काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त–द मेडिसीटी अस्पतालबीच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ । अस्पतालमा सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन् । यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको बैंकले जनाएको छ ।
आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउने जनाइएको छ । बैंकले यस्तो किसिमको सुविधा विगत चार वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।
काठमाडौं : बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ । डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्नेलगायत महत्वपूर्ण व्यवस्था राखेर उक्त विधेयक अर्थ मन्त्रालयले गत सोमबार प्रतिनिधिसभामा दर्ता गराएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, वित्तीय सुरक्षा, वित्तीय जोखिमसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न आवश्यक रहेको भन्दै यो विधेयक ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । प्रविधिमा आएको परिवर्तनलाई प्रयोग गर्न र विद्यमान कानुनमा उल्लेखित तीनवटै तहका सरकारको वित्तीय अधिकार क्षेत्र व्यवस्थित गर्न आवश्यक भएकाले बाफिया विधेयक ल्याइएको जनाइएको छ ।
त्यसैगरी नेपालको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको विश्वसनियता अभिवृद्धि गर्न, राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाई स्थायित्व कायम गर्न र बैंक तथा वित्तीय संस्थाको संस्थापना, सञ्चालन, व्यवस्थापन, नियमनलगायत कार्यलाई व्यवस्थित गर्नका लागि पनि विद्यमान ऐन संशोधन गर्न लागिएको जनाइएको छ । बाफिया विधेयकमा डिजिटल मुद्रालाई परिभाषित गर्न खोजिएको छ । ‘डिजिटल मुद्रा भन्नाले नेपाल राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झिनुपर्छ’, विधेयकमा भनिएको छ । डिजिटल मुद्राबारे अहिले नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ ।
काठमाडौं : अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन जना उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाबारे छलफल भएको छ । अर्थमन्त्री पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअलमाध्यमबाट बैठक भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठकमा एसियाली विकास बैंक (एडिबी) का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का प्रतिनिधिसमेत सहभागी थिए । त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिवहरु उत्तरकुमार खत्री, रितेशकुमार शाक्य, श्रीकृष्ण नेपाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए । बैठकमा नेपाल र विश्व बैंकबीचको आगामी पाँच वर्षका लागि साझेदारी खाका निर्माण तथा माथिल्लो अरुण जलविद्युत आयोजना र दुधकोशी जलाशययुक्त आयोजना अगाडि बढाउने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
बैठकमा अर्थमन्त्री पुनले ठूलोमध्येको एक अन्तर्राष्ट्रिय विकास साझेदारका रुपमा नेपालको आर्थिक विकासमा पुर्याउँदै आएको योगदानका लागि विश्व बैंकलाई धन्यवाद दिए । नेपालमा यातायात, सहरी विकास, कृषि, वन, वातावरण, रोजगारीलगायत पूर्वाधार क्षेत्रमा विश्व बैंकको लगानीमा विकास आयोजना अघि बढेको जानकारी दिँदै उनले विभिन्न कारणले ती आयोजनाको प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । यद्यपि ती आयोजनाका कामलाई तीव्रता दिन आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पुनको भनाइ छ ।
नेपालले हरित उत्थानशील समावेशी विकासको मान्यता आत्मसात गरेको पनि अर्थमन्त्री पुनले बताए । उनले पूर्वाधारका आयोजनामा हरित वित्तको अभिवृद्धिका लागि विश्व बैंकसँग आग्रह गरे ।
विश्व बैंकका उपाध्यक्षसहितका पदाधिकारीले नेपालसँगको सहकार्य उत्साहजनक रहेको बताउँदै माथिल्लो अरुण जलविद्युत आयोजनासहित पाइपलाइनमा रहेका आयोजनाबारे धारणा राखेका थिए । अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)ले कार्यक्रम सञ्चालन गरेको अन्य मुलुकको तुलनामा नेपालको ऋण जोखिम कम रहेको भन्दै उहाँहरुले सहुलियतपूर्णबाहेकका ऋणसमेत उपभोग गर्न नेपाललाई आग्रह गरे ।
काठमाडौं : बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।
चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ ।
कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने भएको छ । एक्स्पोमा दुई वटा विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा छोटो वृत्तचित्र बनाउने प्रतिस्पर्धा हुने छ ।
सु–समृद्धिका लागि हरित ऊर्जा भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने र हाइड्रोपवारका सामग्री वा सेवासँग सम्बन्धित जलविद्युत उत्पादन र सेवा प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको आवश्यकता र महत्वको दुई विधामा प्रतिस्पर्धा गराउन लागेको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए । हरेक प्रतिस्पर्धाका बिजेताले ४४, ४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र पाउने छन् ।
९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्वसहितको भिडियोहरु आयोजक संस्था इप्पानको वेवसाइट र इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेवसाइट एवं हिमालयन हाइड्रो एक्स्पोको वेवसाइट तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक इन्स्टाग्राम, युट्युब, लिङ्देन लगायतमा समाजिक संजालमा पोस्ट गरिनेछ ।
सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम दितीय पुरस्कार दिइनेछ । प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । सो भिडियो चैत २७ गतेभित्र पठाइसक्नुपर्ने उल्लेख छ । २०८१ बैशाख ११ गतेसम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ भने हाइड्रोपवार उत्पादन र सेवासँग सम्बन्धित आइडियाहरु देखाउने प्रतिस्पर्धाका सहभागीले आफ्ना रचनात्मक आइडियाहरु एक्स्पो अवधि २०८१ बैशाख १२ देखि १४ गते भित्र एक्स्पो स्थल भृकुटीमण्डपमा प्रदर्शन गरिनेछ ।
यो प्रतिस्पर्धामा सहभागी हुन भने ५ जनासम्मको समुहलाई २५ सय रुपैयाँ सहभागिता शुल्क तोकेको छ । यो शुल्कमा हरेक व्यक्तिलाई ३ दिनसम्म लञ्च कुपन उपलब्ध गराइने छ । प्रथम हुने व्यक्ति वा समूहले ४४ हजार रुपैयाँ नगद पुरस्कार पाउने भने द्वितीय र तृत्तीय हुनेले क्रमश २२ र ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । एक्स्पोको अवसरमा अयोजना गरिएको प्रतिस्पर्धाले हरित ऊर्जाले समग्र विकासमा पारेको प्रभाववारे सर्वसाधारणलाई जनचेतना दिनुका साथै ऊर्जा क्षेत्रमा प्रयोग हुने नयाँ नयाँ अवधारणाहरुको वारेमा जान्न र बुझ्न सहयोग पुग्ने इप्पानका महासचिव बलराम खतिवडाले बताए ।
तीन दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछ । ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको इप्पानले जनाएको छ ।
काठमाडौं : सीजी ब्रान्डले शिक्षा, कर्पोरेट अफिस र अस्पतालहरुका लागि अन्तरक्रियात्मक डिजिटल बोर्ड ल्याएको छ । अन्तरक्रियात्मक डिजिटल बोर्डहरु ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रुपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरुमा जडान गरिएको छ भने प्रयोगकर्ताहरुलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससँग अन्तरक्रिया गर्न पनि सकिनेछ । बोर्डमा रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड, ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरु सहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन् ।
यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिङ हल र घरमा पनि उपयोगी रहेको कम्पनीको भनाइ छ । यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक आउटलेटहबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल र जोरपाटी, काठमाडौं स्थित शंखरापुर हस्पिटल बीच सम्झौता भएको छ । सो हस्पिटलमा बैंकका ग्राहकले छुट पाउने सम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका कार्डबाहक ग्राहकहरुले शंखरापुर हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । सो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको हो । सो ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपांग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइने बैकले जनाएको छ ।
कर्जाको अवधि पाँच वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र पाँच वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत ब्याजदर रहेको छ । न्यूनतम सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रिन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराखेकालाई सो योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।
काठमाडौं : कुमारी बैंक लिमिटेडले वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले चैत ८ गते वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।
बैंकिङ सेवाहरुको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै भिडियो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगदप्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरु कायम राख्ने जस्ता अत्यावश्यक विषयहरुमा जोड दिएको बैंकले जनाएको छ ।
बैंकले भिडियो श्रृंखला र पुस्तकमार्फत् बैंकिङ सेवाको प्रयोग, व्यवसाय शुरु र सञ्चालन गर्ने प्रक्रिया, बैंकिङ सुरक्षा जस्ता धेरै विषयवस्तुमा केन्द्रीत गरेको उल्लेख गरेको छ । भिडियो श्रृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
काठमाडौं : सरकारले एनसेललाई पूर्व सूचना प्रणालीमा पुर्याएको योगदानका लागि सम्मान गरको छ । बिहीबार काठमाडौंमा आयोजित नेशनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशिलचन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन् ।
एनसेलले पूर्व सूचना प्रणाली संचालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्याएको योगदानको मुल्यांकन गर्दै यो कदर पत्र प्रदान गरिएको हो । पूर्व सूचना प्रणालीमा एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ ।
गत पुषमा एनसेल र जल तथा मौसम विज्ञान विभागले एक समझदारी पत्रमा हस्ताक्षर गरेर सहकार्यलाई थप विस्तार गरेका थिए । जस अन्तर्गत पूर्व सूचना प्रणालीमा अब १३ वटा जोखिमहरु समेटिएका छन् । यसै अनुरुप एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्व सूचना प्रवाह गर्दै आएको छ ।
कदर पत्र ग्रहण गरेपछि उत्साह प्रकट गर्दै एनसेलका चीफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले भने, ‘जल तथा मौसम विज्ञान विभागसँग पुर्व सूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा हामी खुसी छौं र यो कदर पत्रका लागि हामी आभारी छौं । हामीले सेवा प्रदान गर्ने समुदाय र त्यहाँका नागरिकको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्घता अनुरुप यो सहकार्य गरिरहेका छौं ।’ सन् २०१६ देखि एनसेलले निरन्तर बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पुर्व सूचना प्रवाह गदै आएको छ । २०२३ मा एनसेलले ९० लाख भन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies