म्याग्दीः चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ । घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इन्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिए ।
उनका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ । पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् ।
घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए । ‘अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ, केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ’, होटल व्यवसायी गर्वुजाले भने । त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ ।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका छन् ।
बागलुङः गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर न्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् ।
महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् ।
गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्वीटर उद्योगमा भेटिन्छिन् । दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छिन् । उनीसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन् । उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरुको काम गर्नु नपरेको बताउँछन् । स्वरोजगार बनेपछि दैनिकी र जीवनस्तर बदलिँदै गएको उनीहरुको भनाइ छ ।
सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताइन् । पचास नाघेपछि उद्यमी बन्दा उनी खुसी छिन् । कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो । उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनले बताइन् ।
गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८–२० वर्षका युवती छन् भने कोही पाका महिला छन् । युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ । पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाउँछन् ।
सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकूल समय निकालेर काम गरिरहेको बताइन् । उनले सबैभन्दा ठूलो सीप रहेको भन्दै सीप भएपछि कुनै पनि व्यक्तिले दुःख पाउन नपर्ने बताइन् ।
नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो । अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उनले अनुभव सुनाइन् । ‘पहिले अरुको काम गर्नुपर्थ्यो । अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो । परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन’, उनले भनिन्, ‘अहिले सीप सिकेपछि दुई/चार पैसा कमाउन गाह्रो छैन । आफ्नै व्यवसाय छ । आफै काम गर्ने आफै कमाउने भएका छौँ ।’
महिला उद्यमीकी संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताइन् । तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उनले बताइन् ।
यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गरिन् । बजारको भन्दा सस्तोमा यहाँबाट उत्पादित सामान उपलब्ध गराउन सक्ने उनको भनाइ थियो ।
व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पुर्याउन नसकेको खड्काथोकीले जानकारी दिइन् । उद्योग सञ्चालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाले प्रतिव्यक्ति पचास हजार लगानी गरेका उनले बताइन् । उनका अनुसार कच्चापर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने भएकाले समस्या भएको छैन ।
संयोजक खड्काथोकीले उद्यमले गृहिणीको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताइन् । पहिले अरुको काम गर्दा दिनको पाँच सय कमाउने गरेकामा अहिले एक हजारदेखि बाह्र सयसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।
‘सीप नहुँदा मैले पनि अरुको काम गर्थेँ । अरुको काम गर्दा पैसा लिन नै समस्या थियो । अहिले नगरपालिकाले सीप सिकाएपछि हामीहरु उद्यमी बनेका छौँ । यहाँ बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन गरिरहेका छौँ । तुलनात्मक रुपमा यहाँ सस्ता पनि पर्छ’, खड्काथोकीले भनिन्, ‘अहिले माग बढिरहेको छ । मागअनुसारको उत्पादन पुर्याउन सकिएको छैन । उत्पादन गर्ने ठाउँमै आएर किन्ने धेरै हुनुहुन्छ । उद्योगमा हामी आफूलाई मिल्ने समयमा आएर काम गर्छौँ । अहिले मासिक रु. ३०/३२ हजार कमाउनलाई गाह्रो छैन ।’
सोही ठाउँको सुस्मिता नेपालीले आर्थिक अवस्था कमजोर भएकाले १० पढ्दापढ्दै बीचमै पढाइ छोड्नुपर्यो । पढाइ छोडेर गाउँमै केही गर्ने लक्ष्य राखेकी सुस्मिताले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिम लिएसँगै अहिले उनले पनि अन्य महिलासँग मिलेर उद्यम शुरु गरेकी छिन् । उद्यमले अहिले आर्थिक अवस्था सुधारहुँदै गएको उनले बताइन् । नेपालीले दैनिक उद्योगमा आएर ग्राहकले माग गरेका कपडा बुन्ने गरेको सुनाउँदै आफूहरुले उत्पादन गरेका सामग्रीलाई धेरैले रुचाएको बताइन् ।
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिए । पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ थियो ।
नगरपालिकाले तालिमसहित करिब सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको प्रवक्ता भण्डारीले बताए । ‘शुरुमा तालिम लिने दिदीबहिनी धेरै हुनुहुन्थ्यो । व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाल्नुभयो । उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानुभएको छ । सात जनाले भए पनि यहाँ रोजगार पाउनुभएको छ', उनले भने, ‘अझै उद्योगमा धेरै कामदारको आवश्यकता परेमा उद्योग विस्तार गर्दै लगे धेरैले रोजगार पाउने छन् ।’
यहाँ आवद्ध सबैको आर्थिक अवस्था सुधार भएको भन्दै प्रवक्ता भण्डारीले महिला आयआर्जनसँग जोडिएसँगै उनीहरुको जीवनशैली पनि बदलिएको बताए । नगरपालिकाले अन्य वडामा पनि सीपमूलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको उनको भनाइ थियो । रासस
गुल्मीः चिसो मौसम शुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता थपिएको छ । चिसो मौसममा तुसारो पर्ने र कफीमा गँवारोको समस्या बढी देखिने भएका कारण चिसो मौसममा कफीका बिरुवा र बोट जोगाउन समस्या देखिएको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीले कफीको जननी जिल्ला गुल्मी कफीको उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्लाका कफी किसानसँग छलफल गरेको थियो । छलफलमा अधिकांश किसानले कफीबाट आफूहरुले सोंचेअनुसारको प्रतिफल प्राप्त गर्न नसकेको पनि गुनासो गरे ।
किसानलाई राज्यले कफीका बिरुवामा अनुदान दिनुभन्दा बरु एक जना ज्यामी बराबरको पारिश्रमिक उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो । व्यावसायिक कफीखेती गरी एक हजारदेखि १५ सय विरुवासम्म कफी लगाउने किसानलाई मासिक एक जना ज्यामी बराबरको रकम उपलब्ध गराउनुपर्ने उनीहरुको माग थियो ।
रुरुक्षेत्र गाउँपालिका–१ अन्तर्गत भड्कुवाकी किसान मना भट्टराईले चिसो मौसम शुरु भएपछि कफीका बिरुवा मर्ने र फल्ने समयमा सेतो गँवारो, तुसारो, छहारीको समस्याजस्ता कारण कफीका बोट सुक्दै जाने गरेको बताइन् । भट्टराई जस्तै लामो समयदेखि व्यावसायिकरुपमा कफी खेती गर्दै आएका, भडकुवा, बलेटक्सार, आँपचौर मुसिकोटलगायतका अधिकांश कफी किसानको पनि उस्तै गुनासो थियो । सङ्घ, प्रदेश र स्थानीयतहले कफीमा दिने अनुदान नीतिमा पनि परिमार्जन गर्नुपर्नेमा उनीहरुको सुझाव थियो ।
स्थलगतरुपमा अध्ययन नगरी कफी लगाउने नाममा बिरुवामा दिइने अनुदानले किसानलाई फाइदा नपुग्ने किसानको भनाइ छ । कफी किसानले अनुदान दिने प्रणालीमा परिवर्तन गरी कफी लगाएका आधारमा स्थलगतरुपमा निरीक्षण गरेर मात्र किसानलाई अनुदान उपलब्ध गराउने नीति बनाउन आग्रह गरेका थिए । यसबाट मात्र किसानलाई व्यावसायिक कफी खेतीमा आकर्षण गराउन सकिने किसानको सुझाव थियो ।
कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले पनि कफी कृषकले राखेका समस्या उपयुक्त भएको भन्दै कफीमा दिने अनुदानको नीतिलाई परिवर्तन गरी कसरी व्यावसायिकरुपमा थप आकर्षण गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायलाई पनि सोचनीय विषय रहेकोे बताए । कफीको उत्पादन र प्रविधि विस्तारका लागि कार्यालयले आगामी दिनमा थप प्रभावकारी योजना बनाउने उनले स्पष्ट पारे ।
गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । जिल्लामा यस वर्ष ३० मेट्रिकटन कफी उत्पादन भएको थियो । जसअन्तर्गत आठ टन ग्रीनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ । पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कफी सुपरजोन, आँपचौर कफी विकास केन्द्र, कफी अनुषन्धान केन्द्रलगायत स्थानीय तहले कफी खेतीमा काम गर्दै आइरहेका छन् ।
जिल्लामा यति धेरै कफीका क्षेत्रमा काम गर्ने सङ्घसंस्था भए पनि कफी किसान भने सेतो गँवारो र तुसारोको समस्याबाट सधैँ समस्या भोग्दै आइरहेका छन् । गुल्मीमा पछिल्लो तथ्याङ्कअनुसार कफी खेतीमा आबद्ध बनेका किसानको सङ्ख्या एक हजार आठ सय छ । रासस
गण्डकीः तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् ।
भूूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो । पदयात्राको याम शुरु भएसँगै विभिन्न समहमा विदेशी पदयात्रीको टोली यस क्षेत्रमा पदयात्रा गरिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । ‘यो याम शुरु भएयता विभिन्न समूहमा विदेशी पदयात्री यो पदमार्गमा आइरहेका छन्’, उनले भने, ‘विदेशी पर्यटकसँगै आन्तरिक पर्यटकको चाप पनि बढिरहेको छ ।’
समितिले यसअघि सन् २०२० मा न्यूनतम ५० हजार पदयात्री हिँडाउने लक्ष्यका साथ काम थालेकामा कोरोना महामारीको प्रभावका कारण त्यसयता पर्यटकको आगमन हुन सकेको थिएन । तत्कालीन समयमा नेपाल सरकारद्वारा घोषित ‘भिजिट नेपाल–२०२०’ मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य रहेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले उक्त लक्ष्य सार्वजनिक गर्दै पूर्वाधार निर्माणलगायत काममा सक्रियता देखाएको थियो ।
सहस्राब्दी पदमार्गको समग्र विकास एवं प्रर्द्धनलाई लक्षित गरी बृहत् गुरुयोजनाअनुसार काम अघि बढाइएको बताउँदै महासचिव गुरुङले गुरुयोजनाअनुसार पदमार्ग क्षेत्रका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीको संरक्षण र उपयोग जोड दिइएको बताए ।
समितिले पदयात्रा पर्यटनको विकासका लागि पहिचान गरिएका क्षेत्र सुनिश्चित गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य लिएको छ । पदमार्ग क्षेत्रमा पर्यटकको आगमन बढेसँगै यस क्षेत्रमा होमस्टेलगायत पूर्वाधारमा पनि स्थानीयले लगानी बढाइरहेको मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए ।
पदमार्ग क्षेत्रमा विभिन्न १७ वटा होमस्टे सञ्चालनमा रहेका बताउँदै उनले पर्यटकको आगमनले होमस्टे सञ्चालकलाई भ्याइनभ्याइ भएको जानकारी दिए । यस पदमार्ग क्षेत्रमा मिलेनियम भैंसेगौँडा सामुदायिक होमस्टेसहित वालिङ नगरपालिका–३ स्थित सिङ्गारकोट, बुढाकोट र राम्चे, वडा नं ४ स्थित गहते मनकामना, सुन्तलाबारी, भिरकोट नगरपालिका–५ स्थित केघा, शुक्लागण्डकी–१० स्थित रजस्थल, वडा १२ स्थित घरेडीमा घरबास सञ्चालनमा छन् ।
त्यसैगरी, स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित सादीखोला, वडा ११ स्थित राईपुर, वडा १२ का चन्द्रकोट र डाँडागाउँलगायत स्थानमा घरबास सञ्चालनमा आइसकेका कारण पदयात्री र पर्यटकलाई खानबस्नको कुनै असुविधा नहुने मिलेनियम भैंसेगौँडा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले बताए ।
मिलेनियम ट्रेकको प्रवर्द्धनलाई नेपाल पर्यटन बोर्डले पनि प्राथमिकतामा राखेको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेलले जानकारी दिए । बोर्डको सहयोगमा पदमार्ग क्षेत्रका विभिन्न स्थानमा गन्तव्य ३५ वटा सङ्केत पाटी राखिएका छन् । पर्यटन बोर्डले चालु आर्थिक वर्षमा यस पदमार्गको प्रवद्र्धनका लागि रु. १० लाख र पूर्वाधार विकासमा रु. ५० लाख छुट्याएको महासचिव गुरुङले जानकारी दिए । पर्यटन पूर्वाधार विकासका लागि गण्डकीको प्रदेश पर्यटन मन्त्रालयले रु. २० लाख छुट्याएको उनले बताए ।
पदमार्गअन्तर्गतका अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिनु यहाँको विशेषता हो । यो पदमार्गमा विश्वका कुनै स्थानमा नपाइने तर नेपालमा मात्र पाइने काँडेभ्याकुर पर्याप्त मात्रामा देख्न सकिन्छ । लोपोन्मुख प्रजातिका गिद्धलगायत धेरै प्रजातिका चरासमेत अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।
पदमार्ग क्षेत्रअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा जङ्गल पर्ने भएकाले वन, वन्यजन्तु चराचुरुङ्गी अवलोकनका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बनेको छ । पछिल्लो समयमा पदमार्ग क्षेत्रमा वन र वन्यजन्तुको अवलोकन, अध्ययन अनुसन्धानका लागि पनि अध्येताहरू आउने गरेका छन् ।
पदमार्ग क्षेत्रअन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित भैंसेगौँडामा ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले वन्यजन्तु अनुसन्धान तालिमसमेत सञ्चालन गर्दै आएको संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । उनका अनुसार वन्यजन्तु अनुसन्धान तालिमका क्रममा यस स्थानमा एक सय ७४ प्रजातिका चरा, ५७ प्रजातिका पुतली र १४ प्रजातिका स्तनधारी प्राणी फेला परेका छन् ।
यस स्थललाई वनस्पति एवम् वन्यजन्तु अनुसन्धानका केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए । तालिममा सहभागीलाई जङ्गलमा रहेका चरा, पुतली एवं स्तनधारी प्राणीको पहिचान, तिनको अनुसन्धान विधिलगायत वन्यजन्तुका विषयमा जानकारी दिने गरिएको उनले बताए । पर्यावरणलगायत वन्यजन्तु र वातावरणसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि यस क्षेत्रलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने देखिएको उनले बताए । रासस
कैलालीः चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।
सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेकाछन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल नभएको बताए । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ ।
दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन शुरु भएको उनको भनाइ छ । राणाकालमा निकै चहलपहल हुँदै आएको गर्भा दरबारमा त्यो चहलपहल २०३२ सालसम्म मात्रै रह्यो । हावापानी, मौसम र भौगोलिकरूपमा उपयुक्त भएकाले राणाहरुले गर्भालाई रोजेको हुनसक्ने बुझाइ स्थानीयको छ । मास पिसेर त्यसबाट चुना लगाई निर्माण गरिएको गर्भा दरबारमा ८३ झ्याल र ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको सो दरबार तीन खण्ड र तीन तले छ ।
दरबारभित्र सुरुङसमेत बनाइएको छ । सुरुङ अहिले पुरिएको छ । राणाहरु खैरालाको दरबारबाट डोटी बर्छेनको च्यूरी, मान्नाकापडीको भट्टेबाटा, गड्सेराको उदैनी, तेलेको जल्फुमा बास बस्दै डोटीको सिलगढी पुग्ने गरेको बताइन्छ ।
ऐतिहासिक महत्व बोकेको दरबारको मर्मतसम्भारमा सरकारी निकाय र राजनीतिक दलको ध्यान पुग्न सकेको छैन । चुरे गाउँपालिकाले गर्भा दरबारलाई ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । दरबार संरक्षणका लागि पालिकासँग पर्याप्त बजेट नहुँदा प्रदेश र केन्द्र सरकारसँग बजेट माग गरिँदै आएको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारीले दरबार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा रु. ६० लाख आव २०७६/७७ मा रु. ५० लाख बजेट विनियोजन गरे पनि प्राविधिक कठिनाइका कारण बजेट कार्यान्वन हुन नसकेको बताए । उनले सो दरबार पुरातत्व विभाग अन्तर्गत पर्ने भएकाले आफू मन्त्री हुँदा दरबार संरक्षणका लागि विभागको टोली ल्याएर संरक्षणका लागि स्थलगत अवलोकन गराएको बताए । रासस
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा शुरु भएको छ ।
म्याग्दीको नयाँ ‘भर्जिन’ गन्तव्यका रूपमा विकास हुन थालेको उक्त पदमार्गमा पूर्वाधारको अवस्था र आवश्यकता पहिचान तथा प्रवर्द्धनका लागि चारदिने पदयात्रा शुरु भएको हो । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीको नेतृत्वमा शुरु भएको पदयात्रा टोलीमा वित्त आयोगका पदाधिकारी, विज्ञ, जनप्रतिनिधि, प्राविधिक, पत्रकार र स्थानीय अगुवाहरूको सहभागिता छ ।
वित्त आयोगका उपाध्यक्ष बालानन्द पौडेल, नेपाल सरकारका पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदी, जुद्धबहादुर गुरुङलगायत २५ जनाको टोली रहेको छ । टोलीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पैदलमार्गको प्रवेशबिन्दुमा रहेको हुमखोलामा बिदाइ गरे ।
‘मौरीज हर्गोजले अन्नपूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर पदमार्ग बनाएका छौँ’, उनले भने, ‘अन्नपूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टीलगायतको लाभ हामीले पाउन सकेका छैनौँ । यो तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ ।’
हुमखोला हुँदै गुरासेडाँडा, फुतफेते झरना, सम्धिखर्क, भुसकेत, नारच्याङ, पञ्चकुण्ड ताल हुँदै चार हजार एक सय मिटर उचाइको अन्नपूर्ण हिमालको आधार शिविरसम्म पैदलयात्रा गरेर फर्कने कार्यक्रम रहेको छ । पैदलयात्राका क्रममा गाउँपालिकाको प्राविधिक टोलीले पदयात्रामा निर्माण गर्नुपर्ने पूर्वाधार र नक्साङ्कनका लागि सर्वेक्षण पनि गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
पदमार्ग, झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थललगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालिको शरदयाममा पहिलोपटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।
हुमखोलाबाट आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । एकैदिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तव्य रोज्नेहरूलाई अन्नपूर्ण नर्थ बेसक्याप आकर्षक गन्तव्य बन्ने सम्भावना रहेको छ ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको थियो । मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो ।
हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै विसं २०६८ मा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो । अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थललगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले रु. ४० लाखभन्दा बढी लगानी गरेका छन् ।
अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिने अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरकी सुमिना बरुवालले बताइन् । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रूपमा रहेको छ । रासस
म्याग्दीः धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको म्याग्दीको बेनी नगरपालिका–५ स्थित ‘गाजने’ पाहुना र पूर्वाधारको पर्खाइमा छ । दृष्यावलोकन, धार्मिक र ऐतिहासिक स्थल गाजने प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । पाँच सय वर्ष पुरानो नेपालकै पृथक शैलीको जगन्नाथ मन्दिर अवस्थित गाजने नजिकैको डाँडाबाट सूर्योदय, हिमशृङ्खला र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।
सहज सडक यातायातको सुविधाको अभाव र गाजनेको ऐतिहासिक तथा धार्मिक महत्त्वका विषयमा प्रचारप्रसार नहुँदा ओझेलमा परेको जगन्नाथ गुठी सञ्चालन तथा व्यवस्थापन समितिका सचिव नीलकण्ठ शर्माले बताए । ‘तत्कालीन बाइसेचौबिसे राजा दिलिपबम (डिम्ब)ले विसं १९५० को दशकमा बनाएको शिखर शैलीको जगन्नाथ मन्दिरको आकार पृथक छ’, उनले भने, ‘गाजनेको नजिकै रहेको डढेकोटमा तत्कालीन पर्वत राज्यको दरबारको भग्नावशेष छन् । गुफाको डाँडाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।’
धार्मिक र पर्यटकीय हिसाबले चर्चित मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको बेनी बजारदेखि गाडीमा एक घण्टाको यात्रामा पुग्न सकिने भए पनि जगन्नाथ मन्दिर, ऐतिहासिक डढेकोट दरबार र गुफाको डाँडो (केभहिल) सुनसान हुने गरेको गाजनेका बासिन्दा यामबहादुर बानियाँले बताए ।
‘मुस्ताङ जाने आउने पर्यटक र भक्तजनलाई गलेश्वर, पछै, ढोलथान, जगन्नाथ, डढेकोट, केभहिल, टोड्केमा भित्र्याउन सकेमा उनीहरुको बसाई लम्बिने र स्थानीयवासीको आर्थिक गतिविधिमा सहयोग पुग्ने थियो’, उनले भने, ‘यसका लागि धार्मिक पर्यटकीय करिडोर बनाएर यातायात र पर्यटन पूर्वाधार बनाउनुपर्ने देखिन्छ ।’
जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, बलभद्र र सुभद्रादेवीको मुर्ति रहेको जगन्नाथ मन्दिरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको स्थानीयवासी रामचन्द्र पौडेलले बताए । उनका अनुसार कुखुरा र बङ्गुर नपालिने २५ घरधुरीको बसोबास रहेको गाजने गाउँभित्र मासु र मदिराको पनि उपभोग हुँदैन ।
प्रसिद्ध पौराणिक ग्रन्थ ‘रामायण’का अनुसार महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीस्थित केभहिल प्राकृतिक सौन्दर्य र हिमशृङ्खला दृश्यावलोकन गर्न सकिन्छ ।
समुन्द्री सतहदेखि दुई हजार चार सय मिटर उचाइमा रहेको केभहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बागलुङ, स्याङ्जा र कास्कीका ३० भन्दाबढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साविकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दा रुद्रबहादुर श्रेष्ठले बताए ।
गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण बज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ । विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरैपछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक पुस्तकमा उल्लेख छ ।
विसं १८४२ मा गोरखा–पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बागलुङ, कहिले राजा ढोर’ भनेर गाइने यहाँको लोकगीतका आधारमा पनि भन्न सकिन्छ ।
बेनी नगरपालिका–५ का अध्यक्ष गोविन्द बानियाँले केभहिलमा दृष्य अवलोकन केन्द्र र गाजनेदेखि डढेकोट दरबार जोड्ने पदमार्ग निर्माण गरिएको बताए । महायज्ञ आयोजना गरेर सङ्कलित रकमबाट रु. ४७ लाख ९१ हजार नौ सय ७३ खर्च गरेर जगन्नाथ मन्दिरको पुनःनिर्माण गरिएको छ ।
पुनःनिर्माण भएको मन्दिरको आइतबार उद्घाटन गर्न गाजने पुगेका गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी र विमला गौचनले बेनीदेखि पुलाचौर हुँदै गाजने जोड्ने सडक स्तरोन्नतिमा प्राथमिकता दिने प्रतिबद्धता जनाए ।
‘पोखरादेखि मुस्ताङ र कोरला नाका आवतजावत गर्ने पर्यटकलाई म्याग्दीमा भुलाउन र अडाउन यहाँका धार्मिक, पर्यटकीय र ऐतिहासिकस्थलको विकास आवश्यक छ, म्याग्दीलाई व्यापारिक र धार्मिक मार्गका रुपमा विकास गर्ने प्रयास जारी छ’, मन्त्री जुग्जालीले भने । रासस
सर्लाहीः आकाशे वर्षा कम हुँदा सर्लाहीमा धान उत्पादनमा कमी आएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । समयमा पानी नपर्दा मलखाद, विषादी, पप्पसेट र कामदारमा लागेको लगानीका साथै मेहनत खेर गएको भन्दै किसान चिन्तित बनेका छन् ।
यस वर्ष कम वर्षा, रोग, कीराको सङ्क्रमणलगायत कारणले धान उत्पादन घटेको लालबन्दी नगरपालिका–३, जब्दीका किसान रुपलाल चौधरीले गुनासो गरे । ‘गत वर्ष धेरैको पानसोना जातको धान राम्रो फलेको देखेर जब्दी फाँटका धेरैले यो वर्ष त्यही धान रोपेका थिए’, उनले भने, ‘समयमा पानी नपर्नु, मलखादको अभावलगायत कारणले उत्पादन घटेको छ ।’ यो वर्ष मेहनत र लगानीअनुसार धान उत्पादन हुन नसकेको चौधरीले बताए ।
छ कठ्ठामा लगाएको धान बालीमा सिँचाइका लागि मात्रै रु. १० हजार खर्च भएको जनाउँदै लगानीअनुसार धान नफलेको किसान अनिरुद्र साहले बताए । उनका अनुसार यो वर्ष आकाशे वर्षाले साथ नदिँदा धान राम्रो नफलेको हो । ‘छ कठ्ठामा रु. १० हजारको त पानी मात्रै लगाएँ तर लगानी बराबरको पनि धान फलेको छैन’, उनले भने ।
पछिल्लो समय मलखाद र सिँचाइको अभावले खेती लगाउनै मुस्किल पर्न थालेको हरिपुर्वाका किसान राजगिरले बताए । ‘जेजति कृषि उत्पादन गरेका छौँ, त्यो सबै किसानकै बलबुताबाट भएको हो’, उनले भने । सरकारले बेलैमा मलखाद र सिँचाइको प्रबन्ध गरिदिए किसानलाई राहत मिल्ने किसानको भनाइ छ । जिल्लाका किसान अहिले धान भित्र्याउन व्यस्त छन् । प्रत्येक फाँटका किसान धान काट्ने, बोझा बाँध्ने र थ्रेसर लगाउने काममा व्यस्त छन् ।
जिल्लामा गत वर्ष एक लाख ६४ हजार एक सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्ष करिब पाँच मनसम्म धान उत्पादन भएको खेतमा यो वर्ष दुई मन मात्रै उत्पादन भएको किसानले बताएका छन् ।
कृषि ज्ञानकेन्द्र सर्लाहीका प्रमुख देवानन्द राय यादवले सिँचाइ सुविधा रहेको क्षेत्रमा धान उत्पादन राम्रै भए पनि आकाशे वर्षाका भरमा खेती हुने क्षेत्रमा उत्पादन घटेको बताए । उनका अनुसार गत वर्षभन्दा धानखेती केही बढे पनि उत्पादन भने घटेको छ ।
‘पानी लाग्ने क्षेत्रमा धानको उत्पादन राम्रै देखिन्छ तर आकाशे वर्षा कम हुँदा सिँचाइ सुविधा नभएको ठाउँमा उत्पादन घटेको छ’, रायले भने, ‘केही क्षेत्रमा रोग, कीराको सङ्क्रमण पनि देखिएको छ ।’ कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा करिब ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।
आवश्यकता अनुसार आकाशे वर्षा नहुँदा अधिकांश किसानले यो वर्ष धान बालीमा दमकल अर्थात् पप्पसेट चलाएर पानी लगाएका थिए । दमकलबाट सिँचाइ गर्दा प्रतिघण्टा तीन सय तिर्नुपर्ने र एक कठ्ठा खेतमा पानी पटाउन करिब दुई घण्टासम्म दमकल चलाउनुपर्ने किसानले बताएका छन् । धान रोप्दा तथा रोपिसकेपछि पनि बारम्बार दमकल चलाएर पानी पटाउँदा खर्च बढेको जिल्लाका किसानले गुनासो गरेका छन् । रासस
वासुदेव पौडेल/रासस
गण्डकीः सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यटकीय गन्तव्यसँगै यस आसपासका सर्वसाधारणको समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ ।
तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजना मार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयवासीको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।
चरणबद्ध अघि बढ्ने परियोजनाको लागत चार अर्ब ५२ करोड ८८ लाख रुपैयाँ रहेको परियोजनाका सूचना अधिकारी इन्जिनीयर कृष्णबहादुर विकले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि ९९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म ७३७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ । हालसम्म मुआब्जा वितरणका लागि ८७ करोड ७८ लाख रुपैयाँ वितरण गरिएको छ ।
मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण कार्य भइरहेको छ । त्यस्तै जलाधार क्षेत्रमा पर्ने तीनवटा सिल्ट्रेसन ड्याम निर्माण गरिसकेको उनले जानकारी दिए । लक्षित योजनाअनुसार काम सम्पन्न भई बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उनले जानकारी दिए ।
परियोजनाअन्तर्गत हालसम्म भएका कामहरूमा वित्तीय प्रगति ४२ प्रतिशत र भौतिकतर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको छ । विसं २०३२ को नापीमा एक सय ३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले एक सय सात हेक्टरमा खुम्चिएको छ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्याङ्कअनुसार रूपातालको आठ सय रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै साविक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कूल क्षेत्रफल १६३.९ हेक्टर रहेकोमा जलमग्न भाग १२१.७६ खेती भएको ३३.४३, सीमसार क्षेत्र ८.७५ हेक्टर र गहिराइ औषत ४.८ मिटर रहेको उल्लेख छ ।
लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने पर्यटन व्यवसायी दामोदरभक्त थापाले बताए । ‘परियोजना सम्पन्न भएसँगै खुम्चिएको रुपाताल थप फराकिलो बन्दै यहाँ अन्य पर्यटकीय गतिविधि पनि बढ्नेछन्’, उनले भने ।
सूर्यको किरणसँगै पानीको रुपमा परिवर्तन आइरहने भएका कारण यसको नाम रुपाताल रहन गएको स्थानीयवासी बताउँछन् । तालको मुख्य स्रोत तालबेंसी खोलाबाट वर्षात्मा बगाएर ल्याउने माटो तथा काठपातका कारण बर्सेनि छ रोपनी ताल पुरिएको अध्ययनले देखाउँछ ।
अतिक्रमणमा पर्दै आएको ताललाई संरक्षण गर्न रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका तर्फबाट सम्बन्धित निकायहरूमा निरन्तर ध्यान आकृष्ट गर्ने काम भइआएको संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताए । सहकारीले तालको संरक्षणसँगै मत्स्यपालन गरी आयआर्जन पनि गरिरहेको उनले बताए ।
रुपातालको अवलोकनका लागि पछिल्ला समयमा पर्यटकहरू आउने क्रमसँग आसपासका क्षेत्रमा होटेललगायतका पूर्वाधारहरू पनि विकास हुँदै गएको छ । रुपाताल प्राकृतिक सुन्दरताका दृष्टिले मात्र नभएर माछाका लागि पनि यतिखेर पर्यटकको आकर्षण बनेको छ । यहाँका माछाको स्वाद लिन पनि दैनिक सयौं पर्यटक रुपाताल पुग्ने गरेका छन् ।
विसं २०५८ मा सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट संरक्षण र उपयोगमा जोड दिइएको छ । हाल सहकारीमा एक हजार १५ जना आबद्ध भइसकेका छन् । सहकारीअन्तर्गत माछा मार्नका लागि १० जना, चौकीदार चार जना र बैंकिङ कारोबारतर्फ तीन जना कर्मचारी कार्यरत छन् । तालबाट दैनिक करिब एक लाख रुपैयाँको माछा निकालेर विक्री वितरण गर्दै आइएको कर्मचारी रामजी अधिकारीले जानकारी दिए ।
ताल किनाराका जङ्गलमा खुल्ला चिडियाखाना
रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुल्ला चिडियाखाना सञ्चालनमा आइसकेको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साबिक लेखनाथ नगरपालिकाका वडा नं ११, १२, र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो ।
चिडियाखाना निर्माणका लागि स्थानीयवासीको चाहना र युनाइटेड क्लबको सहयोगमा यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको थियो । चिडियाखानाको व्यवस्थापन लगायतका विषयमा केही समय युनाइटेड क्लब र स्थानीयवासीबीच विवाद भए पनि उक्त विवाद समाधान भइसकेको छ । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याउँदै आएको छ ।
चिडियाखानामा सर्वसाधारणलाई अवलोकनका लागि जालीको डोम निर्माण गरी जनावर र पक्षीहरू खुल्ला छाडिएको छ । चिडियाखानामा वन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनाका साथै भविष्यमा विश्वभरको हावापानीमा पाइने पक्षी तथा जनावर कक्ष बनाउने दीर्घकालीन लक्ष्यसमेत राखिएको पचभैया सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष एवम् पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताए ।
चिडियाखाना परिसर एवम् रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छ ।
पोखराबाट जम्मा २५ किमी टाढा रहेको यस चिडियाखानालाई गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको छ । यसअघि २०३४/३५ सालतिर यस क्षेत्रमा जङ्गल ध्वस्त बन्दै गएको अवस्थालाई दृष्टिगत गरी स्थानीयवासीले तत्कालीन समयदेखि नै यसको संरक्षणको पहल थालेका थिए संरक्षण थालिएको झन्डै ४५ वर्षपछि खुल्ला चिडियाखानाका रुपमा केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी हर्षित बनेका छन् ।
चिडियाखानामा हाल विभिन्न २१ प्रजातिका वन्यजन्तु तथा चराचुरुङ्गी राखिएको अध्यक्ष ढकालले जानकारी दिए । यहाँ आउने पर्यटकले यहाँबाट तल रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।
चिडियाखाना सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिसकिएको छ । अवलोकनका लागि सर्वसाधारणलाई २५ रुपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँको टिकट व्यवस्था गरिएको छ । चिडियाखानाको डिभिजन वन कार्यालयबाट व्यवस्थापन हुँदै आएको छ ।
पछिल्लो समयमा रुपातालको माथि निर्माण गरिएको झोलुङ्गे पुल पनि यहाँको अर्को पर्यटकीय आकर्षण बन्दै गएको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयाको सिमलडाँडादेखि रुपा गाउँपालिका–७ भङ्गारा जोड्ने झोलुङ्गे पुल गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो । विशेषतः बिदाको समयमा पोखरा र आसपासबाट युवायुवती पुलमा पुगी तालको अवलोकन गर्ने, फोटे खिच्ने गर्दछन् ।
तालमाथि निर्मित झोलुङ्गे पुल, चिडियाखाना र एकैसाथ अवलोकन गर्न सकिने रुपातालका कारण पछिल्ला समयमा पर्यटकीय गतिविधिहरू बढ्दै गएको बताउँदै ढकालले यसले यस क्षेत्रको समृद्धिमा विशिष्ट योगदान गर्ने अपेक्षा गरिएको बताए । ताल, चिडियाखानासँगै यस आसपासका पचभैया देउराली, पचभैया कोट मङ्गलधर्म चक्र बौद्ध गुम्बा आदिले यहाँका अन्य पर्यटकीय आकर्षण हुन् ।
रुपा तालमा मोती उत्पादन गरिने
रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको थियो ।
सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएकामा यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले बताए । यहाँका तालहरूध्ये रुपातालमा मोती उत्पादन गर्न सकिने धेरै सम्भावना रहेका कारण उक्त योजनालाई अघि बढाइने उनको भनाइ छ । मोती गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुन्छ ।
सिपी माछा जस्तै पानीमा पाइने जीव रहेको र यसले मोती उत्पादन गर्ने उनले बताए । नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने भएका कारण रुपातालमा मोती उत्पादन गरेर स्थानीयवासीको आयआर्जन बढाउन सकिने हुसेनले बताए ।
‘मोती उत्पादनलाई लक्षित गरी हामीले चाँडै नै रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारीका सदस्यलाई चार÷पाँच दिनको तालिम दिने तयारी गरेका छौँ’, उनले भने, ‘तालिमसँगै यहाँका स्थानीयवासी मोती उत्पादनबाट पनि आफ्नो आयआर्जनलाई अघि बढाउन सक्नेछन् ।’
बझाङः जिल्लाको तलकोट गाउँपालिका–६ का स्थानीय महिलाले गाउँघरमा खेर गइरहेको अल्लो प्रशोधन गरी अल्लोको धागो र अल्लोको कपडा बनाई आयआर्जन गर्न थालेका छन् । यस क्षेत्रमा प्रशस्तमात्रामा अल्लो उपलब्ध हुने भए तापनि त्यसबाट कसैकसैले डोरी बनाएर गाईबस्तुलाई बाँध्नका लागि प्रयोग गर्थे भने बाँकी ज्ञान सीपको अभावका कारण जङ्गलमै कुहिएर खेर जाने गरेको थियो ।
अहिले स्थानीयस्तरमै अल्लोको डोरी, अल्लोको कपडा र अल्लोको झोलाहरु बनाउने तालिम लिएपछि यहाँका महिलाहरुले तलकोट गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालयका रुपमा दर्ता गरी व्यावसायिकरुपमा अल्लोको धागो र अल्लोको कपडा र अल्लोको अन्य सामान उत्पादन गर्न शुरु गरेका छन् । जिआइजेड र तलकोट गाउँपालिकाले अल्लोको महत्व र उपयोगिताबारे जानकारी गराएपछि उनीहरु व्यवसाय सञ्चालन गर्न अग्रसर भएका हुन् ।
जङ्गलमा त्यतिकै खेर गइरहेको अल्लोबाट धागो र कपडाहरु उत्पादन गरी प्रत्यक्ष र अप्रत्यक्षरुपमा घरमै रोजगारी सिर्जना गर्ने र समूहका महिलाहरु आत्मनिर्भर हुने भएपछि स्थानीय महिला व्यवसायमा लाग्न हौसिएका छन् । एक महिनासम्म सञ्चालन गरिएको तालिममा अल्लोको धागो बनाउने र त्यसबाट कपडा बुन्ने प्रशिक्षण दिइएको थियो । तालिममा २८ महिला र दुई पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो ।
समूहका महिलाले अल्लो व्यवसायको महत्व बुझी अल्लो व्यवसाय सञ्चालन गर्न सीप तालिम र आवश्यक पर्ने मेसिन औजारहरुको माग गरेपछि मेसिन औजार र तालिम सञ्चालन खर्च गाउँपालिकाले व्यहोरेको थियो । उनीहरुलाई व्यवसाय सञ्चालन गर्न मेसिन औजारका साथै कच्चा पदार्थहरु खरीद गर्न गाउँपालिकाले नगद रु।एक लाख ९० हजार सहयोग गरेको थियो भने व्यवसाय दर्ता गर्न र अन्य प्राविधिक सहयोग जिआइजेडको रिप कार्यक्रमले गरेको थियो । एक महिनाको तालिमपछि देखिएको उत्साहले उनीहरुलाई थप दक्ष बनाउन र थप मेसिन खरिद गर्न कार्यक्रमले सहयोग गर्न पहल गरेको कार्यक्रमका क्लस्टर कोर्डिनेटर सुरतबहादुर चन्दको भनाइ छ ।
तालिमका सहभागीहरुले अहिले व्यवसायबाट अल्लोको धागोबाट बुनिएका दोसल्ला र टोपीहरु उत्पादन गरेका छन् । कतिपयले अल्लोको धागो काठमाडौंमा पठाएर एक पटकमै रु. २० हजार आम्दानी पनि गरेका छन् । तालिमपछि आफूहरु व्यवसायप्रति आकर्षित हुनुको साथै सामूहिक भावनाको पनि विकास भएको औद्योगिक ग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीले बताइन् ।
उनी भन्छिन, ‘सबै समूहका महिलाहरु मिलेर स्थानीयस्तरमा कुहिएर जान लागेको कच्चा पदार्थको सदपयोग गरी अरुलाई पनि रोजगारी दिने सोच बनाएका छौँ ।’ कतिपयले घरायसी प्रयोजनका लागि अल्लोका सामग्रीहरु लैजाने गरेको र कतिपयले उपहारका लागि पनि लैजाने गरेको उहाँ बताउनुहुन्छ । अहिले समूहले एक लाख २२ हजार पाँच सय धागो र कपडा बचेर आमदानी गरेको छ । धागो पाँच सय प्रतिकिलो र कपडा एक हजार दुई सय मिटरका दरले बिक्री भएको थियो ।
जङ्गलमा खेर गइरहेको अल्लोको प्रशोधन गरी गाउँघरमैै रोजगारी सिर्जना गर्न सकिने भएकाले लगानी गरिएको पालिका अध्यक्ष कलकबहादुर रोकायाले बताए । उनले भने, ‘युवा पैसा कमाउन विदेश जान्छन् तर यहाँ पैसा फलाउने कच्चा पदार्थ कुहिएर गएको छ, कुहिएर गइरहेको अल्लोलाई प्रशोधन गर्दा कम लगानीमै राम्रो आम्दानी गर्न सकिन्छ । यसले पालिकाका विपन्न वर्गका वासिन्दाको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्दछ ।’
अल्लो व्यवसायबाट, अल्लो सङ्कलन, अल्लोको धागो उत्पादन, अल्लोको कपडा उत्पादन र अल्लोको अन्य विभिन्न वस्तुहरु उत्पादन गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै व्यक्तिले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही महिनाअघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उद्देश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र रावलले बताए ।
कुनै पनि सार्वजनिक कार्यक्रमहरु सञ्चालन गर्दा पालिकाले नै उत्पादन गरेका अल्लोबाट प्रशोधित गरी तयार पारीएका खादा र टोपीमात्रै प्रयोग गर्न पाउने नियम बनाइएको छ । गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा समेत उक्त अल्लोबाट उत्पादित खादा, टोपीलाई प्रयोग गर्ने गरेको गाउँपालिकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले बताइन् ।
पालिकाले आफ्नै मातहतमा उद्योग ग्राम सञ्चालनमा समेत ल्याएको छ । उक्त उद्योगग्राममा अल्लोबाट नै गलैंचा, टोपी, खादा जस्ता बस्तु उत्पादन हुने गरेको उद्यम विकास सहजकर्ता सुस्मिता धामीले बताइन् । उद्योमग्राम उत्पादन समूहकी अध्यक्ष रमिला शाहीका अनुसार उद्योगग्रामले अहिले सामान्य रुपमा भए पनि आम्दानी गर्न शुरु गरेको छ ।
उनले भनिन्, ‘अहिले अल्लोको बेर्ना राखेर अल्लो खेती गर्नका लागि समितिका सदस्यहरु लागिपरेका छन् । यस ठाउँमा अल्लो प्रशस्तमात्रामा उत्पादन हुने भएकाले निकट भविष्यमा अल्लोबाट झोला, कोट, पाइन्ट, जुत्तालगायतका सामग्री उत्पादन गरेर अन्य जिल्लामा समेत पठाउने लक्ष्य उद्योम ग्रामले लिएको छ ।’ रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies