नेपाल टेलिभिजन र युनिसेफको संयुक्त लगानीमा २००३ ताका निर्माण भएको टेलिचलचित्र क्याट्म्याण्डुबाट आफ्नो अभिनय यात्रा शुरु गरेका हालका ब्यस्त अभिनेता सविन श्रेष्ठ त्यसपछि कान्तिपुर टिभिबाट प्रसारित ‘घरबेटी बा’, ‘कलेज’ हुँदै म्युजिक भिडियोहरु गर्दागदै ठुलो पर्दाको चलचित्रमा प्रवेश गरे । चलचित्र ‘अन्दाज’ उनको डेब्यु चलचित्र हो । तीन दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका नायक सविन श्रेष्ठले भोजपुरी चलचित्रमा समेत काम गरेका छन् । उनले वर्षाद, रावण, हवल्दार सुन्तली, आदि बाटो, हिरो रिटन्स् लगायतका व्यावसायिकरुपले सफल चलचित्रमा अभिनय गरिसकेका छन् ।
उनी चलचित्र क्षेत्रका नेशनल बक्स अफिस फिल्मफेयर अवार्ड २०१७, नेफ्टा फिल्म अवार्ड, एलजि सिने अवार्ड २०७२ लगायत विभिन्न संघ संस्थाबाट समेत सम्मानित भैसकेका छन् । निर्माणाधीन केही चलचित्रमा अनुबन्ध अभिनेता श्रेष्ठ कमलपोखरी, काठमाडौंका स्थानीय वासिन्दा हुन् । अभिनय र आफ्नो व्यवसायलार्ई निरन्तरता प्रदान गर्ने सोच बनाएका अभिनेता श्रेष्ठ कोरोना कहरका कारण चलचित्र क्षेत्र नराम्ररी प्रभावित बनेकोमा चिन्तित छन् । कोरोना कहरले चलचित्र क्षेत्रमा पारेको असर र भावी दिनमा चलचित्रकर्मीहरुले अपनाउनुपर्ने कुराहरुको सेरोफेरोमा रहेर अभिनेता सविन श्रेष्ठले मध्यान्ह दैनिकका लागि सानु श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
लकडाउनको समयमा सुटिङ रोकिएको चलचित्र र केही भिडियोको सुटिङमा ब्यस्त छु । भर्खरै एउटा नयाँ चलचित्रमा अनुबन्ध भएकोले त्यसको होमवर्कमा पनि समय दिनु परेको छ । बाँकी समय ब्यायममा बिताउने गरेको छु ।
नेवार समुदायको मान्छे ब्यपारी नबनेर कलाकार बन्नुको कारण ?
कुनै पनि समुदायको मान्छेले आफ्नो प्रतिभा आमरुपमा देखाउन पाउँछन् । चाहे त्यो चलचित्रको माध्यमबाट होस् वा स्टेज कार्यक्रममार्फत । जहाँसम्म मेरो कुरा छ, मेरो सानै देखिको चाहना चलचित्रमा काम गर्ने जुन पूरा भएको छ भने व्यवसायमा पनि संलग्न छँदैछु ।
कोरोना कहरका कारण थलापरेको चलचित्र उद्योगलाई उठाउन के गर्नु पर्ला ?
कोरोना महामारीका कारण थलापरेको चलचित्र क्षेत्रलाई गतिशील बनाउन चलचित्र क्षेत्रसँग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प छैन । कोरोना कहरका कारण दर्शक हलसम्म पुग्न सक्ने अवस्था अझै बनिनसकेको अवस्थामा कम्तिमा हप्ता दिनमामात्रै सिनेमा रिलिज हुनुपर्छ । कोरोना महामारीका कारण बन्द भएका चलचित्र हल विस्तारै खुल्ने क्रम शुरु भएपनि अझै पनि दर्शकहरु हलसम्म पुग्न डराइरहेका छन् । चलचित्र क्षेत्रलाई गतिशील बनाउन चलचित्र उद्योगी र राज्य दुबै गम्भिर बन्नुपर्ने देखिन्छ ।
पहिले कै अवस्थामा चलचित्र हल संचालन गर्न के गर्नुपर्ला ?
कोरोना महामारीका कारण हल लामो समय बन्द हुँदा श्रमिकलाई पारिश्रमिक दिन समस्या परेको होला । अहिले हल संचालनका लागि हलवालाहरु तयार भएपनि राम्रा चलचित्र पाउन सकिरहेका छैनन् । राम्रा चलचित्र पाए सुरक्षाका मापदण्ड अपनाउँदै हल संचालन गर्न हल संचालकलाई सजिलो हुने थियो । कोरोना कहरकै कारण चलचित्र रिलिज गर्न निर्माताहरु डराइरहेका छन् । कारोनाका कारण दर्शक नपाउने अवस्था छँदैछ । दर्शकलाई कसरी हलसम्म ल्याउने भन्ने वातावरण निर्माण गर्नु आवश्यक छ । अहिले हल खुलेको जस्तो देखिएपनि पूर्णरुपले सबैतिर हल संचालनमा आउन सकिरहेको छैन, पूर्णरुपले हल संचालनका लागि हल संचालक व्यवसायी तयार हुनुपर्छ र हलमा नयाँ चलचित्र लाग्नु पर्छ ।
सफल कलाकार भएको नाताले यस्तो अवस्थामा चलचित्र हलमा हाल्नु हुन्छ त ?
चलचित्र निर्माण गरिसकेपछि कम्तिमा पनि लगानी फर्किनुपर्ने आशा राख्नु लगानीकर्ताको धर्म हो । कोरोना महामारीका कारण चलचित्र उद्योग धरासयी बन्दै गएकोले राज्यले पनि चलचित्र निर्माणमा अनुदान दिनुपर्ने हो । तर अहिलेसम्म राज्यले यो क्षेत्रलाई हेरेको अवस्था छैन । दर्शकलाई कोरोनाको डर कायमै रहेको हुँदा हलमा दर्शकले सुरक्षाको अनुभूति दिलाउनका लागि हल संचालकले पनि ध्यान दिनुपर्ने हुन्छ ।
थुप्रै चलचित्र, भिडियोमा काम गर्नुभयो आफ्नो पहिचान बनाउन सफल चलचित्र कुन हो ?
सुरुका टेलि चलचित्रहरुले पनि मलाई कलाकारको रुपमा पहिचान नदिलाएको भने होइन । तर, मेरो पहिलो चलचित्र ‘अन्दाज’ले उद्योगमा स्थापित गरायो । र, चर्चा पनि गराएको हिसावले ‘अन्दाज’ ले नै आम रुपमा चिनाएको ठान्दछु । ‘रावण’ र ‘हवल्दार सुन्तली’ पनि मेरा हिट चलचित्र मध्येका हुन् ।
भावी लक्ष्य के छ तपाईंको ?
एउटा कलाकारको लक्ष्य भनेको दर्शक माझ उहाँहरुको रुचीमुताविक चलचित्र दिन सक्दो प्रयास गर्ने हो । राम्रो टिमसँगको सहकार्यमा उत्कृष्ट चलचित्र निर्माण, प्रदर्शन र व्यवासायिक रुपले पनि सफल गराउन लागिपर्ने हो । राम्रो विषयवस्तुको छनोटसँगै त्यसको गृहकार्यमा समेत हामी जुटिसकेको अवस्था भएकोले आगामी दिनमा अझै राम्रा चलचित्र दर्शकमाझ पस्कँदै जानेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।
मुलुकमा फेरि राजनीतिक अस्थिरता सुरु भएको छ । संविधान जारी गर्नुपूर्व जस्तै सरकार बनाउने र गिराउने खेल सुरु भएको जस्तो देखिएको छ । यो खेलले मुलुकको अर्थतन्त्र कता लैलाजा भन्ने प्रश्न गम्भिर बनाएर ल्याएको छ ।
कोरोना कहरले संकटपूर्णं बनेको अर्थतन्त्रका बीच विकसित राजनीतिक अस्थिरताले देशलाई कता लैजाला भन्ने चिन्ता सबैमा छ । यहि चिन्तालाई हामीले पूर्वगर्भनरसमेत रहेका अर्थविद् दिपेन्द्रबहादुर क्षेत्रीसँग राखेका छौं । देशको राजनीतिक संकटबीच देखिएको आर्थिक संकटबारे क्षेत्रीसँग गरिएको कुराकानीको सम्पादित अंश :
आर्थिक रुपले देश निकै समस्यामा पुगेको देखिएको छ । कोरोना संकटसँगै आर्थिक बृद्धि निरन्तर ऋणात्मक छ । योबीच सरकार परिवर्तनका खेलहरु हुन थालेका छन् । यी खेलले समग्र अर्थतन्त्रलाई कता लैजाला ?
राजनीतिमा देखिएको यो संकटले अर्थतन्त्रलाई सिधा प्रभाव पार्दछ । हाम्रो अर्थतन्त्रको कुरा गर्दा हामीले मात्रै लगानी गरेर आर्थिक विकास गर्न सक्दैनौं भन्ने पुष्टी भएको कुरा हो । त्यहि भएरै नै लगानी सम्मेलनहरु गरेका थियौं । तर, यहाँ आएर लगानी गरेर राम्रोसँग काम गर्न सक्ने स्थिति छ कि छैन्, प्रश्न छ ।
यहाँ श्रमिकहरु पाउन गाह्रो भईसकेको छ । नीति निर्माणहरु यति अस्थिर छन् कि जसको कुरा गरेर पनि साध्य छैन् । त्यसैलाई सञ्चालन गर्ने कर्मचारी संयन्त्रलाई पनि निकै अस्थिर बनाइएको छ । एउटा सहसचिव वर्षमै ६ पटकसम्म सरुवा हुने स्थित छ । प्रदेश तिरको अवस्था पनि त्यस्तै । त्यहाँ मुख्यसचिव भएर गएको मान्छे ३÷४ महिना पनि टिक्ने अवस्था छैन् । त्यो भएको कारणले.गर्दा विकास निर्माणलाई यस्ता कुराहरुले पनि प्रभाव पारिरहेको छ ।
सरकारले वार्षिक बजेट भनेर ल्याउँछ तर, ६ महिना भएपछि पुरै संशोधन गर्ने अवस्था छ । अहिले पनि २० प्रतिशत विकास बजेट खर्च भएको अवस्था छैन् । गत आर्थिक वर्षको आखिरिसम्म पनि कति हुने हो टुंगो छैन् । अस्थिरताहरु निकै बढेर गएको छ । यी अवस्थाका बीच देखिएको राजनीतिक संकटले थप अन्यौंल बनाएको छ ।
मुलतः सरकार परिवर्तनका खेलहरु हुँदा कहाँ, कस्ता कुराहरुमा समस्या परेको देखिन्छ ? के छ विगतको अनुभव ?
मुलुकको नीति स्थिर रहने र लगानी गर्ने वातावरणहरु पनि अनुकुल हुने कुरा मुख्य हुन्छ । श्रमको समस्या नहुने, बजारको पनि सुनिश्चितता हुने र नाफाको लागि पनि वातावरण राम्रै छ भन्ने सन्देश गयो भने लगानीकर्ताहरु उत्साहित भएर आउँछन् । तर, यी सबै कुराहरु हाम्रो गडबडिएको अवस्थामा देखिन्न ।
कहिल्यै पनि हामीलाई मुलुकप्रति इमान्दार बन्ने कुराले प्राथमिकता पाएन । हाम्रा नेता गणहरुले देश र जनतालाई न्याय गर्न सक्नु भएको छ भन्न सकिने परिस्थिति बनेको छैन् ।
हाम्रा विगतका अनुभवले विकास निर्माणका गतिविधिमा कस्तो प्रभाव पारेको देखिन्छ ?
सरकार परिवर्तन भन्नासाथै, अलिकति ठूलो बजेट भएको मन्त्रालयमा सचिवदेखि निर्देशकसम्म फेरिने स्थिति आउने रहेछ । साथै परियोजनाका मान्छेहरु पनि आफ्नो इशारामा चल्ने हुनुपर्छ भन्ने धारणा हुँदो रहेछ । यदि मुलुकप्रति हामी इमान्दार हुन्थ्यौं भनि त्यस्तो हुन्थेन । मेलम्ची खानेपानी आयोजना र अपर तामाकोशी २०/२५ वर्षदेखि घोषणाका लागि कुरेर बसेका छन् ।
स्थिर सरकार बनाउने भन्दै गर्दा २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भनिएको थियो । तर, २ वर्ष कटेको ६ महिना नपुग्दै कचिङ्गल भएर मानौं, हामी भर्खरै द्वन्द्वबाट बाहिर निस्किएको जस्तो बनेको छ । यसले लगानी गर्ने वातावरण बनाउँदैन् । चाहे त्यो आन्तरिक लगानी होस् वा बाह्य लगानी होस् । त्यो नहुनासाथ हाम्रा सम्भावना भएका उद्योगधन्दा, विकासका पूर्वाधारहरुको बनोटहरु बिग्रि नै हाल्छन् । त्यसले आर्थिक बृद्धिमा सिधा नै असर गर्छ ।
सरकार परिवर्तनका खेलहरु हुँदै गर्दा, कतिपय मुलुकमा आर्थिक गतिविधिमा त्यति धेरै फरक परेको देखिन्न । नेपालको सन्दर्भमा के–कति कुरालाई स्थिर बनाउन आवश्यक छ ?
यो ‘मल्टी पार्टी’ धेरै दलहरु भएको राजनीतिक व्यवस्थामा उहाँहरुको आर्थिक नीति, परराष्ट्र नीति फरक हुनु स्वभाविक हो । किनभने संसारै दुईवटा धुव्र (बामपन्थी र दक्षिणपन्थी)मा बाँडिएको छ । तर, अमेरिका जस्तो ठाउँमा पनि सानातिना घरेलु नीतिहरु बदलिए पनि आधारभूत किसिमका नीतिहरु बदलिएको देखिन्न । सरकार परिवर्तन भएपनि त्यहाँ आर्थिक, प्रतिरक्षा र परराष्ट्र नीतिमा खास फेरबदल हुँदैन् ।
त्यसकारणले जुनसुकै कालो, सेतो, रातो अनुहार भएको सरकार आएपनि यी तीनवटा कुरामा एकमत हुने वातावरण बनाउनु पर्दछ । सबै पार्टीले जनताको हितको लागि काम गर्ने भनेका हुन्छन् तर, न्यूनतम कुराहरुलाई स्वीकार गर्न सकेको देखिएको छैन् ।
पछिल्लो राजनीतिक उथलपुथलका बीच एमसीसीको विषय आएको छ । कतिपय एमसीसी आज नै पारित गर्नुपर्छ भन्दैछन् भने कोही गर्नै हुन्न भनेका छन् । तर, त्यसले ल्याउने दुष्परिणामका विषयमा दलहरुबीच साझा छलफलसमेत हुन सकेको छैन् । यसअघि महाकाली सन्धीमा पार्टीहरु बाँडिएका थिए । त्यतिबेला सम्झौता गरे वार्षिक १ खर्ब पैसा आउँछ भनेर अहिलेका प्रधानमन्त्रीले भन्नुभएको थियो । तर, त्यो सम्झौताबाट त एक पैसा पनि आएन् ।
त्यस्ता कुराबाट पछुताउने स्थिति फेरि हुनुहुन्न । त्यसकारण प्रतिरक्षा नीति र परराष्ट्र नीतिमा राजनीतिक पार्टीहरुका बीचमा न्यूनतम सहमती आवश्यक छ । त्यसैको फ्रेमभित्र रहेर काम गरेको खण्डमा जति सरकार परिवर्तन भएपनि त्यसले समस्या पार्दैन् । सानातिना कुराहरु परिवर्तन होला तर, आधारभूत कुराहरुमा हुँदैन । ती कुराहरु अहिले पनि गर्नुपर्छ भन्ने लाग्छ ।
विगतमा ९ महिना, १ वर्षमा सरकार परिवर्तन हुने खेल भएका थिए । अहिलेको राजनीतिक समिकरणले पनि त्यस्तै सिनारियो देखाएको छ । यसले हालको अवस्थाअनुरुप कस्तो समस्या बनाउला ?
९/९ महिनामा सरकार परिवर्तन हुने भनेको राजनीतिक अस्थिरताको परिचायक हो । राजनीतिक अस्थिरता हुनासाथ प्रशासनीक अस्थिरता पनि आउँछ । प्रशासनिक अस्थिरता रहनासाथ विकास निर्माणका गतिविधिमा सिधा प्रभाव पार्छ ।
जहाँसम्म बाह्य लगानीको कुरा हो, मुख्य आर्थिक नीति नै अस्थिर भएपछि लगानीकर्ताहरु अलमल पर्ने स्थिति हुन्छ । त्यस्तो अवस्थामा बाहिरका लगानीकर्ता लगानी गर्न चाख राख्दैनन् । अस्थिरता भएको अवस्थामा केहि जुवाडे प्रकृतिका लगानीकर्ता आएपनि तिनले आर्थिक विकासमा खास सहयोग गर्न सक्दैनन् ।
संविधान जारी हुँदै गर्दा, ‘सुखी नेपाली र समृद्ध नेपाल’ हुन्छ भन्ने परिकल्पना गरिएको थियो । तर, यो राजनीतिक अस्थिरताले फेरि अन्यौंलता देखाएको छ । यो अवस्थामा राजनीतिक पार्टीहरुका बीचमा आधारभूत कस्ता नीतिमा सहमती गरेर अगाडि जान आवश्यक छ ?
डा. बाबुराम भट्टराईको ८÷९ महिने सरकारका बेला योजनाहरुलाई वर्गिकृत गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु भनेर छुट्याउने व्यवस्था बनाइएको थियो । तत्कालिन समय सरकारले १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना बनाएको थियो । तर, अहिलेसम्म पनि त्यतिखेरका आयोजना पनि पुरा नभएको अवस्था छ । त्यतिबेला १७ वटा थिए अहिले २१ वटा पुगेका छन् ।
यस्ता राष्ट्रिय गौरवका आयोजनालाई निरन्तर अगाडि बढाउनु पर्ने स्थिति हो । त्यतिखेर ल्याइएको त्यस्तो कार्यक्रम ठिक हो । तर, राष्ट्रिय महत्व पाएका ठूला आयोजनालाई केहि पनि तलमाथि नहुने गरि अगाडि बढाऔं भन्ने हो । तर, त्यो कार्यान्वयनमा आएन । भएका आयोजनालाई पुरा नगर्ने अनि थप्दै जाने स्थिति बनेको छ । साथै अन्यले सुरु गरेका आयोजनालाई अर्कोले वास्ता नगर्ने पनि परिपाटी बनेको छ ।
सरकारको प्रतिवेदनअनुसार पनि कतिपय गौरवका आयोजनामा १ रुपैयाँ खर्च भएको छैन् । त्यसको अर्थ त्यसलाई प्राथमिकता दिएको देखिन्न । अब त्यसलाई राष्ट्रिय गौरवको आयोजना किन भन्ने ?
हिजो रामबहादुरले सुरु गरेको आयोजना आज मैंले किन अगाडि बढाउने भन्ने चलन छ । त्यसबाट उन्मुक्ती पाउनुपर्छ । त्यसकारण छिटोभन्दा छिटो ठूला परियोजनालाई सकाउने तर्फ राज्यले सोंच्नुपर्छ । त्यसरी काम भएमा मात्रै जनताले राहत पाउन सक्छन् र देशको विकास पनि हुन्छ ।
अहिले कुलमान घिसिङ्ग गएसँगै विद्युत प्राधिकरणमा समस्या छ । प्राधिकरणले ‘प्राविधिक समस्या’ भन्दै टारिरहेको छ । यस्ता कुरा हामीले कहिले चेत्ने ? के कुलमान अगाडि बढाएको कामलाई अरुले व्यवस्थित बनाउनु हुँदैन् ? त्यसकारण प्रतिबद्ध भएका परियोजनामा नेतृत्व खोज्नुपर्छ ।
स्थिर सरकार बन्यो भनिरहँदा विगतदेखि हालसम्मको समयलाई कसरी हेर्न मिल्छ ? तपाईँको मूल्यांकनमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको आर्थिक बृद्धिदरमा भूमिका कस्तो देखियो ?
औपचारिक कथनहरुलाई लिने हो भने सरकारका भनाईहरु विरोधाभाष खालका छन् । केहि दिन अघि मात्रै प्रधानमन्त्री जीले विश्व बैंकले विश्वमै तिव्रतर विकास भएका देशमध्ये नेपाल पनि परेको भन्ने अभिव्यक्ति दिनुभएको थियो । बेलायती चर्चित पत्रिका ‘द इकोनोमिस्ट’ले पनि नेपालबारे त्यस्तै विश्लेषण गरेको उहाँको भनाई छ । उहाँले हामीले निकै विकास गरेका छौं भनि दाबी गरिरहनु भएको छ । तर उहाँको दाबीबीच अर्थमन्त्रालयको सार्वजनिक रिपोर्टले गत वर्षको आर्थिक बृद्धिदर १.९९ बिन्दुले ऋणात्मक भएको र चालु आर्थिक वर्ष पनि ४ बिन्दुले ऋणात्मक हुने प्रतिवेदन आएको छ ।
यी सबै कुरालाई हेर्ने हो भने हामी अन्यौंलमा पुग्छौं । कुर्सी लिएर बसेका प्रधानमन्त्रीलाई पत्याउने कि, त्यो मातहतको संरचनाको प्रतिवेदनलाई ? तर, आफ्नै किसिमले मूल्यांकन गर्ने हो भने देशको आर्थिक बृद्धिदर सकारात्मक खालको छैन् ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्धलाई हटाएर शान्तीपूर्णं मुलधारमा ल्याएको छ । तर, अर्को तिर त्यहि प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनको लागि संसद कहिले खुल्ला भनेर बसिरहेको अवस्था पनि छ । यो निकै जटिल किसिमको परिस्थिति हो ।
तथ्यांक विभागको तथ्यांकले पनि आर्थिक विकास निकै निराशाजनक ढंगले गएको पुष्टी गरेको छ । किनभने यहि आर्थिक वर्षमा पनि ४ बिन्दुले ऋणात्मक हुने त अर्थको प्रतिबेदन नै छ । तर, सरकारले ८ प्रतिशतसम्म आर्थिक बृद्धि हुन्छ भनेर मध्यावधी समिक्षा गरेको थियो । तर, त्यसलाई उहाँहरुले संशोधन गर्न चाहनु भएको छ ।
अन्त्यमा, सरकारको नजिक रहेर पनि काम गरेको हिसाबले तपाईँको सुझाब के रहन्छ ?
नीतिको हिसाबले हामीकहाँ समस्या खास छैन् तर, यहाँ कार्यान्वयन गर्ने सबालमा समस्या छ । कुनैमा सानातिना कमजोरी होलान् तर, कार्यान्वयन गर्ने दिशामा जुन खालको बेइमानी छ । त्यसले समस्या बनाएको छ । प्रधानमन्त्रीले हालै प्रमुख सचेतकलाई हटाउँदै गर्दा नियुक्ती गर्नेले हटाउन सक्छ भन्नुभयो । यो राजनीतिक विषय होला तर, यस्ता गतिविधिले नीतिगत निरन्तरता दिँदैन् । यस्ता गतिविधिलाई यहाँ बस्नेले पत्याउलान् तर बाहिर बस्नेले नियम कानून नै लागु नहुने ठाउँमा के काम गर्ने भनेर जस्किने अवस्था रहन्छ नि त ।
-गीता निरौला भण्डारी
बाल्यअवस्थामा सुत्ने बेला आमाको कथा नसुनिकन मलाई निद्रा लाग्दैनथ्यो । आमाले सधैँ आध्यात्मिक कथाहरू सुनाउनुहुन्थ्यो । त्यसमध्ये पनि महाभारत र कृष्णचरित्रका कथाहरू प्रमुख हुन्थे । एकदिन आमाले सत्यभामाको कथा सुनाउनुभयो ।
सानैदेखि स्वाभिमानी, साहसी र अन्याय सहन नसक्ने स्वभावकी सत्यभामाले तात्कालिन समयमा छोरी भन्ने बित्तिकै लजालु सहनशील र कोमल (कमजोर) भन्ने मान्यतालाई तोडेर आफूलाई छोराहरू सरह शिक्षा र तालिमले सुसज्जित बनाएकी थिइन । मिहिनेत र कुशाग्र बुद्धिका कारण घोडसवारी र धनुर्विद्याका साथै रणनीतिमा समेत सिद्धि प्राप्त गरेकी थिइन । युद्धकौशलकी विज्ञ वीराङ्गना सत्यभामालाई मानिसहरूले महारथीको रूपमा सम्मान गर्थे । उनको विवाह श्रीकृष्णसँग भएको थियो । श्रीकृष्णका ८ पटरानीहरुमध्ये उनी पूर्ण रूपले फरक स्वभावकी थिइन् । पति पत्नी बिच प्रेम, सद्भाव र समानताको व्यवहार हुनुपर्छ भन्ने उनको मान्यता थियो । उनी अन्य स्वास्नीमान्छे जस्तो घरभित्र मात्र सिमित हुन चाहन्नथिन् र कृष्णका हरेक कार्यमा साथ दिन चाहन्थिन् । कृष्णले पनि उनको यो चाहनाको सम्मान गर्नुहुन्थ्यो । विराङ्गना भएकीले वेलावेलामा उनीसँग युद्धका रणनीति सम्बन्धमा सर सल्लाहा लिने गर्नुहुन्थ्यो ।
एक दिन एउटा दुतले उनलाई यस्तो खबर सुनायो – कामरूप नाम गरेको राज्यमा भौमासुर भन्ने एउटा असुर प्रवृतिको राजा छ । भौमासुरको क्रुरता र अत्याचारले सीमा नाघिसकेको छ । उसले विभिन्न देशका गरी १६१०० राजकुमारीहरूलाई अपहरण गरेर सबभन्दा ठुलो अपराध गरेको छ । उसले ती राजकुमारीहरूलाई यस्तो ठाउँमा बन्दी बनाएर राखेको छ जहाँ कुनै पनि साधारण मानिस पुग्न सक्तैन । भौमासुरको शक्तिका अगाडि सबै राजाहरू नतमस्तक छन् कसैले पनि ऊसँग लडाई गर्ने आँट गर्न सक्तैनन । दुतको यो खबरले उनलाई नराम्ररी उद्धेलित बनायो । सत्य के हो जान्नका लागि उनी व्याकुलताका साथ कृष्णको प्रतीक्षा गर्न थालिन् । त्यसदिन उनको खोपीमा श्रीकृष्ण निकै ढिलो आउनुभयो । सदा प्रसन्न रहने श्रीकृष्ण पनि त्यसदिन मलिन मुद्रामा हुनुहुन्थ्यो । चिन्ताका रेखाहरू मुहारमा स्पष्ट देखिन्थे । आसनमा विराजमान भैसकेपछि सत्यभामाले केही सोध्न नपाउँदै कृष्णले भन्नुभयो –‘देवी १ आज सार्है नराम्रो खबर सुने त्यही खबरले चिन्तित भएको छु तिमीसँग छलफल गर्नु छ ।’ भौमासुरका बारेमा भन्न खोज्नु भएको होला मैले पनि भर्खरै यो समाचार सुने । चिन्ताले सताईरहेको छ । अनि अहिले सम्म कसैले पनि ती राजकुमारीहरूलाई छुटाउने प्रयत्न गरेको रहेनछ त ? सत्यभामाले आहत भएर कृष्णलाई प्रश्न गरिन् ।
‘छैन यमराजसँग को लड्ने ? मैले पनि आजै मात्र थाहा पाए । यस विषयमा के गर्न सकिन्छ म सोच्दै छु । तिमीसँग सल्लाह लिनु छ’ कृष्णले भन्नुभयो ।
‘यस्तो कुरामा पनि के सोचिरहनु पर्छ ? मैले थाहा पाइसके त्यो भौमासुरसँग युद्ध गर्ने क्षमता द्वारिकाधिशदेखि बाहेक अरूसँग छैन । यी कन्याहरूको उद्धार हामीले नै गर्नु पर्छ । बिचराहरू कस्तो कालकोठरीमा थुनिएका होलान् । भौमासुरले उनीहरूमाथि कति अत्याचार गरेको होला । सम्झेर पनि मेरो रगत उम्लिइसक्यो’, सत्यभामा आक्रोशित भइन् ।
‘हैन कुरा अर्को पनि छ । भौमासुरले आफ्नो महलको वरिपरि यस्तो विद्युतीय किल्ला बनाएको छ, त्यसलाई तोड्न जो कोहीले सक्तैन, यसको लागि त्यही किसिमको युद्धकौशल चाहिन्छ । यो युद्धमा मलाई तिम्रो सहायता चाहिन्छ’, कृष्णले भन्नुभयो ।
कृष्णको कुरा सुनेर सत्यभामाले भनिन –‘अवश्य भौमासुर सँगको युद्धमा म पनि हजुर सँग जान्छु र त्यो दुष्टलाई खतम गरेरमात्र शान्तिको साँस फेर्छु । अब ढिलो नगरौँ । भोलि नै भौमासुर विरुद्ध युद्धघोष गर्नुहोस् । म नारीमाथि भएको अन्याय सहन सक्तिनँ । उनीहरूको मुक्तिका लागि म आफ्नो बलिदान समेत दिन तयार छु ।’
सत्यभामा चानचुने योद्धा थिइनन् । भौमासुरसँग युद्ध गरेर उनी अपहरित राजकुमारीहरूलाई स्वतन्त्र बनाउन चाहन्थिन् । त्यसैले कृष्णसँगसँगै हातहतियारले सुसज्जित भएर उनी स्वयं युद्धमा होमिइन् र मुर राक्षस द्वारा निर्मित विद्धुतिय किल्ला तोड्न महत्वपूर्ण भुमिका निर्वाह गरिन् । कृष्ण, सत्यभामा र भौमासुरको बिचमा निकै लामो युद्ध भयो रिसले आगो भएको भौमासुरको बाण प्रहारबाट कृष्ण जव मुर्छित हुनुभयो त्यतिवेला कृष्णको ढाल भएर सत्यभामाले भौमासुरसँग एक्लै युद्ध गरिन् र भौमासुरको हात काटिदिइन् । कृष्णको होस आएपछि रणचण्डी बनेकी सत्यभामाले कृष्णलाई सुदर्शन चक्र प्रयोग गरेर चाँडो भन्दा चाँडो दुष्ट आततायीको सिर छेदन गर्न अनुरोध गरिन् कृष्णले तुरुन्तै सत्यभामाको सुझावअनुसार सुदर्शन चक्र द्वारा भौमासुरको बध गर्नुभयो ।
यसपछि कृष्ण र सत्यभामा हतार हतार १६१०० नारीलाई बन्दी बनाएर राखिएको बन्दीगृहमा पुग्नुभयो । त्यहाँको स्थिति अत्यन्त दयनीय थियो । सबै राजकुमारीहरू कोकोहोलो गरेर रोइरहेका थिए । सबैलाई मुक्त गर्दै कृष्णले भन्नुभयो –‘भौमासुरको बन्धनबाट अब तिमीहरू मुक्त भयौ । तिमीहरू जो जो जहाँ जहाँबाट आएका थियौ सबैलाई आ–आफ्नो ठाउँमा पु¥याइदिने व्यवस्था हुनेछ ।’
कृष्णको कुरा सुनेर बन्धक नारीहरूले रुँदै भने–‘हे द्वारिकाधिस हामी यहाँ वर्षौ देखि थुनिएका छौ बरु हाँमी यहीँ ठिक थियौ यहाँ बाट निस्केर के गर्नु ? अब हामीलाई हाम्रा परिवारले स्वीकार्ने छैनन् ,परिवारले स्वीकारीहाले भने पनि समाजले स्वीकार्ने छैन, हामीसँग कसैले विवाह गर्ने छैन, हामी मध्ये कति वलात्कृत हुनेछौ, कति वेश्यावृतिमा धकेलिने छौ, कति पागल हुने छौ, हामीले पलपल अपमानित भएर बाच्नु पर्नेछ त्यसरी बाच्नु भन्दा बरु हाँमी मर्न चाहन्छौ । हाँमीले निधो गरिसक्यौ हाँमी यहीँ बन्दीगृहमा आगो लगाएर सामूहिक आत्महत्या गर्छौ ।’
उनीहरूको कुरा सुनेर सत्यभामा द्रविभुत भइन् । तिनका पीडालाई अन्तर हृदयले महसुस गरिन् उनको तिक्ष्ण दिमागले यसबाट समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई तुरुन्तै मापन गर्यो । उनले श्रीकृष्णसँग एउटा अचम्मको प्रस्ताव राखिन् । ती बन्धक युवतीलाई समाजमा सम्मान दिलाउनका लागि उनले ती सबै युवतीसँग विवाह गर्नको लागि श्रीकृष्णसँग आग्रह गरिन ।
सत्यभामाको आग्रहमा श्रीकृष्णले पनि यो एतिहासिक निर्णय गर्नुभयो र भन्नुभयो– ‘तिमीहरूले समाजमा अपमानित भएर बाँच्नु पर्दैन । तिमीहरूसँग विवाह गरेर समाजको नजरमा म तिमीहरूलाई सुरक्षित र सम्मानित बनाउँछु । अव उप्रान्त तिमीहरूलाई संसारले द्वारिकाधिसका पत्नीको रूपमा सम्मान गर्नेछ ।’ यति भनेर कृष्णले सत्यभामा तिर हेर्नुभयो । सत्यभामाले गद्गद् भएर गर्वका साथ शिर ठाडो पारिन र आफ्ना पतितिर भावतिरेक दृष्टिले हेरिरहिन यतिबेला उनका आँखामा हर्षका आँसु र मुहारमा सन्तुष्टीको दिव्य चमक प्रस्ट देखिन्थ्यो ।
वास्तवमा सत्यभामा नारीमुक्तिका लागि लड्ने एक सच्चा योद्धा थिइन् । उनी कर्मयोगी अभियन्ता थिइन् । महिला हिंसाको खबरले उनी आक्रोशितमात्र हैन मर्माहत पनि भइन् । उनले कृष्णलाई तुरुन्त युद्धघोष गर्न प्रेरित गरिन् र ज्यानको बाजी लगाएर आफू पनि युद्धमा होमिइन् यतिमात्र हैन बन्धन मुक्ति मात्र समस्याको समाधान होइन पीडितलाई सुरक्षित जीवन प्रदान गर्नु नै वास्तविक न्याय हो भन्ने ठानी १६१०० नारीलाई आफ्नै सौताको रूपमा स्वीकार गरेर तिनलाई तिरस्कृत हुनबाट जोगाइन् । उनको यो आँट, यो दुस्साहस (अति साहस) यो त्याग, यो जोश केवल ती पीडित नारीहरूका लागि समर्पित थियो यसमा उनको आफ्नो स्वार्थ केही पनि थिएन ।
बाल्यकालमा आमाले सुनाएको यो प्रेरणादायी कथाले मलाई आजका हरेक नारी अधिकार कर्मीभित्र सत्यभामा खोज्न बाध्य बनाएको छ । प्रत्येक वर्ष पृथक नाराका साथ कुनै भव्य होटलको सभाहलमा मनाइने नारीदिवसमा र त्यहाँ गरिने उग्र भाषणमा आजभोली म सत्यभामाको दृढता खोज्न थालेकी छु । तिनले गर्ने अठोटमा सत्यभामाको सङ्कल्प खोज्न थालेकी छु, तिनका हरेक क्रियाकलापमा म सत्यभामाकै जस्तो जुनुन, त्याग र समर्पण खोज्न थालेकी छु अनि तिनका समर्थनमा बजाइने तालीहरूमा सत्यभामाको त्यागमय संतुष्टी खोज्न थालेकी छु । तर हरेक पटक म निराश भएकी छु । अहँ मैले कहीँ कतै पनि त्यो अद्भुत समर्पण देख्न पाएकी छैन बरु उल्टो पीडित नारीहरूलाई नै सिँढी बनाएर अधिकारकर्मिहरू माथि पुग्ने गरेको र उल्टै अहं प्रदर्शन गर्ने गरेको भेटेकी छु । पीडित नारीका व्यथालाई डलर कमाउने भाँडो बनाउने गरेको देखेकी छु । म दाज्नेगर्छु सत्यभामाको अभियान र यिनको अभियानलाई । अनि सोच्ने गर्छु काश ! नारीमुक्ति अभियानकी अग्रदुत सत्यभामाको केही अंश मात्र पनि यिनमा आईदिए कस्तो हुन्थ्यो होला ।
-विष्णु पन्त
संसद विघटन वा पुनः स्थापनाले देशलाई झन ठूलो भड्खालोमा हाल्न खाजेको देखिएको छ । संसद पुनः स्थापनाका पछिका खेल सोही दिशातर्फ उन्मुख छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल भन्दै गर्दा उनैको ठाउँमा पुनः असफल सिद्ध भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईहरु आउने सम्भावना देखिएको छ । पछिल्ला समिकरणहरुले सबैभन्दा अगाडि देउवाको नाम पनि आएको छ । तर, देउवा व्यवस्था परिवर्तन अगाडि र फेरिएको व्यवस्थामा पनि निकै पटक ‘टेस्टेड’ भएका पात्र हुन् ।
अहिले ओलीको ठाउँमा दाहाल, नेपाल, देउवा र भट्टराईलाई प्रधानमन्त्री बनाउने दृष्टिकोणको विषयमा बहस गर्न जरुरी देखिएको छ । अर्काेतर्फ पार्टी वा देश सबैलाई भड्खालोमा हालेर भए पनि आफूँ सत्तामा टिकिरहनुपर्ने प्रवृत्तिका बारेमा छलफल चलाउनु पर्ने देखिन्छ । व्यक्ति फेर्दैमा अहिलेका संकट र समस्याको हल हुन्छ भन्ने देखिन्न । हल विधी र पद्धतीबाट खोज्नुपर्दछ । तर, संसदीय नेतृत्वको बिडम्बना उसले व्यवस्थाको विकल्प साेंचेकै छैन । नेपालीमा उखान छ, ‘कुवाको भ्याकुताले कुवाभन्दा बाहिरको संसार परिकल्पना नै सक्दैन’ भने जस्तै अहिलेका नेताहरु यो व्यवस्था बाहिर जाने कल्पना नै गर्न सक्दैनन् ।
उनीहरु बरु त्यहि लडीबुडी गरिरहन्छन् । फोहोर गरेका छन् र फोहोरमा लत्पतिएर गन्हाएका छन् तर, नुहाउने वा सफा गर्ने विषयमा सोंचेकै छैनन् । आफू सरकारमा जान राष्ट्रियतालाई बन्धक बनाउन तयार हुन्छन् । आत्मसमर्पणवादी र गुलामीको पनि चरम सीमामा पुगेका छन् । यदि बाहिर आए जस्तै एमसीसी, चुच्चे नक्सा र कालापानीमा रहेको भारतीय शैन्य क्याम्पमा आत्मसमर्पण भएको हो भने भन्नुपर्दछ, प्रचण्ड आत्मसमर्पण र गद्दारीका चरम नमुना हुन् । हिजो त्यहि विषयमा ओलीलाई गद्दार भन्ने अनि आज आफैँ त्योभन्दा पनि तल गिर्ने ? यस्तो छुट हुन्छ ?
जरुरी छ राष्ट्रिय मुक्ति आन्दोलनको
फेरि पनि नेपालमा राष्ट्रिय मुक्ति आन्दोलनको अपरिहार्यता बनेको छ । अब व्यक्ति बदलेर मुलुकले निकास पाउँदैन । मुख्य दोषी दलाल संसदीय व्यवस्था हो । यो व्यवस्था कायम रहँदासम्म आत्मसमर्पण, दलाली र भ्रष्टचार बढिरहन्छ । अस्ति मात्र संविधान बन्यो र जनताको जीत भयो भनेर दिपावली गरे । पछि कम्युनिष्टको बहुमत आयो जनताको जीत भयो भनेर उत्सव मनाए ।
अहिले केपी ओलीको प्रतिगमन पराजित भई संसद पुनः स्थापना भयो भन्दै दिपप्रज्वलन र लड्डु पान गरे । तर, प्रश्न उठ्छ देश र जनताको जीत भयो त ? जनताको जीत भन्दै महाभ्रमको सम्प्रेषण गर्दै फेरी पनि देश र जनतालाई नै बन्धक बनाउने खेल दोहोरिएको छ ।
संसद पुनः स्थापना पछि यदि एमसीसी पास भयो भने चुच्चे नक्सा गायब भयो भने वा नदीनाला भारतलाई बुझाईयो भने वा नेपालभित्र विदेशी सेना राख्ने निर्णय गरियो भने त्यो राष्ट्रघाती साबीत हुनेछ । अतः फेरि पनि राष्ट्रिय स्वाधिनताका लागि सबै क्रान्तिकारी, प्रगतिशील, देशभक्त र सच्चा लोकतन्त्रवादी अनि मानवअधिकारवादी शक्तिहरु एक हुनुपर्दछ । अब सरकारमा पुग्नका लागि विदेशीहरुसँग आत्मसमर्पण गर्ने दलाल नेतृत्वलाई लखेट्नु पर्दछ । व्यवस्था, संविधान वा सरकारभन्दा ठूलो देश हो । देश रहे मात्र अरु सबै बनाउन सकिन्छ । त्यसका लागि विप्लव, प्रकाण्ड र किरणको नेतृत्वमा राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरौं ।
संसदमा रक्तपात नहोस्
सबैलाई थाहा छ, सरकारी नेकपाभित्रको लडाईँ राजनीतिक र वैचारिक हैन । दुवै समूहमा कसरी सत्ता प्राप्त गर्ने भन्ने मात्रै एजेण्डा छ । दुवै फासीवादी, निरंकुश र अधिनायकवादी दृष्टिकोणबाट चलिरहेका छन् । दुवैको पृष्ठआधार पनि आन्तरिक राजनीतिक शक्ति देखिएको छैन् । दुवैमा आफुँ जित्ने र अर्कोलाई सिध्याउने धङधङी चढाइएको छ । अहिलेको सत्ता संघर्ष र शक्ति संघर्ष अझै बढ्ने क्रममा छ । फाल्गुण २३ गते संसद आव्हान गरिएको छ । अहिलेसम्म सडकमा भएको लडाईँ अब संसदमा हुने निश्चित छ । लडाईँ हिंसात्मकसमेत हुने संकेतहरु देखिएका छन् ।
लडाईँमा उत्रिएको एउटा पक्षले अर्को पक्षलाई जसरी पनि सिध्याउने गरि लागेको छ । दुवै पक्षले सार्वजनिक रुपमै अर्को पक्षलाई स्वीकार नगर्ने बताईरहेको छ । यो लडाईँमा अरु दलहरु रमीते मात्र बन्ने छन् । सबै दलमा विभाजनका सम्भावनाहरु पनि छन् । यस्तो अवस्थामा कतै संसदमा रक्तपात त हुँदैन् भन्ने प्रश्नहरु पनि उब्जिएका छन् । फेरि पनि संसदमा भण्डारखाल पर्वहरु वा कोतपर्वहरुको पुनरावृत्ति नहोस् । दुवै शक्तिलाई भिडाउने र सिध्याउने नै विदेशी शक्तिकेन्द्रको मनशाय देखिन्छ । अबको पुनः स्थापित संसद अधिवेशन निकै संकटपूर्णं र हिंसात्मक हुने खतरा छ । देखिएका त्यस्ता संकेतहरुले राष्ट्रियता स्वाभिमान नै प्रश्न उठाउने सम्भावना छ । हामी कामना गरौं, वर्तमान लडाईँ त्यतातर्फ नजाओस् ।
-पूर्ण रावल
प्रधानमन्त्री खड्गप्रसाद ओली निकै हतास र सशंकित भएको अनुमान उनको विराटनगर भाषणबाट गरिएको थियो । पार्टीको केन्द्रीय समितिदेखि संसदीय दलसम्म अल्पमतमा परेका ओलीको संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषित गरे यता थप निरास र त्रसित भएको पुष्टि हुने थालेको छ । पोखरामा आयोजित कार्यक्रममा ओलीले आफूलाई सुरक्षा चुनौती भएको औंल्याउँदै आफू कुनै पनि बेला मारिन सक्ने अभिव्यक्ती गरेपछि भने उनको हतसा, निराशा र डर छलबलिएर पोखिनै थालेको प्रस्ट भएको छ ।
पोखराको ‘सरकारी आमसभामा’ सोमबार अभिव्यक्त ओलीको सुरक्षा चुनौतीको कुराले उनी अत्यन्त पराजित मानसिकतामा पुगिसकेको सजिलै अनुमान गर्न सकिन्छ । त्योभन्दा बढी उनी जनताको सहानुभूति बटुल्न जनतालाई ‘इमोस्नल ब्ल्याकमेल’ गर्न उद्दत भएकोसमेत सजिलै महशुस गर्न सकिन्छ । आफ्नो ज्यान तलमाथि हुन सक्ने ओलीको अभिव्यक्तीले नेपालको प्रधानमन्त्रीको ज्यान सुरक्षित नभए, कसको ज्यान सुरक्षित छ त भन्ने प्रश्नलाई पनि जन्माएको छ ।
सधैं बाक्लो सुरक्षा घेरामा बस्न मन पराउने, सभास्थल वरपरका घरका छत–छतमा समेत मनग्य सुरक्षाकर्मी तैनाथ गरि भाषण गर्न रूचाउने र आफू उपस्थित कार्यक्रममा कालो मास्क लाउनेहरूलाई प्रवेशबाट बर्जित गर्ने हाम्रा प्रधानमन्त्रीलाई साँच्चै सुरक्षा थ्रेट छ कि त्यो उनको काल्पनिक डर मात्रै हो भन्ने प्रश्न पनि टड्कारो रूपमा उठेको छ । प्रधानमन्त्री ओलीको उत्थान र पतनको मूल कारण उनका अचम्म लाग्दा अभिव्यक्ती हुन् भन्ने कुरा थुप्रै नेपालीले बुझेकै छन् । २०६२÷०६३ मा गणतन्त्रको आन्दोलन चुलिदै गर्दा ओलीले ‘नेपालमा गणतन्त्रको आन्दोलन सफल हुनु र बयलगाडा चढी अमेरिका पुग्छु भन्नु उस्तै कुरा हुन्’ भनेर चर्चामा बटुलेका थिए । राजावादीहरूलाई हौस्याउने र गणतन्त्रवादीहरूलाई हतोत्साही गर्ने उद्देश्यले व्यक्त ओलीको त्यो भनाई आजसम्म पनि सबैभन्दा बढि आलोचित छ ।
उनको पहिलो प्रधानमन्त्रीको कार्यकालमा चलेको मधेश आन्दोलनमा मारिने मान्छेहरूलाई ‘एक दुईवटा आँप झरेको’ र आन्दोलनमा सरीक हुने नागरिकहरूलाई ‘पारीपट्टिका मान्छे’को संज्ञा दिएर उनले मधेशबाट तत्कालीन एमालेको शाखै स्वाहा पारेका थिए । यो त्यहिबेला थियो जतिबेला मधेशी नेताहरूले संसद वैठकमा प्रधानमन्त्री खड्गप्रसादको मानसिक स्वास्थ्यको जाँच गराउनुपर्ने माग गरेका थिए ।
पुस ५ गते उनले संसद विघटनको सिफारिस गरेपछि सार्वजनिक भएका उनका अनौठा अभिव्यक्ती तथा समकक्षी, समवयी र समकालिक नेताहरूका अभिव्यक्तीहरूलाई हाउभाउसहित दर्शाएका कुन कुरा सत्य हुन् र कुन कुरा काल्पनिक हुन् भनी ठम्याउन गार्हाे भएको दाबी गर्नेहरूको संख्या पनि त्यत्तिकै ठूलो छ । हाल प्रधानमन्त्री खड्कप्रसादको सुरक्षामा करिब ४०० जना सुरक्षाकर्मी तैनाथ छन् । सिंहदरबारस्थित आफ्नो कार्यालयसम्म नपुगी बासस्थानबाटै सरकार चलाउने प्रधानमन्त्रीको निवास बालुवाटारभित्र हेलिप्याडको व्यवस्था छ ।
सरकारी जनसभामा उनको आशन र कार्यक्रममा सहभागी जनता–कार्यकर्ताबीच करिब १५० मिटरको दूरी कायम गर्ने चलन छ । त्यसका बाबजुदसमेत प्रधानमन्त्री ओली किन आफू अशुरक्षित भएको महसूस गर्नु हुन्छ, यो बुझि नसक्नुको विषय भएको छ । तर, प्रधानमन्त्रीका अपत्यारिला र अनौठा अभिव्यक्तिलाई अथ्र्याउनेहरू भने उनको डर यथार्थ भन्दा ‘अभिव्यक्तिको स्टन्ट’ मात्र भएको र सर्वसाधारणदेखि नेता–कार्यकर्तालाई बशिभूत गर्ने प्रपञ्च बाहेक अर्काे नभएको लख काट्छन् ।
अर्काेथरी मान्छेहरू प्रधानमन्त्रीले आफू मारिन सक्ने भनी दिएको अभिव्यक्तीलाई ‘झुठा सपनाको खेती’ फस्टाउन छोडेपछी आएको अर्काे ‘शब्द जाल’को रूपमा अथ्र्याउँछन् । प्रधानमन्त्रीको पोखरा मन्तव्यलाई लाइभ गरिरहेका विभिन्न सोसल मिडियामा कमेन्ट गर्ने थुप्रै दर्शकहरूले पनि प्रधानमन्त्रीको ‘आफू मारिए पनि पार्टी बचाउनू’ भन्ने उपदेशलाई त्यही शाब्दिक षडयन्त्रको पाटोको रूपमा अथ्र्याएका छन् । एक बर्षभित्र भूपरिवेष्ठित नेपालमा पानीजहाज ल्याउने, सबै नेपालीका घरघरमा ग्यासको पाइप जोडिसक्ने र जलसम्पन्न मुलुकको लोडसेडिङ्लाई हावाको बिजुलीमार्फत अन्त्य गर्ने ओली सपनाको झोली च्यातिएपछी उनी ‘झुठा भावनाहरूको ब्यापार’ सुरू गर्न थालेको टिप्पणीले सोसल मिडिया रंङ्गिएका छ्न् ।
आफुँलाई इतिहासकै शक्तिशाली, निर्णायक र साहसी देखाउन तम्सिने प्रधानमन्त्रीको त्यो अभिव्यक्तीले नेपाली सेना र प्रहरीलाई खिज्याएको र पदीय हैसियतसमेतको मर्यादा नराखेको अर्थमा बुझ्नेहरू पनि उत्तिकै छन् । आफै प्रधानमन्त्री, हुन्छ मात्रै भन्ने राष्ट्रपति, विश्वासपात्र सुरक्षामन्त्री र जागिरसँग जीवन साँटेका गृहमन्त्रीको बलियो साथ हुँदाहुँदै प्रधानमन्त्रीले त्यसो भन्न र सोंच्नसमेत अशोभनीय हुने उनिहरूको बुझाई छ ।
सोसल मिडियामा भाइरलै भएको प्रधानमन्त्रीको उक्त भनाई प्रती उनका समर्थक चाहिँ लगभग मौन छन् । सायद उनीहरू प्रधानमन्त्रीको आकस्मिक, नौलो र अनपेक्षित भनाईलाई जस्टिफाइ गर्ने तर्ककै खोजिमा छन् ।
-अच्युतप्रसाद पौडेल ‘चिन्तन’
योगभूमि नेपालमा विगत ६ वर्ष यतादेखि मात्र औपचारिक भनौँ राष्ट्रिय रुपमा योग दिवस मनाउन थालिएको छ । योग र ध्यानले व्यक्तिलाई सदाचारी बनाउन प्रयत्न गर्छ । मानव शरीरले सर्दी, गर्मीसँग लड्ने क्षमता योग र ध्यानबाट प्राप्त गर्न सक्छ । ध्यानले सिद्धि प्राप्त हुन्छ र सत्व गुणको चिन्तन गराउँछ । यसले शरीरलाई शुद्ध बनाउन प्रयास गर्छ । अनेकौं आशक्तिबाट छुट्कारा मिल्छ । ध्यानले दृष्टिकोणलाई फराकिलो बनाउँछ । ध्यान एक त्यस्तो अवस्था हो जसले ईश्वर वा अल्लाहसम्म सम्पर्क गर्न सहयोग गर्छ । योग साधनाका विभिन्न अवस्था र चरणहरु छन् । शारीरिक तन्दुरुस्ती र मानसिक भनौं आत्मबल ध्यानबाटै प्राप्त हुन्छ । शरीरमा पुनर्उर्जा पनि मिल्छ । विश्वका हरेक कुनामा यसले आफ्नो अस्तित्व देखाउँदैै आएको छ । उत्पादन र उत्पादकत्व बृद्धिमा स्वच्छ मन हुनुपर्छ । दूषित खानाले विचारलाई पनि प्रदूषित गराउँछ । मान्छेलाई अस्थिर बनाउने तत्व मन नै हो । मन र बुद्धिकै कारण मानव जीवन सफल, सार्थक र उपयोगी बन्ने हो ।
विज्ञानलाई सही, सदुपयोग गर्दै संसारमा हाँसी–हाँसी जीवन बिताउन सक्ने खुबी प्रदान गर्ने योग एवं ध्यान साधना गरेरै आज नेतृत्वले ठूला र गम्भीर संकटबाट पनि मुक्ति दिलाएका कैयन उदाहरण छन्, हाम्रा सामु । हतियार सही रुपमा सञ्चालन गर्ने प्रहरी, सेना, औद्योगिक कल, कारखानामा काम गर्ने मजदूर र व्यवस्थापक, बजार सञ्चालन गर्ने व्यापारीदेखि उच्च प्रशासक मात्रै होइन देश हाँँक्ने नेतृत्वलाई ध्यान र योेगले सही मार्ग निर्देश गरेको हुन्छ । संसारमा आज योग गुरुहरुले गरेको चमत्कार हेर्न लायक देखिन्छ । नियमित ध्यानमा बस्ने, योगाभ्यास गर्ने व्यक्तिमा रोग निरोध शक्ति त बढी हुन्छ नै । क्षणिक आवेग, तनाव, क्रोधबाट पनि मुक्ति पाउने हुँँदा सकल जीवनमा यसले सार्थकता ल्याउँछ । तनाव रहित जीवनले गरेका निर्णयहरु पछिसम्म दिगो हुन्छन् । हतास मनस्थिति र दबाबबाट भए गरेका निर्णयहरु तत्काल राम्रो देखिए पनि परिणाम लामो समयसम्म टिकाउ हुन्न ।
आजको हाम्रो राजनैतिक किचलो हतास मनस्थितिको परिणाम हो । आन्दोलनबाट आएको सत्ता संसारमै दिगो भएको छैन । दबाब, आयातित र स्वार्थवश बनेका हाम्रा संविधानहरुले स्थिर रुपमा काम गरेको छैन । ७० वर्षमा ७ वटा संविधान बनिसके, तैपनि जनता निराश छन् । बेलायतमा अलिखित संविधान छ । अमेरिका, भारतमा एउटै संविधानले काम गरेको कति वर्ष भैसक्यो । गरीब देशमा दर्जनौँ संविधान बनाउँदै गर्ने आपैmँ च्यात्त्तै जाने बडा नौलो बानीको विकास भएको छ हामीकहाँ । १३ सालदेखि आवधिक योजनाहरुको थालनी भयो, अहिलेसम्म विकासको प्रतिफल आशालाग्दो छैन । देशको आर्थिक दूर्गति मात्रै होइन आर्थिक वृद्धि शून्य प्र्रतिशतमा झरेको छ । विदेशहरुमा ध्यान,योगस्थलहरु छुट्याई कल कारखाना, कार्यालयमै निश्चित समय तोकि श्रमिक लगायत अन्य जनशक्तिलाई यसमा समाहित गरिएको हुन्छ ।
ध्यान योगमा समाहित भएको व्यक्ति हत्तपत्त आत्महत्याको प्रयास गर्दैन । हिजोआज हामीकहाँ विभिन्न परिवेशले मानिस आत्महत्यातिर लम्केको देखिन्छ । यसको संख्या पनि निरन्तर बढेको छ । योगमा निपुण व्यक्ति आपराधिक हुँदैन । राज्यमा अपराधीहरुको संख्या कम भयो भने शान्ति सुरक्षाका लागि गरिने अधीक खर्च हातहतियारमा विकास, समाज सेवामा लगाउन सक्छ ।
देशमा सँधै लुटपाट, आगजनी, तोडफोड, हत्या, हिँसा हड्ताल हँुदैन । सौम्य र शान्त नेता अनि तिनका समर्थक जनताबाट भएको विकास दिगो हुन्छ र हामीले तय गरेको विकासको रोडम्यापको पनि सार्थकता रहन्छ । हिजोआज विज्ञानले पोल्टामा हालेको आयुर्वेदको मूल विषयबस्तु नै हो योग र ध्यान । कोरोनाले विज्ञानलाई चुनौती दिएको छ अहिले । २३ लाख मान्छे एकैचोटि निल्यो यसले, खै त औषधि र विश्व स्वास्थ्य संगठन, के उसको काम कोरोनाको बोधार्थ मात्रै हो ? योगले शरीरमा ‘एन्टीवोडी’ निर्माण गर्छ र रोगसँग लड्ने क्षमताको विकास गर्छ । हाम्रो आयुर्वेद संयन्त्रको लगानी खेर गएको छ । कोर्ष सिलेबसमा राखेर मात्रै हुन्न । मानव जीवन स्वस्थ र तन्दुरुस्त भए मात्र अन्य विषयले काम गर्ने हुन् । मान्छे नभए के को लागि विकास ?
योग र ध्यानमा एकाग्रता जरुरी छ । व्यक्ति निश्चल हुनुपर्छ । यन्त्र, उपकरण, साज, सज्जा, ध्वनी, संगीत, सञ्चारका साधन ध्यान गर्दा साथमा नहुनु राम्रो हो । इन्द्रियका विषयवस्तुलाई एकत्रित गरेर कुनै एक स्थानमा राखी मनलाई एकाग्र गराइनु ध्यान हो । यसो गर्दा इन्द्रियसहित मन स्थिर हुन जान्छ, चित्त चञ्चल हुँदैन । बादलमा चम्कने विजुलीझैँ बारम्बार विषयप्रति मन चम्कन पाउँदैन । जसरी वनस्पतिका पातमा परेका पानीको थोपा पातमा खेलिरहन्छ ठीक त्यस्तै ध्यान मार्गमा केन्द्रित मन साधकको अन्तर हृदयमा मात्र खेलिरहन्छ, बाहिर भड्किदैन । आलस्य त्यागेर योगमा भनौ ध्यानमा निरन्तर लाग्नु वेश हुन्छ । शुरुमा ध्यानमा केही बाधाहरु आउँछन् । मनमा क्लेश, वितर्क पैदा हुन सक्छ तर, आत्मकल्याणको पूर्व आधार मानेर स्थितचित्त हुनु उत्तम हुन्छ । मन र इन्द्रिय ध्यानस्थ भएपछि आफूभित्र आफैंमा शान्ति प्राप्ति हुन्छ । शान्ति बजारमा किन्ने विषय होइन, आपैmँले बनाउने हो । योगबाट कसैप्रति द्वेष, छिद्रान्वेषण, याचना वृत्ति, पर निन्दा सबै हटेर जान्छ । मूलतः क्रोधमाथि विजयी बन्छ । क्रोध, आवेग, तनावबाट पैदा हुने मनको जलन र शारीरिक रोगहरु विस्तारै हटेर जान्छन् । रक्तचाप जस्तो डरलाग्दो रोग र मधुमेह जस्तो रोगलाई योगमा वस्नेहरुले र नित्य व्यायाम गर्नेहरुले विजय प्राप्त गरेका छन् । आहार, बुद्धि, विचार शुद्धि निरन्तर शारीरिक व्यायाम एवं समय मिलाई ध्यानमा, योगमा, रहँदा शरीरका दुर्वलताहरु स्वतः हटेर जान्छन् ।
अक्षर ब्रह्मको रुपमा उसलाई प्राप्त गर्न सकिन्छ । जुन कुरा कहिल्यै नाश हुन्न त्यो अक्षर हो, अभय हो । अक्षर ब्रह्मबाट आकाश, आकाशबाट, जल र जलबाट पृथ्वी बनेको हो । पृथ्वीबाट पार्थिव हाम्रो शरीर बनेको हो । पृथ्वी नभए पार्थिव हुँदैन । पार्थिव शरीर जलमै लय हुन्छ । जलबाट यो अग्निसम्म पहुँच हुन्छ, अग्निबाट वायुसम्म र वायुबाट आकाशसम्म पहुँच हुन्छ । आकाशबाट परमात्मा सम्म लीन हुन पुग्छ । अर्थात् जहाँबाट आएको त्यही फर्कन्छ । स्थायी घर त्यही हो । यहाँको घर अस्थायी हो भनाँै जीव पाहुना हुन् पृथ्वीका क्षण भरका, समय भरका, काल भरका । परमात्मा प्राप्ति भैसकेपछि पुनर्जन्म हुँदैन । त्यो परमात्मा कस्तो होला एक पटक चिन्तन गरौं । परमात्मा न ठण्डा छ न गरम । ऊ कठोर छैन, कोमल छ । तीतो, पिरो,टर्रो, नुनिलो ऊ केही होइन, माधुर्यता उसको गुण हो । शब्द, गन्ध, रुपबाट पनि ऊ रहित छ । त्वचाले स्पर्शको, जिभ्रोले रसको, नाकले बास्नाको, कानले आवाजको, नेत्रले रुपको अनुभव गरेझैं परमात्माको अनुभव त्यसरी हुँदैन । जीव र शिवको भिन्नता नै त्यही हो । शरीरधारी देखिए पनि ईश्वरको शरीर हाम्रो जस्तो हुँदैन । दिव्य हुन्छ, लीला दिव्य, धाम दिव्य, काम दिव्य भएझै ईश्वरको शरीर देहधारीझैं अवतार विशेषमा देखिए पनि त्यो दिव्य नै हुन्छ ।
अध्यात्म ज्ञान विना परमात्माको ध्यानमा मन जाँदैन । अध्यात्मज्ञानबाट योगमा समाहित भएपछि परमात्माको दर्शन आपैmँ हुन्छ । परमात्मा ज्ञानको श्रोत हो र विज्ञानको । ज्ञान बिनाको, अध्यात्म बिनाको विज्ञान लँगडो हुन्छ, त्यसैले त हिरोसिमा र नागाशाकीमा ठोक्किन्छ, त्यसैले त ट्विन टावरमा सेप्टेम्बर ११ मा ठोक्किन्छ, त्यसैले त १० वर्षे जनयुद्धका नाममा बुद्धको देशमा ठोक्किन्छ, हिटलर शाकाहारी थिए, मतपेटिकालाई साक्षी पनि बनाए तर उनको मनमा शान्ति भएन, गान्धीले हतियार बिना नै समाजको परिवर्तन गरे । मस्तिष्कको दाता ईश्वर हो, विज्ञानको श्रोत मानव हो भने ज्ञानको श्रोत ईश्वर हो । पुस्तक पढेरै मान्छे ठूलो हुने होइन, अन्तरमुखी बन्नलाई ध्यानले मद्दत गर्छ । वहिर्मुखी मात्र हुँदा विज्ञानको श्रोत बुझ्न सकिन्न । बिजुली बन्न पानीको आवश्यकता छ ठीक त्यस्तै विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्मकोे आवश्यकता छ । अध्यात्म ज्ञानको परिचय दिने धेरै मार्गहरु छन् । त्यसमध्ये एउटा मार्ग हो योग र ध्यान ।
सुदुरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लाका ९ वटा स्थानीय तहहरुमध्ये भौगोलिक, सांस्कृतिक, प्राकृतिक आदी दृष्टिकोणले भरिपूर्ण स्थानीय तह हो– व्याँस गाउँपालिका । कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता अतिक्रमित भूमि रहेको, भारत र चीनसँग सीमाना जोडिएको सामरिक महत्व बोकेको र बहुमूल्य जडिबुटीको खानी रहेको व्याँस गाउँपालिका साबिकका ५ वटा गाउँ बिकास समिति (व्याँस, राप्ला, सुन्सेरा, धौलाकोट र हुती) मिलेर बनेको हो । पछिल्लो समय गाउँपालिकामा राजनीतिक नेतृत्व आएपछि स्थानीय बिकासले गति लिन थालेको अनुभूति व्याँसबासीहरुले गर्न थालेका छन् । यही गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीसँग स्थानीय बिकाससँग सम्बन्धित जनसरोकारका बिषयमा मध्यान्ह दैनिकका सम्वाददाता गणेश सिंह धामीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः
तपाईं गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि व्याँस गाउँपालिकाको बिकास निर्माणको कामलाई कसरी अगाडि बढाई रहनु भएको छ ?
स्थानीय तहको निर्वाचनमा व्याँस गाउँपालिकाबासी जनताले ५ बर्ष व्याँसको बिकास निर्माणका कार्य गर्ने, समृद्ध व्याँसको लागि आधार स्तम्भ तयार गर्ने र जन सेवा गर्ने जिम्मेवारी प्रदान गरेपछि निर्वाचनको बेला, जनतासँग मत माग्नेबेला जनताको घरदैलोमा जाँदा जनतासँग गरेका बाचाहरुलाई क्रमशः पुरा गर्ने, स्थानीय समस्या, जनताको आवश्यकता र चाहनाअनुसार नीति निर्माण गरी विकास निर्माणका कामलाई अघि बढाइ रहेका छौं ।
विकास निर्माणका क्षेत्रमा जनताले के–कस्तो सुबिधा पाएको महसुस गरेका छन् ?
हामीले जनतासँग गरेका बाचाहरु क्रमशः पूरा गर्दै जनतालाई प्रत्यक्ष लाभ हुने गरी बिकास निर्माणका कामहरु अघि बढाएका छौं । चुनावको बेला जनताको दैलोमा मत माग्न जाँदा गाउँका थुप्रै घरहरु खरले छाएका थिए । त्यही बेला जनतासँग बाचा गरेका थियौं– हामी निर्वाचित भए व्याँस गाउँपालिकालाई खर छाप्रो मुक्त बनाउँछौं र हामी निर्वाचित भएर आएको पहिलो आर्थिक बर्षमा नै खर छाप्रो मुक्त व्याँस अभियान घोषणा गरि खरले छोएका घर धुरीलाई आवश्यकता अनुसार जस्तापाता बितरण गर्यौं । हिलोमुक्त व्याँस अभियान घोषणा गरी प्रत्येक गाउँ बस्तीमा पीसीसी र सोलिङ बाटो निर्माण गर्यौं । त्यस्तै, धुँवामुक्त व्याँस अभियान घोषणा गरि एक घर एक सिलिन्डर ग्याँस वितरण गरेका छौं, केही वडामा चालु आर्थिक वर्षमा वितरण गर्छौ ।
शिक्षा क्षेत्रका लागि के कस्तो कार्य गर्नुभएको छ ?
सामुदायिक शिक्षाको गुणस्तर बृद्धि गर्दै व्याँसलाई शैक्षिक गाउँपालिका बनाउन प्रतेक विद्यालयमा दरबन्दी अनुसारको शिक्षकको व्यवस्था गरेका छौं । शिक्षकको अभावका कारण विद्यालयले शिक्षक भर्ना गरी अभिभावकले चन्दा उठाएर शिक्षकलाई तलब दिने समस्यालाई अन्त्य गरी आवश्यकताका आधारमा प्रत्येक विद्यालयमा विषयगत शिक्षक सहजकर्ता भर्ना गरी गाउँपालिकाबाटै तलब दिइरहेका छौं । मैले आफ्नो व्यक्तिगत पैसा १२ लाख धरौटी राखी व्याँस गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरामा १८ महिने जेटीए पढाइ हुने एउटा प्राविधिक विद्यालय स्थापना गरेका छौं । माबिह मा ई–लाईब्रेरी, विज्ञान प्रयोगशाला स्थापना गरेका छौं र ३ वटा स्कूलमा खेल शिक्षक भर्ना गरेका छौं । ८ वटा स्कूलमा कम्प्युटर शिक्षक भर्ना गरेका छौं । विद्यालयका भवन निमार्ण गरेका छौं ।
स्वास्थ्य क्षेत्रको लागि के–कस्तो कार्य गर्नुभएको छ ?
‘व्याँस गाउँपालिका जनताको साथी, व्याँसमा स्वास्थ्य सबैभन्दा माथि’ भन्ने अभियान घोषणा गरी व्याँस गाउँपालिका भरि ५ वटा ग्रामिण स्वास्थ्य इकाइ केन्द्र तथा बर्थिङ सेन्टर स्थापना गरेका छौ । २ वटा ल्याब स्थापना गरेका छौं । मुटु, मिर्गौला रोगी, क्यान्सर जस्ता जटिल रोगीहरुलाई प्रति व्यक्ति ५० हजारका दरले राहत दिँदै आइरहेका छौं । बेला–बेला स्वास्थ्य सिविर सञ्चालन गरी आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौं ।
पुर्वाधार क्षेत्रमा के कस्तो कार्य गर्नुभएको छ ?
हाम्रो अथक प्रयास तथा पहलबाट गाउँपालिकाको केन्द्र सुन्सेरासम्म राष्ट्रिय सडक दार्चुला–तिङकर सडक पुगेपछि सडकको पहुँचभन्दा टाढा रहेका गाउँबस्तीसम्म सडकको पहुँच पुर्याउन ग्रामिण सडक निर्माण गरेका छौं । जसमा वडा नम्बर ६ को घोरेठा बजार हुँदै हुती पानीखाल जोड्ने सडक, घोरेठा हुँदै खातीगाउँ–बाननी जोड्ने सडक । यस्तै, वडा नम्बर ५ को दर्पादेखि चन्दाकोट सम्मको सडक निमार्ण गरेका छौं । वडा नम्बर ४ को कोरकट्यादेखि पथ्थरकोटसम्म र दार्चुला–तिङकर सडकदेखि मडगाउँ सम्मको सडक निमार्ण गरेका छौं । वडा नम्बर ३ सम्मको सडक निमार्णको लागि टेन्डर भइ निर्माण कार्य भैइरहेको छ । वडा नम्बर २ राप्लासम्मको सडक निर्माणको लागि गाउँपालिकाले संघ–प्रदेश–संघ समपुरक अनुदान माग गरेका छौं । भौगोलिक रुपमा टाढा रहेको वडा नम्बर १ छाङरु–तिङकरसम्म पुग्ने बाटो केही ठाउँमा निमार्ण गरेका छौं र चट्टानी भाग रहेको क्षेत्रमा बाटो निर्माण गर्न हाम्रो पहलमा संघ सरकारले ५ करोडको टेन्डर आह्वान गरेको छ । यस्तै गाउँपालिकाको प्रशासकिय भवन निर्माणाधिन अवस्थामा छ ।
पर्यटकीय महत्व बोकेको व्याँस गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्न के–कस्ता काम गर्नु भएको छ ?
व्याँस गाउँपालिका प्राकृतिकरुपमा निकै सुन्दर गाउँपालिका हो । व्याँसका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न डिजिटल डकुमेन्ट्री निर्माण गरेका छौं । धार्मिक पर्यटन प्रवद्र्धन गर्न विभिन्न वडाहरुका मुख्य मन्दिरहरु निर्माण गरेका छौं । वडा नं. १ मा व्याँस ऋषिको मन्दिर, वडा नं.६ को मालिकार्जुन मन्दिर, नौलाकेदार मन्दिर निर्माण गरिएको र ब्रह्माण्डौ निर्माणधिन छ । दार्चुला जिल्लामै मात्र बसोबास गर्ने सौका(जनजाति) को कला संस्कृति संरक्षण गर्न रंग संग्रालय स्थापना गरेका छौ । प्रमुख प्रर्यटकीय क्षेत्रसम्म पुग्नको लागि पर्यटकीय पदमार्ग निर्माण गरेका छौ । वडा नं. १ को व्याँस ऋषिको तपश्या गरेको ठाउँ व्याँस गुफासम्म जाने बाटो निर्माण सिनाको तातोपानि संरक्षण गर्न तातोपानि पोखरी निमार्ण गर्दै छौं ।
विद्युत र सञ्चार क्षेत्रमा के कस्तो काम गर्नुभयो ?
हामीले निर्वाचनको बेला नै व्याँसमा गुणस्तरीय सञ्चार सेवा बनाउने भनेका थियौं र स्थानीय तहको निर्वाचनमा हामी बिजयी भइसकेपछि व्याँसको वडा नं.६ को दाम्दाकोट र वडा नं.२ को रिपुधारमा टेलिकमको टावर निर्माण गरि नमस्ते फोन सेवा सुचारु भएको छ । वडा नं.१ को छाङरुमा नमस्ते टावर निर्माण भैसकेको छ । वडा नं.५ धौलाकोटमा नमस्ते टावर निर्माणको कार्य अगाडि बढेको छ । उज्यालो व्याँस झिलमिलि व्याँस निर्माण गर्न प्रत्येक घरधुरीमा विद्युतको उज्यालो पुर्याउन व्याँसको वडा नं.६ र ५ मा राष्ट्रिय विद्युत् लाइन पुगिसकेको र वडा नं.४ र ३ मा विद्युतीकरण भैरहेको छ । वडा नं.१÷२ मा लघु जलविद्युत छ ।
व्याँस गाउँपालिका भारत र चीनसँग सिमाना जोडिएको गाउँपालिका हो र यहाँ भूमि अतिक्रमण भएको छ । गाउँपालिकाको सीमा सुरक्षाका लागि के कस्ता प्रयास गर्नुभयो ?
अन्तर्राष्ट्रिय सीमासम्बन्धी अधिकार क्षेत्र संघ सरकारको भएकाले हामीले यस सम्बन्धि समस्या र चुनौतिको बारेमा संघ सरकारलाई पटक पटक जानकारी गराएका छौ । सीमा सुरक्षा गर्ने शसस्त्र प्रहरीको लागी सितापुलमा चेकपोष्ट निर्माण गरेका छांै । सितापुल प्रहरी चौकी र तिङकर प्रहरी चौकी मा फर्निचर निर्माणको लागि यस आ.ब मा १ लाख गाउँपालिका बाट बिनियोजन गरेका छौ ।
चुनावको बेला तपाईंले जनत समक्ष गरेका बाचा पूरा गर्न सक्नु भयो त ?
निर्वाचनको बेला जनतासामू गरेका हरेक वाचाहरु क्रमश पूरा हुँदै छन् । एकै पटक सबै बाचा प्रतिबद्धताहरु पूरा गर्न सकिँदैन तर अर्को पटक जनताको दैलोमा मत माग्न जादासम्म सम्पूर्ण वाचा पूरा गर्छौं ।
अन्त्यमा, तपाईँले गाउँपालिकाबासीलाई भन्नु पर्ने केही छ ?
आम व्याँस बासी आमाबुवा दाजुभाइमा अनुरोध छ कि भने विकास निमार्णका कामहरु क्रमशः हुदैछन् । तपाईसंग गरेका बाचा प्रतिबद्धता अनुसार नै विकास निर्माणका कामअघि बढाएका छौं । समृद्ध व्याँस निर्माणको लागि सम्पूर्ण व्याँसनिवासी जनताको साथ सहयोगको अपेक्षा गरेका छौं ।
-पूजा शर्मा (प्रकृतिप्रेमी)
विश्वव्यापी कोरोना महामारीबीच यस विकराल परिदृश्यलाई पछाडि धकेल्दै राष्ट्रको शक्ति एवं सत्ताको मञ्चमाथि सरकार आफ्नै नाटक मञ्चन गरिरहेको छ । जसले युवाहरुको मनमा राजनीतिप्रति गहिरो वितृष्णा पैदा गरेको छ । बहुमतको सरकारले संघीय गणतन्त्रको प्रभावकारीता पुनःस्थापना गर्न सकिरहेको छैन । समृद्धि र स्थायित्वको नारा बोकेर अहिलेको सरकार तानाशाही प्रवृत्तिमा चलेको छ । जनतालाई सपना त दियो तर, काम दिएन । परिणाम दिएन न त समृद्धि दियो न त सुशासन नै ।
देशले बहुमतको सरकार पायो, विभिन्न समयमा फरक–फरक नेतृत्व पायो र पनि इमान्दारीता साथ विकास र समृद्धिमा समर्पित हुने नयाँ नेतृत्व पाएको छैन । अहिलेको देशको नेतृत्वमा ४ दशक मुलुकको राजनीतिक नेतृत्व गर्नेहरूको हालीमुहाली छ । न त नयाँ अनुहार छन् न त नयाँ पुस्ता नेतृत्वमा नै छ । हाम्रो मौलिक राजनीतिक घटनाक्रमले यस्तै नेतृत्व निर्माण गर्यो र जब त्यो वर्ग सत्तामा पुग्यो, तब विज्ञ र दक्षहरूको परामर्शमा नीति निर्माण गर्ने साेंच बनाएन । आफू अनुकुल काम गरेर मनोमानी गर्ने परिपाटी निर्माण भयो । पटक–पटक मुलुकको साँचो दिँदा पनि परिणाममुखी नतिजा ल्याउन नसकेपछि कसरी बन्छ समृद्ध देश ?
राजनीति अनि समाज परिवर्तनको हकदार युवापुस्ता हुन् । जिम्मेवारी युवाकै हो । अब अभिभावक बनेर पुरानो पुस्ताले बुढो काधबाट निकालेर देशको नेतृत्व युवाको बलियो काँधमा सुम्पिनुपर्छ किनभने नयाँ पुस्ताको नेतृत्व अबको आवश्यकता हो ।
आजसम्म पनि नेतृत्वको आकांक्षी भनिएका नेताहरुलाई मोर्चाबन्दी गर्नु, आफ्नै तर्कमाथि पार्नु, उच्च तहका नेता रिझाउनु नै राजनीति हो भन्ने लागेको छ । उनिहरुले टिकट पनि पाई नै रहेका छन् । उनीहरुलाई लाग्छ नेता बन्ने तरिकै यहि हो । केवल भीडको लहडमाथि मात्र आफूँ हावी हुन खोज्ने अवसरवादीहरुको हातमा देशको नेतृत्व हुनुले देश अग्रगमनमा जान नसकेको जगजाहेर छ ।
अब ६० पुगेकालाई आराम गर्न लगाउनु पर्छ, उहाँहरुले युवाहरुलाई अभिभावकत्व दिनुपर्छ । कुसंस्कारको परम्परा तोड्ने साहस अब नयाँ पुस्ताले गर्नैपर्छ किनभने यहि प्रवृत्ति रहिराख्यो भने देश अझै अध्ँयारोमा भास्सिने निश्चित छ । अब नयाँ विधि र विधान सहित पृथक संगठन चाहिन्छ, जसले सिङ्गो देशलाई ह्यान्डलिङ गर्ने सामाथ्र्य राखोस् । हो, त्यसैले मलाई विकास अनि समृद्धिको राजनीति नेतृत्व गर्नुछ, मलाई राजनीतिक सक्रियता मात्रै राजनीति हो भन्ने सोच र परिभाषा बदल्नुछ ।
युवाहरु परिवर्तनका संवाहक हुन् । सोंच परिवर्तन गरे मात्रै समाज परिवर्तन हुनेछ । देश समाजप्रती स्वच्छ उदार भावना राख्दै देशमा रहेका आम नागरिकको तनाव रहित भबिस्य सुरक्षीत गर्दै दिगो बिकासमा अग्रसर हुन सक्नु नै एउटा असल नेताको खुबि हो । हेक्का राख्नुस् सम्मुनत राष्ट्र प्रगतिशील सोंचले बनाउँछ । परम्परागत र ‘डेट एक्स्पायर’ भैसकेको ‘आइडिया’ले होइन ।
मैंले यसो भन्दै गर्दा समाजका अराजक, विकास विरोधीलाई चिडचिड लाग्नसक्छ । उनिहरुले युवाहरु अल्लारे हुन्छन्, युवा वर्गमा अनुभव तथा विज्ञता तथा नेतृत्व गर्न सक्ने क्षमता हुँदैनन् भन्ने तर्कहरु दिन सक्छन् । देश र समाज सेवाका लागि अनुभव मात्र भएर पुग्दैन, नवीनतम साेंच धैर्यता, साहस, इच्छाशक्ति पनि चाहिन्छ । सँगै उर्जा चाहिन्छ । कालो र सेतो कोट लगाउँदैमा वकिल र डाक्टर, गोरु जोत्दैमा हलि बनिदैन । राजनीतिक सक्रियता हुँदैमा मात्र नेता बनिदैन । नेता त समय सापेक्ष विचार दिने र मार्गनिर्देशन गर्न सक्ने हुनुपर्छ । हाम्रो देशलाई स्पष्टताका साथ सहि मार्गमा हिडाउन सक्ने क्षमतावान नेतृत्व चाहिएको छ । हो त्यसैले म मेरो पुस्ताको नेतृत्व गर्दै राजनीतिक नेतृत्व गर्न चाहन्छु, यहिँ होमिन चाहान्छु ।
लामो समयदेखि राजनीतिमा संघर्ष गरेर आएका महिलाहरु ओझेलमा परेका छन । संविधान, आन्दोलन र परिवर्तनले दिएको भए पनि त्यो नै अलमलमा छ । संविधान र दलका कानूनी व्यवस्थाले भने पनि माथिदेखि तलसम्मका महिला कोटा भए पनि तिनको कार्यन्वायन नगरी उपेक्षा गरिएको छ । समाजले निर्धारण गरेको मूल्यमान्यतालाई व्यवहारमा उतार्ने क्रममा पितृसत्तात्मक सोंचको आधारमा व्यवहार गर्ने गरेको देखिन्छ । यस्तो बेलामा एउटा बलियो प्रतिरोधी शक्ति भनेको राजनीतिमा महिलाको उपस्थिति हो । म तिनै महिलाको नेतृत्व गर्न चाहान्छु ।
नेतृत्वको भूमिका यस्तै संवेदनशील विषय र क्षणहरूमा अपरिहार्य हुन्छ । युवाहरुमा जिम्मेवारी र जवाफदेहिताको खाँचो छ । म यहि खाडललाई पुर्न चाहान्छु । अग्रगामी समाजका निम्ति सही मुद्दामा समाजलाई परिचालन गर्दै चेतना र अवचेतनाको निर्माण गर्नु नेतृत्वको जिम्मेवारी हो । त्यसैले म रचनात्मकताको नेतृत्व गर्न चाहान्छु । धेरै वर्ष कोही आएर देशको नेतृत्व लिएर देशको विकास गर्छ कि, निकास दिन्छ कि, भनेर कुरियो । आँखाहरुले निराशा मात्रै पाए । कानहरुले उहीँ पुरानो शैलिका भाषण सुने । अपेक्षा थकित भयो, त्यसैले अब आफैं अघि बढेर अघिल्लो पुस्ताको नेतृत्वलाई चुनौती दिने बेला आएको महशुस भैरहेको छ । विकल्प कुर्दै बस्ने होइन, विकल्प बन्ने बेला भएको छ । अब म जस्तो युवा मैदानमा आउनु बाहेकको विकल्प छैन । मेरो पुस्ताले आउदो चुनावमा क्षमता र योग्यता हेरेर जनप्रतिनिधि चुन्नेछन, जहाँ म पनि उभिएको हुनेछु ।
एउटा कुशल नेतृत्वले दुरदृष्टि राख्दै बिकास निर्माणका क्रियाकलापमा अग्रता देखाउनु पर्दछ । उसको जीवनमा सफलता उच्च पद होइन, अर्थात् उस्ले पदको कसरी सदुपयोग ग¥र्याे, भुमिकालाई कति न्याय गर्यो र कस्ता काम गर्यो भन्ने कुरा हो । भ्रष्टाचारको अन्त्य गर्ने संकल्प गरौं । सबै प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक नियुक्ति पाउनेहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरौं । हो अब नयाँ पुस्ताले लुटतन्त्रको अन्त्य र नयाँ लोकतन्त्र निर्माण गर्नैपर्छ ।
मैंले धेरै युवाको प्रतिनिधित्व गर्नुछ, उनिहरुको आवाज बन्नुछ । राजनीति फोहोरी खेल ठान्ने मानिसलाई सफाइ गरेर देखाउनुछ । मैले धेरै युवाहरूलाई राजनीतिमा आउन प्रेरित गर्नुछ । राजनीतिक स्थायित्व देशलाई दिने र जनताका समृद्धिका आकान्क्षाहरु पूरा गर्न अपरिहार्य छ, र हाम्रो देशलाई अन्तर्राष्ट्रिय समुदायमा एउटा स्वघोषित र स्वाभिमानि राष्ट्रको रूपमा चिनाउनु छ । जसको जिम्मेवारी हाम्रो काँधमा अएको छ । हो, म मा राजनीतिलाई निरन्तरता दिने आँट, सहास र इच्छाशक्ति छ । मैले बितेको केही बर्षदेखि आफ्नो उर्जावान समय देश र जनताकै सेवामा खर्चिदै आएकी छु । अब जिन्दगीको बाकी समय पनि राजनीतिमै समर्पित गर्नेछु । मेरो लागि राजनीति युद्धभूमि हो, यसैमा होमिन चाहन्छु । हो म राजनीतिक नेतृत्व गर्नेछु । यो मेरो राजनीतिक निष्ठा हो, सपना हो, अठोट हो ।
भनिन्छ नी, युवा निदाए, देश निदाउँछ । हो, हाम्रा नेताहरू निदाएका छन् । निदाएझैं नाटक गरिरहेका छन् । अब हामी युवाहरू मिलेर निदाइरहेको देश ब्युँझाउनुपर्छ, जगाउनुपर्छ र निराशाहरु चिर्दा आशाका किरणहरु फैलाउने भूमिकामा लाग्नुपर्छ । मेरो देशको सुन्दर भविष्यका निम्ति म अनि मेरो पुस्ता राजनीतिमा आउनैपर्छ ।
(लेखिका शर्मा नेवि संघसँग आबद्ध छिन्)
-नारायण शर्मा
संसद पुनर्बहाली दीपावली
करिब साढे दुुई महिनाको भीषण राजनैतिक तथा संवैधानिक लडाइँपछि केपी ओलीद्वारा विघटन गरिएको संसद सर्वोच्चको आदेशसँगै पुनर्बहाली भयो । पुनर्बहालीको खुशीमा देशैभरि दीपावली पनि गरिए । पुरानै सत्ता, पद, पावर, विधि र व्यवस्थाको बहाली भएकोमा खुशियाली मनाइयो । साथै लड्डु पनि खाइयो अनि खुवाइयो । संक्षिप्तमा भन्नुपर्दा प्रतिगमन उन्मुख नेपाली राजनीतिलाई संसदवादी यथास्थितिमै फर्काउन सकेकोमा ठूलो खुशियाली मनाइएको छ ।
सत्ताको वरिपरि रहेका ठूला–ठूला पार्टी र तिनका नेताहरुमा आएको वैचारिक, राजनीतिक तथा सांस्कृतिक विचलनका कारण मुलुकमा शक्ति केन्द्रको हालिमुहाली गर्ने स्थिति बनेको छ । यो अवस्थामा देशले सहि गति लिन्छ भन्ने आशा, अपेक्षा र विश्वासले मानिसहरुका दिलदिमाग भरिएका छन् । यसक्रममा हाल संसदीय सत्ताका आधारहरु संविधानवाद, संवैधानिक सर्वोच्चता र संसदवादलाई केही हदसम्म संरक्षण, सम्र्बद्धन, सुदृढ र सबल बनाएको भनी अलि बढी नै डङ्का पिटिएको अवस्था हो ।
अहिले आफैँमा असफल र अफाप सिद्ध भैसकेको संसदीय सत्तालाई कसरी सफल बनाउने भन्ने चिन्ताले संसदीय व्यवस्थाका हिमायतीहरु पिरलोमा छन् । योबीचमा तीनै हिमायतीबीच किचलो र लुछाचुँडी पनि बढेको देखिन्छ । यो वातावरणलाई थोरै सङ्लाएर शान्त पार्दै संसदीय व्यवस्थाका सम्बद्र्धन र सुदृढीकरण गर्ने पनि कोशिस भईरहेको छ ।
झुटा आश्वासन र प्रतिगामीहरुको चलखेल
यसदौरानमा परिवर्तनकारी जनतालाई भ्रमपूर्ण विश्वास बढाइएको छ – संसदको पुनस्र्थापनाद्वारा अब प्रतिगमन र प्रतिक्रान्ती रोकिएको छ । उनीहरुलाई आशा र अपेक्षा देखाइएको थियो – अब देशमा अग्रगमनको ढोका खुल्नेछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा समस्याहरु छिट्टै समाधान हुनेछन् । देशभित्रै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत र मौलिक हकको सुनिश्चितता गरिनेछ । राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरुको समुचित र सुव्यस्थित संरक्षण गरिनेछ । अब देशमा सुशासन, सुव्यवस्था, सुखशान्ति र समृद्धिको आधार खडा हुनेछ । सँगसँगै देशमा दिगो शासन व्यवस्थाको सुुरुवाती भएको छ ।
यस्तै आशा, अपेक्षा र विश्वासरुपी मृगतृष्णामा नेपाली जनतालाई फेरि पनि दिन खोजिएको छ । जुन विश्वास दिलाउने खेलका बीच आन्तरिक तथा बाह्य संसदवादी शक्तिकेन्द्रहरुले आ–आफ्ना कुत्सित स्वार्थहरु पूरा गर्ने दाउपेच र चलखेल पनि गर्दैछन् ।
घोषित रुपमै ‘गोटी’ बने ओली र प्रचण्ड
यसमाथि थप बिडम्बना जनयुद्धको नेतृत्व गरेर आएका माओवादीका सर्वोच्च कमाण्डर प्रचण्डले नेकपाको छँदाखाँदाको सरकार गिराउन मरिहत्ते गरेका छन् । नेकपाका एक नम्बर अध्यक्ष भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन संसदमा निकै मूर्खतापूर्ण दुश्साहस गरिरहेका छ । उनका कुकर्महरु वैदेशिक शक्तिकेन्द्रहरुका सुझाब, दवाब, षड्यन्त्र र डिजाइनमा भएका स्पष्ट नै छन् । एमसीसी सम्झौता पास गराएर एकैसाथ अमेरिकी र भारतीय शासक वर्ग खुसी बनाउन उनी लागेका छन् । उनीमाथि हिन्दूवादी मोदीको उक्साहटमा आएर पार्टी नै फोड्ने मूर्खतापूर्ण दुस्साहस गरेको आरोप छ । यता भारतीय स्थायी सरकार (रअ) तथा विपक्षी कांग्रेसको डिजाइनमा प्रचण्ड–माधव समूह लागेको आरोप छ ।
एउटा ज्यादै नै लज्जास्पद कुरा, घोषित प्रतिगामी, प्रतिकृयावादी शक्तिहरुको संरक्षण र सम्बद्र्धन गर्दै प्रधानमन्त्री ओली सत्ता टिकाउने खेलमा लागेका छन् । अमेरिकी र भारतीयहरुलाई ‘कम्र्फटेबल’ हुने गरी तिनका दलाल शक्तिहरुसित मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड–माधवहरुले खुलेआम आव्हान गरेका छन् । त्यसमाथी थप विचित्र बिडम्बना, यसप्रकारका गतिविधिहरुलाई पनि पार्टीभित्रका क्रान्तिकारी र राष्ट्रवादी भनिएका नेताहरुले तर्क, वितर्क र कुतर्क गरेर पक्षपोषणमा गर्न लागेका छन् । जसप्रति उनीहरुले गर्व र गौरव पनि गरिरहेका छन् । सत्ता, भत्ताको, सुख र सुविधाको प्रलोभनमा परेपछि यी बौद्धिक र स्वच्छ ठानिएका नेताहरु समेत दलालमा परिणत हुने रहेनछन् भन्ने देखिएको छ । स्पष्ट छ, यो एउटा दुःखद आश्चर्य नै हो ।
केपी ओली र उनको गुटको कथित राष्ट्रवाद र क्रान्तिकारीता नक्कली हो भनी तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा यो लेखक स्वयंले भनिरहँदा किंचित पनि सुन्ने गरिएन । यस्तो राजनीतिक र वैचारिक स्पष्टता नभै, क्रान्तिकारी सिद्धान्त र राजनीतिबाट झन् पछि झन् तल गलत दिशातर्फ उन्मुुख बनाईयो । देशमा छरिएर रहेका नेकपा (क्रान्तिकारी माओवादी), नेकपा विप्लव समूह, नेपाल मजदुर किसान पार्टी र नेकपा मसाललगायतका तुलनात्मक रुपले बढी क्रान्तिकारी, देशभक्त र सिद्धान्तनिष्ठ शक्तिहरुसँग एक भएर मात्र तत्कालीन एमालेसँग पार्टी एकता गर्नु उपयुक्त हुने धेरै नेताहरुको सुुझाब थियो । पार्टी केन्द्रीय कार्यालयको बैठकमै बारम्बार यस विषयलाई उठाइएको थियो । तर, आफ्नो पद, प्रतिष्ठा र पावर प्राप्तिको लागि मुर्खतापूर्णं रुपले प्रचण्डले एकता गरे ।
दशबर्षे महान् युद्ध र क्रान्तिका बेला सत्य र न्यायको लागि अघि बढ्न प्रशिक्षण र निर्देशन दिने महामहिम प्रचण्ड आज एकता र शान्तिका बेला संसदीय सत्ता र शक्तिको लागि अरुकै लागि कम्फर्टेबल हुने सरकार निर्माणतिर लागे । भारतीय विस्तारवादको लागि कम्फर्टेबल हुने गरी घोषित रुपमै नेपालमा सरकार बनाउने प्रयासमा जुट्ने हदसम्म गिर्नु प्रचण्डसहित पेरिफेरिका झलनाथ, माधव, भीम रावलजस्ताको लागि लज्जास्पद छ । उनीहरु एमसीसी पास गर्नु हँुदैन भनी कुर्लन्थे तर, आज एमसीसी पास गर्नैपर्छ भनेर चिच्याईरहेका छन् । एकैसाथ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चर्को चाकरी गर्नु वामपन्थी राजनीतिक संसारमै सायद पहिलो दुःखद बिडम्बना होला । यसैगरी समाजवाद–साम्यवादका निम्ति वर्ग शत्रु सफाया गर्दै अघि बढ्दा १४ वर्ष जेल बसेर नझुकेका र नचुकेका केपी ओली अहिले शक्तिशाली प्रधानमन्त्री भएको बेला साम्राज्यवादी–विस्तारवादीको गलत प्रलोभन र आश्वासनमा फसेर आफ्नो नेतृत्वको शक्तिशाली पार्टी र सरकारलाई नै धरापमा पारेका छन् । आफ्नो इच्छा र अहंकारको तुष्टीकरण गर्न खोज्नु संसारमै मूर्खताको पराकाष्ठाको एउटा नमुना नै होला ।
यी दुई नेता र यिनका गुटका यसप्रकारका निचतम कृयाकलापहरुका कारण संसदको पुनर्बहालीपछी खुसी सेलाउन नपाउँदै यसले जगाएको आशा र अपेक्षामा पुनः झन् ठुलो कुठाराघात भएको बिडम्बनापूर्ण अवस्था उत्पन्न भएको छ । तथापी सच्चा इमान्दार, देशभक्त र स्वाभिमानी कम्युनिस्ट क्रान्तिकारीहरु यसप्रकारका नीति, नियत र नेतृत्वका विरुद्धमा निरन्तर संघर्ष गर्दै क्रान्ती र मुक्तिको यात्रामा अथक रुपमा लागिरहनु नै पर्दछ । अनिमात्र उपरोक्त धोका र विश्वासघातको बढ्दो बिडम्बनापूर्ण कुठाराघातलाई रोकेर स्वतन्त्र, स्वाभिमान र समुन्नत समाजवादी नेपाल र सक्षम, सुखी र समृद्ध नेपाली बनाउन सकिन्छ ।
काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाले निकास दियो भनिरहँदा देश थप अन्यौंलता तर्फ गएको देखिएको छ । संसदमा सत्ता समिकरणका लागि निकै फोहोरी खालका खेलहरु सुरु हुन थालेको आभाष पछिल्ला गतिविधिले देखिएको छ ।
यस्तोमा निर्णायक अवस्थामा देखिएको नेपाली कांग्रेसको भूमिका के हुुने भन्ने कुरा प्रश्नमा आएको छ । राजनीतिक अन्यौंलताका बीच कांग्रेसको आगामी भूमिकाबारे मध्यान्ह दैनिकले नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तसँग केहि जिज्ञासा राखेको छ । नेतृ संग्रौलासँग गरिएको छोटो संवादको सम्पादित अंश :
सर्वोच्चको फैसलाले निकास दियो भनेर भनिरहँदा देश थप अन्यौंलतातर्फ गएको देखिन्छ । पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई हामीले असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भनेका थियौं । हामीले उहााको कदमलाई अधिनायकावाद तर्फ उन्मुख पनि भनेका थियौं । उक्त कदम खारेज हुनुपर्छ भनेर हामीले आन्दोलन पनि चलायौं । अहिले सर्वोच्च अदालतले उक्त कदम खारेज गरेको छ । जुन निर्णयलाई हामीले स्वागत गरेका छौं ।
हाम्रो बुुझाई, सर्वोच्चको फैसलाले संविधानलाई सहि ट्र्याकमा ल्याएको छ । मुलुकको राजनीति सहि ठाउँमा आएको छ । अब यही बाटोबाट नै राजनीतिक समस्याहरुको समाधान खोजिनुपर्छ । संसद भनेको जनताको थलो हो । यसलाई अन्यौंलता भनेर बुुझ्न मिल्दैन् । हामी सहि ठाउँमा आएका छौं । अब संसदबाट विवादको निकास खोज्नुपर्छ । समाधान खोजिनुपर्छ ।
नेकपा विभाजनसँगै संसदमा कुनै पनि पार्टीसँग बहुमत रहने अवस्था छैन् । सरकार नयाँ समीकरणबाट निर्माण गर्नुुपर्ने अवस्था छ । फेरि राजनीतिक उस्तै फोहोरी ट्र्याकमा गयो भन्ने छ । यसलाई कसरी हेर्नुुभएको छ ?
हामीसँग जे अवस्था छ, त्यहिँबाट नै निकास खोज्ने कुरा हुन्छ । यस्तो अवस्थामा सबै दलहरु जिम्मेवारपूर्णं रुपले अगाडि बढ्नुपर्छ ।
हामीले हिजोको कदमलाई सच्याउन जसरी संघर्ष गर्यौं त्यसरी नै समस्याको निकास दिन सहकार्य गर्नुपर्छ । राजनीतिक दलहरुबीच सहकार्य नभई निकास सम्भव छैन् ।
हामी पार्टीको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमार्फत आगामी कदमबारे निर्णय लिन्छौं । हामी लोकतान्त्रिक ढंगले अगाडि जाने कुरामा प्रतिबद्ध छौं । जनतालाई अधिकार दिलाउने कुरामा हामीले अरुसँग सम्झौता गर्न सक्दैनौं । देशले निकास पाउँछ, अन्यौंलतामा जाँदैन् ।
प्रधानमन्त्री ओलीलाई तानाशाही, निरंकुश, अधिनायकवादी भन्दै कांग्रेस सडकमा निस्किएको थियो । सडक आन्दोलनका क्रममा कांग्रेसले ओलीको विकल्प खोज्नुपर्ने पनि बताएको थियो । अब कांग्रेस कसरी अगाडि बढ्छ ?
यसको विषयमा व्यक्तिविच्छे, नेताविच्छे फरक–फरक धारणा हुनसक्छ । कांग्रेसको संसदीय दलको बैठक छिट्टै हुँदैछ । दलको बैठक लगत्तै हामी केन्द्रीय समिति बैठक पनि बसाल्दै छौं । संसदीय दलको सुुझाबका आधारमा केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्छ ।
हामीले जब प्रधानमन्त्रीको कदमलाई अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी भन्यौं भने त्यसैको लागि आन्दोलन गर्ने कांग्रेसले निकास त खोज्नै पर्ला नि !
तपाईँ स्वंय पनि आन्दोलनको नेतृत्व गर्दै विभिन्न ठाउँमा पुुग्नुभएको थियो । तपाईँलाई के लाग्छ, अबको निकास कसरी लिने ?
हो म एक महिनासम्म प्रधानमन्त्रीको कदमविरुद्व सडक संघर्षमा थिएँ । तर, यहाँ व्यक्तिगत विचारले पार्टी अगाडि बढ्ने कुरा हुन्न । मेरो विचारमा हाम्रो पार्टीले जनताको भावनाअनुसार निकास दिनेछ । जसको लागि आन्दोलन गर्यौं, त्यो समस्याको निकासका लागि हामी प्रतिबद्ध हुनैपर्छ ।
जसको कदमका विरुद्वमा हामी सडकमा पुुगेका थियौं, उसको कदम अदालतले सच्याउँदा पनि ऊ सत्तामा टिकिरहेको अवस्था छ । उसँग सामान्य नैतिकता पनि देखिएको छैन् । उसमा निकै सत्ता लिप्सा देखिएको छ । यो अलोकतान्त्रिक सोंचको निकास हामीले दिनैपर्छ । कांग्रेस सधैं समस्यामा निकास दिने पार्टी हो । यसमा कांग्रेसले निकास दिन्छ ।
प्रधानमन्त्री ओली फेरि मेरै नेतृत्वमा सरकार बन्छ भनिरहनुु भएको छ । उहाँले पूूर्णं विश्वासका साथ कांग्रेसले पनि साथ दिने बताईरहनुु भएको छ । उहाँ निकटकाले आफ्नो पक्षमा सांसदहरु प्रत्येक दिन थपिईरहेको बताएका छन् । पछिल्ला गतिविधिले निकै अन्यौंलता थपेको छ । तपाईँको बुुझाई के हो ?
अहिले नेकपाका सांसदहरु बाटाबाटै समातेर लगेको भनेर समाचारहरु आईरहेका छन् । सत्तामा बस्नेले निकै फोहोरी खेल खेल्न खोजेजस्तो देखिएको छ । यसअघि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा पनि रातारात सांसदहरु अपहरण गरिएका थिए । यस्तो अवस्थामा राजनीतिलाई सहि ट्र्याकमा ल्याउन कांग्रेसले भूमिका खेल्छ । गलत तत्वलाई किनारा नलगाई राजनीति सहि ठाउँमा आउँदैन् भन्ने कुरामा हामी स्पष्ट छौं । अहिले हामी प्रतिपक्षमा छ । हाम्रो भूमिका सक्दो शसक्त बनाउने भन्ने हुुन्छ । अहिलेको अवस्थामा देशलाई यत्तिकै बन्धक बनाएर जान मिल्दैन् । हामी निकास खोज्छौं ।
स्पष्ट भनिदिनुस न, कांग्रेस ओली सरकारसँग सहकार्य गरेर जान्छ कि जाँदैन् ?
प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने कुरा तत्काल सम्भव छैन् । उहाँको कदम गलत भयो भनेर हामी महिनौंसम्म सडकमा निस्कियौं । फेरि सहकार्य गर्ने कुरा सोंच्न सकिन्न । हिजो पनि हामी संसद पुनर्स्थापना हुनुुपर्छ भनेर स्पष्ट रुपमा आन्दोलनमा थियौं । थप यसबारे दलले निर्णय गर्छ । यहाँ कुनै एक नेताको निर्णय सर्वमान्य हुँदैन् । हामीले भोलीसम्मको अवस्थालाई हेरेर निर्णय लिन्छौं । भोली फेरि जनतामा जाने कुरालाई हामीले ध्यान दिनेछौं । हामी जिम्मेवार बन्नैपर्छ । फोहोरी खेलबाट देशलाई मुुक्त गर्छौं ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies