-गंगा दाहाल, ललितपुर
१. भन्नलाई भने पनि हेर्दैनन् कोही
असल चरीत्र नै मान्छेको सुन्दरता हो
आदर्श, नैतिकता टेर्दैनन् कोही ।।
२. आज समाज कस्तो हुन्थ्यो होला
अनुहारमा व्यवहार पनि झल्किने भए
दुखेर पीडा को रुन्थ्यो होला ।।
३. कसको मनमा के चल्दैछ आज
छाँया हेर्दै थाहा पाउँछु भन्छन् कोही
को कसको रिसले जल्दैछ आज ।।
४. स्तब्ध हुन्छ यो मन अनायासै
अतित वर्तमानमा झल्किन्छ जब
भारी हुन्छ यो पन अनायासै ।।
५. नङ र मासुको सम्बन्ध जस्तो
कोपिला साहित्य सर्जक र सृजनाको
आँखा र आशुको सम्बन्ध जस्तो ।।
-हीरा खराल, माण्डले, म्यानमार
सूर्यको सुनौलो किरण भई
जगतमा प्रकाश दिन चाहन्छु
रातको जुनेली छायाँ भई
शितलताको मायाँ गाँस्न चाहन्छु ।
एकान्त वनमा फुलेर फक्रन चाहन्छु
घरमा फुल्ने फूल भई माया पाउँन चाहन्छु
सर्वत्र र सिक्को
आँगन आँगनमा रमाउँन चाहन्छु ।
देश विदेश
विश्वले चिन्न सक्ने हुन चाहन्छु
आफ्नो परम्परा र संस्कृति लाई मौलाउन चाहन्छु
मेरो स्वतन्त्र सधै भरि सत्य बनाउन चाहन्छु ।
कविको कलम भई
मनको व्यथा पोख्न चाहन्छु
राष्ट्रको प्रखर खुकुरी भई बैरी नास्न चाहन्छु
आफ्नो देश र जाति प्रति
प्राणनै अर्पण गर्न चाहन्छु ।
कवि भई कवितामा हराउन चाहन्छु
कविताको मर्म भित्रसम्म पस्न चाहन्छु
नाला खोला नदी समुन्द्र भई बग्न चाहन्छु
सिमसिम पानी परेको
सिर्सिरे हावामा सुनसान भई बस्न चाहन्छु ।
जूनेली रात्रीको जून संगै बसेर
आफ्नो मायालाई पर्खिन चाहन्छु
तिमी बान प्राण त्याग्छु भन्नेलाई
बाटो कुरि बस्न चाहन्छु ।
सत्य मार्गको दिग्दर्शनगर्ने लाई
सानो भए पनि
लाज र हिनता त्यागेर स्वीकार्न चाहन्छु
गन्तव्यमा पुराउनेलाई सदमित्र मान्न चाहन्छु
नेपाल आमाकि छोरी हुँ भनेर
विश्व नेपालीलाई चिनाउन चाहन्छु ।
-शम्भु पनेरु
एकजना साथीको घरमा संयोगबस श्राद्धको दिन पुगेछु । श्राद्ध खान पाइयो । अचार, पुरी, तरकारी, दाल भात, दही, फुरौला आदि । साथी पूर्व मास्टर थिए, म पनि त्यस्तै । साथीले बहालवाला मास्टरलाई सम्झे । खबर गरेर श्राद्धको अचार, पुरी फुरौला चखाऊँ भनेर । तर, मास्टरको बाले प्रतिक्रिया जनाइहाले, ‘मास्टरहरु आउँदैनन्, उतै कुखुरा खाएर ढाडिएका होलान्, के आउँथे ।’
उनको कुरा सुन्दा अलिअलि हाँसो उठ्यो र विगतको सम्झना पनि आयो । आफूले पनि कहिलेकाँही कुखुरा खाएको । तर, ढाडिने गरी त कहिले पो खाइयो र । यत्तिकैमा बहालवाला मास्टरको सम्झना आयो । पूर्व मास्टरको बाले भनेजस्तै ढाडिने गरी कुखुरा खान सिङ्गासिङ्गै बडा–बडा कुखुरा ढाल्नुपर्छ भन्ने भनाई । जाबो एउटा कुखुरो काटेर आठ दश जनाले खाँदा कति ढाडिए होलान् ?
तर, ति मास्टरको बाबुको मनमा भने किन त्यस्तो धारणा बसेको होला ? मास्टरको बाले सम्झाईदिँदा मास्टरहरुसँगै कुखुराहरुको यादको ओइरो मनमा लाग्न थाल्यो । मास्टरहरु प्रा.वि.का, नि.मा.वि का ठिटा मास्टर, बुढामास्टर, अधवैंशे मास्टर आदि । मिसहरु भर्खर जागिरमा प्रवेश गरेका, पढाउँदा पढाउँदै थाकेका । त्यस्तै कुखुराहरु पनि सम्झँदै गईयो । आफू वहालवाला मास्टर हुँदा कस्ता–कस्ता खाईयो र पूर्व मास्टर बनेपछि साथिहरु ईष्टमित्रले कस्ता–कस्ता र कत्रा–कत्रा खुवाए । काला, राता, सेता छ्यासमिसे कलर भएका आदि । तर कहिले काँही मात्र खाईयो पहिले पनि । अहिले पनि सधैं कहाँ पाउनु । तर हाम्रा पूर्व शिक्षकका बा र अन्य गाउँलेको धारणा यो छ कि सधैं मास्टरहरु कुखुरा खान्छन् ।
सम्झदै गर्दाखेरी पुरानो कुराको याद आयो । हामीलाई क, ख, ग सिकाउने गुरुहरु लुङ्गी लगाएर स्कुल जान्थे । विद्यालय गएर हाजिर साजिर गर्ने दाँत–साँत राता निला जाँच्दथे । होमवर्क हेरे पछि ठिटाहरुलाई दुनोट वा कक्षा गीत गाउन खेताला लगाईएको एक छिन पछि हराउँथे । एक दिन एक जना बुढा बाले सोधे कि तिमिहरुको सर कहाँ जान्छन् थाहा छ ? हामीले थाहा नभएको बतायौं । बुढो बाले भने सर कुखुरो काट्न पसलमा गएको बताए । हामीलाई पनि चाँसो लाग्यो, कसरी कुखुरो काट्दा रहेछन् सरहरुले । दुई तीन जना मिलेर लुसुक्क गइयो पसलतिर, घर जानेभन्दा उल्टो बाटो परे पनि । सरहरु साँच्चै रातो भाले भुत्लाउँदै रहेछन् । हामीलाई देख्नेवित्तिकै गाली गर्दै भने, ‘ए ! भुरा हो भाग ।’ हामी ठाडो पुच्छर लगाएर कुलेलम ठोक्यौं र सँगै थाहा पनि पायौँ कि मास्टरहरु कुखुरा खाँदा रहेछन् ।
म एउटा मा.वि. स्कुलमा मास्टर जागिर खाँदाको कुरा हो, हामी वार्षिक परीक्षाको रिजल्टको तयारीमा थियौं । कामको लोड पनि चर्कै थियो । विद्यार्थीका प्राप्ताङ्कहरुलाई रजिष्टरमा व्यवस्थित ढंगले राख्ने । पहिलो, दोस्रो, तेस्रो कक्षा १ देखि १० सम्मको काम कसिकसाउ थियो । यसै अवस्थामा एक दिन विद्यालयका सरहरुबाट कुखुरा खाने प्रस्ताव आयो । हेडसरले त्यो प्रस्ताव सहर्ष स्वीकार गरेपछि कुखरो खोजि कार्यक्रमको लागि मैले नियुक्ति पाएँ । दुईवटा राता भालेको खोजिमा एक्लै गाउँ पुगे । त्यहाँ आठ नौ महिना छाडा लगाएर पालेका दुई वटा राता भाले छानियो । कुखुरा धनी सरहरुलाई खुब आदर गर्दा रहेछन् । मास्टरको मोलमा किनेर चलेँ म पनि स्कुलतिर ।
बाटामा मैले एक जना सरलाई भेटें उहाँ कुखुरोसँग मोलेर खान चिउरा लिन आउनु भएको थियो । उहाँले सोध्नुभयो कतिमा किन्यौं ? मैले भने एकसय पच्चीसका दरले । उहाँले जिब्रो काढ्नुभयो । मलाई डर लाग्यो की भाले महंगो भयो भनेर । तर उहाँले भन्नुभयो मैले भए यी भाले दुई–दुई सय घटी मास्टरहरुको पेटमा पार्दै पार्दिन थिए । तिमी सोझा रहेछौ । आदी सस्तो ल्याएर तिमिले भाउ बिगारेउ । त्यसो होइन, हामी दुईजना मिलेर नाफा खाऔं । स्कुलको पैसा जाने त हो नी आज त ।
चार सयमा किनेको भनौं नाफा आदि÷आदि पारौं । मैले उहाँको कुरा बुझें कि कुखरा खरिद कार्यक्रममा नियुक्ति पाए आदि नाफा खानु हुँदो रहेछ सरले । मैले उहाँको कुरा मानिन । नाफै खान परे पनि किन उहाँलाई पनि खुवाउनु सित्तैमा आदि । म एक्लैले खाने अधिकार सुरक्षित भएपनि आफ्ना सरहरुलाई भुराहरुसँग उठाएको फिबाट सुपथ मूल्यमै खुवाईदिऔं जस्तो लाग्यो । र जवाफ दिए, ‘मचाँही नाफा खान्न तपाईलाई पनि खुवाउदिन गुरु ! बरु चिउरामा सकेजति नाफा खानोस् म हल्ला गर्दिन ।’ सर हाँस्नु भयो अनि दुबै जना लाग्यौं स्कुलतिर ।
पाले दाइको मद्दतले कुखुरा खुईल्याएर भुटियो । भान्से लाग्ने बेलामा चार÷पाँच जना सरहरु भइ कुखुरो भुट्दा÷भुट्दै एक÷दुई पिस चाख्दै जाने क्रम चल्यो । नुन, मसला, पिरो र काँचो पाको के छ ? बुझ्दा बुझ्दै आदि खतम् । यसै समयमा हाम्रा हेडसर मासु पकाई कार्यक्रम स्थलतर्फ लम्किएर आउन लागे जस्तै भान हामीलाई लाग्यो । मुखभरीको मासुको बुजो के गर्ने ? हामीलाई फसाद प¥यो । हत्त न पत्त स्टोर कोठाभित्र छिरेर मक्ल्याक मुक्लुक चपाएर चुलो तर्फ आएको त हेडसर आएकै होइन रहेछन् ।
एक दिनको कुरो हो मेरो गाउँको नि.मा.वि स्कुलमा जापानिज नागरिहरु आए । उनीहरुले विद्यार्थीहरुको लागि कापी, कलम, खेलौना चक्लेट र अन्य उपहारहरु तथा शैक्षिक सामग्रीहरु ल्याई दिए र विद्यालयमा रात बिताउने ईच्छा व्यक्त गरे । उनीहरुको सत्कार विद्यालयले लोकल कुखुरा र लोकल चामलको भातले गर्ने सुर कस्यो । त्यसै अवसरमा सबैजसो सरहरु समितिहरु म जस्तो भाग्यमानीले पनि लोकल कुखुरोको स्वाद लिन पाइनेमा मनमनै दंग थियौं । पाँच वटा लोकल कुखुरो मगाईयो । मैले जापानिजको लिडरलाई सोधें पिरो कत्तिको खाइन्छ ? उनले भने पिरो त नभए पनि हुन्छ, हाल्नु नै हुन्छ भने अलिकति मात्र ।
मैले भान्छेहरुलाई पिरो थोरै राख्न भनें र हामी जापानिजहरुसँँग गफ गर्दै रह्यौं । केहि छिन पछि सरहरुबाट मलाई बोलावट भयो, कुखुराको मासु चाख्नकोे लागि । म जानुभन्दा पहिला नै मेरो नाममा चाख्नेहरुले दुई प्लेट जति हजम पारि सकेछन् । मैले एक चोक्टा सुघ्न नै नपाई, तेस्रो प्लेट मगाईयो र चाख्नेहरुले भने मासु चाख्न बोलाएको कति गफ गरेर बसेका बुढा । एउटा चौटा मासु मुखमा के हालेको थिएँ आगो जस्तो पिरो । मैले भान्से सरहरुलाई भने किन यस्तो पिरो हालेको ? खाँदैनन् जापानिजहरुले । ‘उनीहरुले भने कि जापानिजहरुले सि सि गर्दा गर्दै हामीले काम खत्तम पारौंलानी किन चिन्ता गर्नुहुन्छ’, चाख्न तम्सिएका सर बोले ।
खाना खान बसियो । मैले जापानिजको कल्चरबारे सुनेको थिएँ । तपाईले अस्ति बनाएको खाना कति मिठो थियो भनेर, पछिसम्म भनिरहन्छन् रे । आजको खानाबारेको प्रतिक्रिया बुझ्न खोजें । खाना कस्तो लाग्यो ? मलाई उनीहरुले धेरै मिठो छ भन्छन् भन्ठानेको थिएँ तर, उनीहरुले भने कस्तो पिरो हालेको ? मुखैमा लान नसक्ने । मैले साथीहरुलाई भन्दै गर्दा सि सि गर्दै हाँस्दै लोकल कुखुरा बजाईसकेछन् । तपाईले थाहा पाई हाल्नु भयो यी मास्टरहरुले लोकल कुखुराको माया कति गर्दा रहेछन् ।
एक दिनको कुरा हो म मेरो जेठान पर्ने दाजुसँग बाघखोरको लेकको बाटो ससुराल जाँदै थिए । मेरो ससुराली विदुर नगरपालिकामा पर्छ । बाघखोरबाट २ घण्टा ओरालो बेसीमा । बाटामा एकजना तराई बासी मास्टर बाघखोरको स्कुलमा पढाउन आउँदै थिए । जेठान पर्नेले नमस्कार ठोक्दै प्रस्ताव राखिहाले, ‘सर आज स्कुल सिस्कुल जान पर्दैन ।’
दाजुभाइ भेट भएको बेला एउटा भाले मगाउनुहोस्, त्यसलाई भुटौं, चार घण्टा हानौं कलब्रेक । सरले यो प्रस्तावलाई सहर्ष स्वीकार गरिहाले । स्कुलभन्दा केही पर सरको खाजा खाने अखडामा हामीलाई लगियो । एउटा रातो भाले मगाएर भुट्न एकजना तामाङ दाइलाई अडर दिए सरले । मेरो जेठान पर्ने सर र हरु दुईजना भिडे बास्सा फुकाली खेल्न । बे्रक हान्दै ओसिएको चिउरासँगै लोकल कुखुराको एक दुई पिस यसो निल्दै थियौं । मलाई भने चाँडो ससुराली पुगेर आराम गर्न मन लागेको थियो । जेठानलाई कहिले रहर पुग्ने होइन । आफूलाई भने मनमनै पट्यार लागिसकेको थियो ।
मास्टर साहेब चिउरासँगै लोक कुखुरा चपाउँदै मात्र के थिए एक हुल बच्चाहरु सर खोज्न आइपुगिहाले गुरुरु.. । खुट्टाहरु पटपट फुटेका घाँटीभरी मएलै मएल । जिग्रिङ्ग कपाल धुस्रफुस्र मुख । बच्चाहरुले सरलाई भने ‘ओइ सर, हाम्रो हाजिर गर्न पर्दैन ? दिनभर तास हानेर बसिरहने हो ?’ मैले ति बच्चाहरुलाई हेरें र उनीहरुलाई पढिहालें कि हाम्रो देशको गाउँ र सहर दुर ठाउँमा रहेको स्कुलको अवस्था विद्यार्थीका अभिभावहरुको चेतना, शैक्षिक संघसंस्थामाथिको सरकारी निगरानी, शिक्षकको काम कर्तव्य र जिम्मेवारी आदि । सरले च्याँठिदै जवाफ दिए, ‘ओई भुराहरु चल घरतिर भोली १० बजे दुई दिनको हाजिर एकैचोटी हुन्छ ।’ मैले सरको अनुहार हेरे र फेरि विद्यार्थीहरुको अनुहार हेरेर अनुमान गरे, कि भुराहरुले एकछिन् चकचक गरे होलान, एकछिन् धुलोमा कुस्ति खेलेहोलान्, अनि टेवल कुर्सी आदिमा, बेन्चको भाँचिएको खुट्टाले ठ्याक–ठुकठुक पारे होलान् । एक छिन् साथी साथीको बाऊको गाली गर्ने नाउँ काडेर गाली गरे होलान् वा धुलोमाटोले एक अर्काको मुखमा छ्याप्ने खेल अन्त्य भएपछि घर जान जाँगर नलाग्नेहरु सरको खोजीमा आए होलान् । जे होस गाउँका गरिब जनताले छ महिना ÷एक वर्ष छाडा लगाएर पालेका कुखरा चाँही तह लगाउउँदा रहेछन् यी सरले, भन्ने सोचेर जेठानलाई उठाउँदै भने ‘अब अबेर हुन्छ चलौं !’ पछि भेटौंला भनेर लागियो बाटो ।
यसरी विभिन्न समय, स्थान, समारोह, भेटघाट आदिमा कुखुरो काट्ने कार्यक्रमले गर्दा मेरो पनि जिब्रो भेट्टाएसम्म लोकल कुखुरो खोज्न थाल्यो । मैले मास्टरी जागिर छोडेर नयाँ नेपाल बनाउन भनेर जनयुद्ध नाम राखिएको संघर्षमा होमिएको बेलामा पनि विभिन्न ईलाकाहरुमा कुखुरोसहितको भोजबाट स्वागत पाईनाले मेरो जिब्रोले स्वाद बिर्सिएन । यदि कुनै ईलाकाले कुखुरो खुवाउन नसके यो त कस्तो बैष्णवहरु बस्ने ईलाका रहेछ ? भनेर प्रतिक्रिया पोख्थे साथीहरु ।
एक दिन मेरो भाइ पर्ने मास्टरले विद्यालयमा हुने खुकुरा खाई कार्यक्रमको लागि खसुक्क निम्ता गर्याे । मलाई पनि सो कार्यक्रममा नछुटौं न त भन्ने लागेर लागें उकालो स्कुलतिर । तर म पुग्दा सरहरुले पिलेट पिलेटमा चिउरासँग मोलिसकेको दुःखद सूचना पाएपछि किन मुख देखाउन जानु भनेर यसो परको पसलमा बसिरहेको थिए । त्यहीँबाट स्कुुलको अफिसभित्रै हल्ला–खल्ला र हाँसोको झल्को कानमा पर्यो । त्यत्तिकैमा एकजना विद्यालय व्यवस्थापन समितिका सदस्यलाई मनेरै पसलमा देखेर सोधें ए सदस्य ज्यू ! आज विद्यालयमा मिटिङ थियो कि क्या हो ? उनले मुख अमिलो पार्दै भने खोई के थाहा ? आफूँलाई त निम्तो गर्नै छाडे । मैले कुरो बुझिँहाले । उनलाई कुखुरो काट्ने समारोहमा समावेश गराइएन छ ।
एकछिन् पछि स्कुलका मास्टरहरु, एक जना अभिभावक, दुई जना विद्यालय समितिका सदस्य निस्किए, भूडिँ ढाडिएर । मैले मन नलाई नलाई अभिवादन ठोके । एकजना पसलबासी युवाले तितो पोखिहाले, ‘विद्यालयमा दैनिक कुखुरा काटेर सरहरुमात्र मिलेर खाईन्छकी कसो ?’ भालेको स्वाद चाखेका एकजना अभिभावकले जवाफ दिए, ‘तँ नकरा । किन सरहरुले कुखुराहरु खाए कुरा बुझ, त्यसै बोल्नु हुँदैन ।’ अर्का सदस्यले हो मा हो मिलाए । अघिल्लो साथीले थपे आज स्कुलमा नयाँ सरले नियुक्ति पाएको उपलक्ष्यको कुखुरा भोज हो । हाम्रो उपस्थिती विनाको भोज मलाई खल्लो लागे पनि थप कुरा गर्न उचित ठानेनौं तर, दुई दिनपछि मैले समाचार पाएँ कि ति समितिका सदस्यले विद्यालयबाट राजीनामा दिए रे ।
म चुकचुकाए । यदि हामी अस्ति सो भोजमा सहभागी हुन पाएको भए एकजना सदस्यलाई विद्यालयबाट राजीनामा गर्नबाट रोक्न सकिन्थ्यो कि । नभए त्यस्तै प्रकारको भोजको आयोजना गरेर राजीनामा थमौतीको प्रस्ताव गर्न पर्ला ।
हाम्रो देशको गाउँघरमा अझैसम्म पनि व्यवसायिक पशुपंक्षी पालनको व्यवस्था मिलाउन सकेको छैन सरकारले । जनताको चेतना उही पुरानो परम्परागत पशुपालन र खेती प्रणालीमा केन्द्रित छ । गाउँको गरिब तथा जनजाती र दलित जनताको आम्दानीको स्रोत लोकल कुखुरा पनि हुन् । जसलाई छोरीबेटीले, दाजुभाइलाई तिहारमा कोसेलीको रुपमा लान, छोरीबेटीलाई पेवाको रुपमा दिन, धामीझाँक्रीमार्फत् भुतप्रेत मनाउन कुखुरो पालन गरिन्छ । त्यसको बिक्रिको लागि प्रमुख खरिद कर्ता विद्यालयका शिक्षकहरु नै एक नम्बरमा पर्छन् । किनकी विद्यालयको पहुँच गाउँदेखि सहरसम्म र लेकदेखि बेसीसम्म छ ।
शिक्षकहरुले नेपाल सरकारको तलव खुरुखुरु थाप्ने र सुरुसुरु कुखुराको स्वाद जिब्रोमा नझुन्ड्याउने हो भने सहर बजारका पहुँचबाट टाढा रहेका जनताले पालेको कुखुरा सहरका मानिस वा रिसोर्टहरुले मात्र खाएर भ्याउदैनथिए र सहरमा अहिलेको जस्ते तेब्बर मूल्य पर्दैन थियो कि ?
-सिनामे राजेश, बिर्तामोड–८, झापा
गोरूको बहर दाउने हैन
सिङ्गो देशका जनता दाउने
जसलाई जोतेर, धर्तिमातामा राटाहरू मेटाउने
उर्वरायुक्त जमिन, सधै अनाज उमार्ने
देशको माटोमा, मलाई हली चाहियो ।
सबै साँडेहरू झै, मातिएका छन् जनता
रोजगार छैन्, पीता पुर्खाले आर्जेको धर्ति
चौपट्ट बाँझो छ, तिघ्रेहरू यत्रतत्र भौतारिएका छन्
त्यसैले राष्ट्रको उर्वरा गर्न, चिम्टिएको माटोलाई
रुवा जस्तै फुर्फुराउदो पार्ने, मलाई हली चाहियो ।
धमिराहरूले पनि माटोलाई खुकुलो पार्न सकेनन्
आजकलका धमिराहरू, पहिला जस्तो खुकुलो पार्न सक्दैनन्
कोच्चिएर र चेप्टिएर बसेका छन्, आफ्नै मौनतामा आवाज दविएर
लालची र लाचारी बनेका छन्
हो ! मेरो चञ्चलतामा अब, मलाई हली चाहियो ।
गड्यौला युक्त कृतिम मल झै, स्वस्थ र फुर्तिलो बनाउने
रोग निरोधक खाना, देशमा चम्किएको राजनीति
क्यान्सर हटाउन धर्तिमा, युरिया र डिएपिले किटिएको माटोमा
राजनीतिले रोगिएको भूँई, भ्रष्टाचारका राटा मेटाउने
हो ! मलाई साच्चिकै, मेरो देश बनाउन गोरु दाउने
हली चाहिएको छ ।
-देवेन्द्र किशोर ढुंगाना, भद्रपुर, झापा
यति खेर वर्ग शत्रुले
आफ्ना लुला हातहरु उठाएर
विस्थापित हाम्रा मनहरुलाई
अपनत्वको तुलोमा राखेर,
सौदावाजी गर्न मोलतोल गर्दैछन्
अब हामी जनताको ढाल बनौं
र वर्ग शत्रुको अचानोमा
आगोका फूलहरुसँग पौठेजोरी खेलौ ।।
हाम्रा दर्बिला पाखुराहरु
तिम्रो पसिनाको काँचो गन्धसँगै
जीवन भोग्न विवश छन्
भोक र युद्धको आगो ओकल्ने आरनबाट
काकाकूल मान्छेहरु
मुक्ति र न्यायको गीत गाउँदै
इस्पाती औजार बनेर उठ
उठ भोकका विरुद्वमा लड्न
दर्बिलो मुठ्ठीहरु इन्कलावको नारासँगै
आफ्नो गुमेको अधिकार खोस्न
प्रताडित मान्छेहरु मोर्चामा लड ।।
संसार वदल्ने राता मान्छेहरु
आज उत्तेलित छन्, अब लामबद्ध भएर
परिवर्तनको आगमनमा जुट,
हेर, सूर्य पनि रातो भएर उदाउदो छ
जीवनका चेतनाहरु रातो छ
हामीले टेकेको माटोले पनि
पसिनाको मिठो गीत गाउँछ
मोरेका हाम्रा जाँगर मात्र होइन
राता मान्छेहरु हुलका हुल बाँधेर
उन्मुक्तीको उद्घोष गर्दैछन्
जित हाम्रो अटल छ
राता जीवनलाई संग्रामी सलाम ।।
-गोम बिक्रम, कल्लाबारी, पाल्पा
‘सञ्चै छौ मालती ? के छ खबर ?’
‘हजुर ! सब ठिक अनि ?
निकै समय मालतीले खुब रसिला कुरा गरी । उसलाई थुप्रैले यसरी फोनमा सम्झिन्छन् । शारीरिक रूपमा पनि सुकिला पोशाकमा चिटिक्क परेर हिँड्ने उसको बानी निकै लोभ लाग्दो थियो । साथीहरू माझ पनि निकै सहयोगी, फरासिली र हलुका मानिन्थी ऊ ।
‘बोली पनि ललिते, छ त्यो मालतीको भेट्दै मोहनी लाइसक्छे । काउले कस्ती ?’ त्यसैले जताततै उसका प्रशंसकहरू छरपष्टै छन् । सामाजिक काममा पनि उत्तिकै अग्रसर जता पनि घुल्ने, जे पनि गर्ने, जोसित पनि पुग्ने ।
‘आफ्नो लोग्नेलाई यति मानितो गर्छे ‘पति परमेश्वर’ हुन्छ भन्ने कुरा उसैको पति भक्तिबाट सहजै अनुमान लगाउँछु म । श्रीमानलाई केही गर्न पर्दैन ।
फेसबुकमा यस्ता राम्रा अनि आकर्षक सेल्फीहरू राख्छे मानौं कुनै खालकी मोडल, हिरोइन र सेलिब्रेटीभन्दा कम छैन । निकै समय भिडियो कल, च्याटिङ अनि लाइक, कमेन्ट गरेर आनन्द लिन्छु मैले ।
गाउँका पाका बूढाबूढीहरू पनि उसको तारिफ गरेर थाक्दैनन् । हुनसम्मकी नमूना छे ऊ ।
मलाई अप्ठेरो पर्दा तुरून्त ३ लाख निकालेर दिई । समस्या टरीहाल्यो । त्यसपछि उसित कति काम चलाएँ मैले । उसको गुन खाएकाले प्रशंसा थपिहाल्थे ।
सर्वशक्ति सर्वगुण सम्पन्न छे भन्न मन लाग्छ मलाई त ।
समाजमा ऊ जत्तिको अग्रसर, सहयोगी र लोकप्रिय अहिलेसम्म कुनै महिलाहरू निस्कन सकेका छैनन् । ‘जे भए नि ! उसलाई देखेपछि सबै किसिमका दुःखहरू भुलिन्छ’, अर्का एक जनाले थपे ।
उपस्थित सबैले एक÷एक गरी यस्तै गरी उसको तारिफ, व्यक्तित्व, लोकप्रियता, पहुँच अनि सर्वगुण सम्पन्नताको पेटभरी तारिफ गरेर थाकेनन् ।
अन्तमा अनि !
‘केही छ बाँकी ?’ एक्कासी अर्कै वातावरणमा मोडिन पुग्यो कुरो ।
‘छ ।’ हिम्मत बटुलेर एक जनाले अगाडी सरेर भने –‘यी सबै तारिफहरू म उसको श्रीमान्का कोणबाट हेर्नु परेका भए ‘के गर्थें के गर्थें ?’’
-प्रभादेवी पौडेल, भरतपुर, चितवन
लामो समयदेखि रोगले थला परेर हस्पिटलमा भर्ना भई घरआएकी बन्दनाका पतिले आएकै भोलिपल्ट उनीसँग नजिकै आएर भने, ‘किन–किन म तिम्रो सामु आएँ भने मन थाम्नै सक्दिन भन्या ! अब त निको भएन र बन्दना ! निकै लामो समय भयो नी ?’
पतिको यस्ता कुरा सुनेर उनले भनिन्,– ‘यसो मेरो अनुहार तिर हेर्नु न अलिकति माया लाग्दैन ? घाउ अझै निको भएकै छैन ।’
उनका कुरा सुनेर पतिले भने, ‘भैगो तर्काउनु पर्दैन घरमा बुढी हुँदा हुँदै के म बाहिर बेसाउन जाउँ त ? तिमी आफैँ भन न ?’ पतिका यि कुरा सुनेर बन्दनाले दवै आँखाबाट आँसुका ढिका झारिन् । त्यो बेलादेखि उनका पति टाढिएर उनको नजिकै परेनन् । बन्दना दिनानुदिन थलिदै गईन् ।
एकदिन आफू सुतेको बिछौनाबाट झ्याल बाहिर हेर्दै छिमेकीको घरमा बस्ने महिलालाई बन्दनाले भनिन्, ‘ए मालती भित्र आइज न एकछिन्, धेरै तिर्खा लाग्यो, दबाई खाने बेला नी टरी सक्यो, किन हो किन आज उठ्नै सकिन भन्या ।’
‘म यतै वरि परि त थिएँ नी दिदी बोलाउनु भएको भए हुन्थ्यो नी’, मालती ठाडस दिँदै भनिन् ।
‘कती दुःख गर्छस् बाबै मेरा लागि जुन भन्ने आफ्नो मान्छे भनाउँदाको त केहि अत्तो पत्तो छैन, बेलुका कतिबेला आउने हुन्, बिहान कतिबेला जान्छन्, मैले त आज भोली थाहा पाउनै छोडी सक्याँ भन्या, दबाइले लट्ठ परिहाल्छ ।’ यो सुनेर मालतिले भनि, ‘दाइ राति पनि घर आउनुहुन्न र दिदी ?’
‘खोई थाहा नै हुन्न मालती पहिला एउटै ओछ्यान थियो र पो सब कुरा थाहा हुन्थ्यो, म बिरामी भएदेखि त ओछ्यान पनि बाँडियो झन् अहिले त कोठा नै फरक ।’
‘के भयो होला दाइलाई हगि दिदी ? पहिला त हजुरहरुको जोडी देखेर सबैलाई डाहा हुन्थ्यो, मलाई नै कति रहर लाग्दथ्यो । दिदी के गर्नु आफुँ बेलैमा बुढाबाट अपहेलित भएकी नारी । अहिले आएर अनायासै के भएछ दाइलाई है ?’
‘भो भैगो दिदी मैले केहि पाउँने आसमा हजुरको सेवा गरेको हो र ? यो त मेरो धर्म हो दिदी ।’ मालतीले भन्दै थिइ ।
‘त्यो त उमेर पनि जबान नै थियो, सृष्टिको चक्र थियो, श्रम विभाजन अनुरुप काम भएको थियो, दिनमा थोरै समय मात्र सँगै भईन्थ्यो, हर रहरहरु पुरा भएका थिए, अहिले बुझ्दै आउँदा शरिरमा दम र मासी रहुन्जेल सबै आफ्ना हुन्छन् । मालती जब बल र शक्ति घट्दै जान्छ नी सबै टाढा–टाढा हुँदै जाने रहेछन् । सबै आफ्नो स्वार्थमा चल्ने रहेछन् । आफ्नो र अर्को चिन्ने समय यही रहेछ बाबै । खोई आज भोली त यो मनले निकै हरेस खाँदै गएको छ । मलाई त कता छिट्टै मर्छु झैँ लागेको छ मालती । यदि रोग निको भएर बाँचिहालेछु भनेपनि आश्रमतिर नै गएर बस्छु होला । यो मन नपलाउने गरि मरेको छ मेरो त बाबै ।’
‘धेरै पिर नलिनु दिदी निको भईहाल्छ नी, फेरी बाबु नानी सबै बाहिर छन् जुन तालले पनि उपचार गरि हाल्छन् नी’, मालतीले भनिन् ।
‘मैले त आजसम्म आफ्नो समस्या बारे तिनिहरुलाई थाहा दिएकै छैन मालती, उनीहरु आफ्नै संसारमा रमाईरहेको बेला । उनीहरु धेरै टाढा छन् आत्तिन्छन् भनेर । सबै थोक पैसा मात्र पनि रहेनछ हेर, कुनै बेला त पैसा काम नलागी मायाको खाँचो पर्ने रहेछ । मलाई आज भोली कुनै कुराको मोह नै छैन, यस्तो बेलामा जो समिप छ त्यहि आफ्नो मान्छे, अहिले सबैभन्दा नजिक तँ छेस् सबै थोक तँलाई नै सम्झेकी छु मालती । धेरै दुःख गरेकी छेस् । अब यसो मेसो मिलाएर तलाई यो धन्सार पछाडी एउटा छाप्रो हालिदिउला भन्ने सोच बनाएकी छु ! यसो उठ्न त दे ! कती बस्छेस् अर्काको पाली कटेरो बारेर ?’
‘धेरै पिर नलिनु दिदी । दाई समाज सेवामा लाग्नु भएको छ । व्यस्त भएर नि हुनसक्छ, पिरले झन् रोग बढ्छ भन्छन् ।’
सिरानी मुनीबाट दराजको चाबी झिकेर बन्दनाले मालतीको हातमा राख्दै भनिन, ‘जा त्यो दराजबाट न खोलेको रातो साडी सेटसहित छ । लगाऊनु मेरो हरमा एकपटक पनि परेको छैन, दाइले पोहोर डुल्न जाँदा नौतुनाबाट लिएर आउनु भएको । त्यो रंग तँलाई निक्कै सुहाउने जस्तो लाग्यो । खै मैले त लगाउँन नि पाउन्न जस्तो छ कती साँचेर राख्नु ?’
‘भो भैगो दिदी मैले केहि पाउँने आसमा हजुरको सेवा गरेको हो र ? यो त मेरो धर्म हो दिदी ।’ यतिभन्दा उसका आँखा दराजका सामानमा गडिसकेका थिए ।
‘मैले लैजा भने पछि किन गार्हो मानेकी भन्या खुरुक्क नसमाएर ।’
त्यसपछि साडी लिएर मालती घरतिर लागी । त्यसको केहि बेरपछि बन्दना बस्दा र सुत्दा निक्कै पट्यार लागेर यसो खुट्टा तन्काउने मनसाय राखेर लौरो टेकी बल्ल–तल्ल मालतीको घर तर्फ लागिन् ।
त्यहाँ बाहिरैबाट आफ्नो पतिको आवाज सुनेर यसो छेल परेर उभिईन् । भित्र मालती र उनका पतिको दोहोरो संवाद चलेको रहेछ । एउटाले, ‘खोइत डाक्टरले एक महिनाको म्याद दिएको छ भन्नु भएको होइन ? जाने सुर सारै छैन त ।’ अर्काको आवाज आयो, ‘धैर्य गरन म छँदै छु नी, ऊ भएपनि मैले पूरा पूर समय तिमीलाई नै दिएको छु क्यारे, कि कसो हो काली ?’ त्यसपछि दुवैको संयुक्त हाँसो मिसिएको आवाज बाहिर आउँछ । यति सुनेपछि म त सबैका लागि बोझ भएछु भन्दै घर आएर बन्दनाले पालीमा सिउरिएको मुसा मार्ने बिष खाएर यस धर्तीबाट बिदा लिइन् ।
-निर्मल रमण पराजुली, सामाखुशी, काठमाडौं
(१)
छोरी जन्मिई खुशी भए, ठुली बनाए बढाएर
सक्षम पारे ज्ञानी पारे, भने जस्तै पढाएर
आफ्नै आँगन पोली, उस्को गोत्र अन्तै सारि
रुँदै–रुँदै पठाउदै छु , उसलाई डोली चढाएर
(२)
छोराले वंश चलाउछ भनी, समाजमा भ्रम छर्नेहरु
छोरीलाई भार सम्झी, गर्भमै हत्या गर्नेहरु
आजकल बृद्ध आश्रममा, बसेर पछुताई रहेछन्
छोरी होईन छोरै पाउँ भनि, ईश्वरको शरण पर्नेहरु
(३)
एउटा राम्रो सन्देश लेखी, पठाउ त्यो ठाउँमा
काम गर्ने संघ संस्था, खटाउ त्यो ठाउँमा
छाउगोठभित्र अझै कति, चेलीबेटी मर्न दिने
सबै मिली त्यस्तो प्रथा, हटाउ त्यो ठाउँमा
(४)
आफ्नी छोरी जस्तै प्रिय, बुहारी पनि सोंचिदिए
छोरिको भाव बुहारीकै, अनुहारमा खोजिदिए
पक्कै पनि सुन्दर बन्छ, हाम्रो सामाजिक परिवेश
बुहारी विधवा हुँदा, फेरि असल वर रोजिदिए
(५)
म जानि जानि दुःख दिन्न, कहिल्यै तिम्रो आँशु झार्दिन
जस्तै संकट आओस मायामा, पाईला अन्त सार्दिन
मेरो आराधाना तपस्या तिमी, यो जन्म अनि जन्मान्त
म जिउँदै हुँदासम्म तिमीलाई, कहिल्यै एक्लो पार्दिन
-विमुन्स पौडेल, पोखरा, कास्की
विलय यो हुन जान्छ जिया पनि
गदरले लुटिलान्छ तिया पनि
मनहरूसँग दुःख सकिन्न है
समयका सँग जिस्किनु हुन्न है ।१।
पगहरू पथमा छ निरन्तर
पथ छ भ्रष्ट भने न छ अन्तर
कहर वीज पलाउनु हुन्न है
समय बेगर प्राप्त गरिन्न है ।२।
नद बगे पनि मर्छ कहाँ तर ?
समय मर्छ भविष्य चिनिन्छ र
विपरितार्थ बने फल दिन्न है
समयले फल दिन्छ अवश्य नै ।३।
हर सुखी मनमा छ व्यथाहरू
कठिन कष्ट थिए सपनाहरू
अधमले सुख किन्नु कहाँ अब
समय भित्र खुशी र व्यथा सब ।४।
छ परिवर्तनका शुभकामना
नियम भत्किन सक्छ विचार न
अमुक दोष दिएर सहिन्न है
समय यो नित बग्छ अडिन्न है ।५।
(छन्दः द्रुतविलम्बित)
-अरुण नदी खत्री, सामाखुशी, काठमाडौं
कपुरधाराको तरकारी बजारमा एकजना व्यापारीले खर्पनको बन्दा बेच्न राखेको थियो । बन्दा बेच्ने व्यापारीले मलाई देख्ने बित्तिकै दुईटा बन्दा झिकेर एउटा प्लाष्टिकको थैलीमा राखेर ‘बन्दा लैजाने होइन ?’ भन्यो ।
‘कति रुपैँया लिनुहुन्छ नि यी दुईटा बन्दाको ?’ मैले भने । ‘अरुलाई भए एकसय तिस रुपैँया, तपाई सधैँ मकहाँ किन्न आइरहनेलाई एक सय दश रुपैँया मात्रै’ व्यापारीले भने । ‘यी दुईटा बन्दा कति केजीको छ नि ?’ मैले सोधे । ‘तीन केजी घटीको छैन’ व्यापारीले भने ।
व्यापारीले तीन केजी घटीको छैन् भनेपछि मैंले दुईटा बन्दाको एक सय दश रुपैँया व्यापारीलाई दिएर घरतर्फ लागे । घरतर्फ लाग्दै गर्दा एउटा फलफूल बेच्ने पसलमा दुईटा बन्दा कति केजीको रहेछ भन्दै जोख्न पुगे । दुईटा बन्दा जम्मा दुई केजीको मात्र रहेछ । बन्दा बेच्ने व्यापारीले मलाई तीन केजीभन्दा घटीको छैन भनेर ढाँट्यो मैले मनमनै भने ।
अर्को दिन त्यो व्यापारीले काउली र गाजर बेच्न बसेको थियो । मलाई देख्नेबित्तिकै ‘आज काउली लैजाने होइन ?’ भन्यो । ‘तपाईसँग मैले अस्तीको दिन दुईटा बन्दा किनेर लैजादा तपाईले यी दुईटा बन्दा तीन केजी घटीको छैन् भनेर ढाँट्नु भयो । तपाईसँंग लगेको बन्दा जम्मा दुई केजी असी ग्रामको मात्र रहेछ । अबदेखि तरकारी किन्न मलाई मनै लागेन । तपाईले मलाई जस्तै अरुलाई नि त्यसरी ढाँटेर तरकारी बेच्ने गर्नु भयो भने तपाईसँग कसैले पनि तरकारी किन्दैनन् नि’, मैंले भने ।
मान्छेले भनेको सुनेको थिएँ, ‘लोभले लाभ लाभले विलाप हुन्छ’ भनेर । आज हेर्दा हेर्दै ती व्यापारीसँग नियमित ग्राहकको रुपमा रहेको म टाढिँए । सायद भोली फेरि अर्को त्यसैगरि टाढिनेछ । कुनै दिन दिमाग चेते भने उनलाई लाग्दो हो, ‘१०÷२० ढाँट व्यापारले कतिको मन दुख्यो होला ?’
घरमा आएपछि मैंले धेरै बेर घोरिएर सोंचे, सायद मेरो जवाफ व्यापारीको लागि नयाँ शिक्षा पनि भयो होला । उ प्रत्येक पटक ढाँटको व्यापारमा तर्सनेछ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies