगायत विभिन्न क्षेत्रमा श्रीमानसँगै बिताइन् । श्रीमानको जागिरको शिलशिलामै उनले छोरो जन्माइन् । उनी हाँसखुशी थिइन् । श्रीमानसँगको समय सम्झिदै अमृतकुमारी रोमाञ्चित हुन्छिन् । उनी भन्छिन्, ‘श्रीमान साथमा हुँदा त केही दुःख थिएन नि ! उनी गएपछि म एक्लिएकी हुँ ।’
उकाली ओह्राली दुःख सुख उतार चढाव, जस्तो हुँदा पनि जिन्दगी त चलिरहदो रहेछ । यो उनै अमृतकुमारी हेर्दा अझैं प्रष्ट हुन्छ । आफ्नै खटनमा चलेको जीवनमा समाजले भरिदिएको रंग उजाडिएपछि उनलाई नियतिले काठमाडौं शहर पुर्याएको थियो । अधिकारीको बालखैमा बिहे भयो । किशोरावस्थामै सन्तान जन्मियो । समाजले कोरिदिएको महिला जिन्दगीको रंग पनि किशोरवयमै श्यामश्वैत बन्यो ।
उनको सिन्दुर पखालियो, चुरा फुटाइयो अनि जिवन प्राकृतिक बन्यो । अर्थात् प्रकृत्तिजस्तै, हरियो, कालो र सेतो रङमा उनी अभ्यस्त भइन् । उनी भन्छिन्, ‘अहिले सुख छ भन्नुपर्ने रहेनछ । म त असाध्यै खुशी थिए नि । तर, छोरो जन्मेको २ वर्षमा बुढाले छोडेर गएँ । त्यसपछिका दुःख सम्झेर कहाली लाग्छ ।’
आजभोलि अमृतकुमारीलाई लाग्छ, सपनाहरू सानातिना चोटले मर्दैनन् । बरू समयसँगै सपनाका रङहरू र बाटाहरू फेरिन्छन् । त्यसैले त होला श्रीमान् साथमा हुँदाका सपना चटक्कै भुलेर अधिकारीले नयाँ सपनाको बिउ छरिन् । दुई वर्ष नुपुग्दै बाउ गुमाएको छोरो हुर्काउँदै कयौं अप्ठेरा जंघार तरिन् । छोरोलाई सक्दो पढाइन, बढाइन् र बिहे गरिदिइन् ।
छोरोको बिहेताका अमृतकुमारीलाई लाग्थ्यो, अब जिवनमा खुशीले लय समात्छ । छोराका सन्तान आफ्नो समीपमा आएको कल्पना गर्दै रमाउन थालेकी थिइन्, अमृतकुमारी । तर, भोली कसलाई थाहा हुन्छ र ? जिवनमा दुःखको पहाडले सधैंका लागि थिच्यो उनलाई । बुहारी भित्र्याएको पाँच वर्ष नपुग्दै छोरा गुमाउनुपर्यो अनि छोरोको काजक्रिया नसकिदै जन्मिएको १३ दिनमा नाती पनि गुमाउनुपर्यो ।
मानिसको जिवनमा आशाको त्यान्द्रो चुँडिएपछि पुरै अध्याँरो नै हुनेरहेछ । नाती पनि गुमाएपछि उनलाई कुनै दिशा उज्यालो लागेन । भर्खरै सन्तान गुमाएकी दृष्टिबिहिन बुहारी डो¥याउदै उनी सडकमा निस्कइन् । हिड्दाहिड्दै कयौं रात सडकमा बिताए उनीहरूले । कयौं छाक अर्काको जुठो खाए, कयौं छाक भोकै बिताए जसको लेखाजोखा नै छैन । सडकमा कति समय बिताए ? अमृतकुमारीलाई एकीन नै छैन । तर, उनी कोही व्यक्तिको सम्पर्कबाट नवजिवन परोपकार केन्द्र आइपुगिन् । आश्रममा आइपूग्दा पनि घर परिवारको धुमील स्मृतिले लामो समय सताइरह्यो अमृतकुमारीलाई । लामो समय उनी गहीरो तनावबाट निस्कन सकिनन् ।
जिन्दगीको अधिकांश समय आफूकेन्द्रित रहेर बिताएकी अमृतकुमारी आजभोली अरूका लागि पनि बाँच्न थालेकी छिन् । उनलाई अचेल जीवन फगत एक अनुभुति जस्तो लाग्छ । उनकै भाषामा सुविधाहरूमा बाँच्दा जीवन सुविधाजस्तो लाग्छ । दुःखमा दुःखजस्तो, सुखमा सुखैजस्तो, अभावमा अभावैजस्तो अनि भावमा भाव नै जस्तो । यी सबै अनुभुती नै त हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies