एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको मुद्दा सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले केही स्थानमा उर्जा उत्खननमा प्रतिबन्ध लगाउनेसहितका आदेश जारी गरेका हुन् ।
आदेश जारी गर्दै बाइडेनले जलवायु परिवर्तनका कारण सिर्जित संकट समाधानका लागि अमेरिकाले विश्वको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
कोरोना महामारीका लागि जस्तै जलवायु संकट समाधानका लागि पनि एकीकृत राष्ट्रिय नीति र प्रक्रियाहरु आवश्यक रहेको उनले बताएका छन् ।
२०३० सम्ममा हावाबाट उत्पादन हुने उर्जालाई दोब्बर पार्ने र नयाँ तेल तथा ग्यासका लागि सार्वजनिक जमिनको प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा पनि गरिएको छ ।
ह्वाइट हाउसमा जलवायु परिवर्तनका सम्बन्धमा आन्तरिक रणनीतिका लागि कार्यालय स्थापना गर्ने तथा आउँदो अप्रिलमा नेताहरुको सम्मेलन गर्ने घोषणा पनि गरेका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वातावरणीय सुरक्षालाई कटौती गरेर उर्जा उत्पादनलाई बढावा दिएपनि बाइडेनले त्यसमा रोक लगाएका हुन् । उर्जा कम्पनीले बाइडेनको नयाँ आदेशको प्रतिवाद गर्ने सम्भावना रहेको छ ।
एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टोलिफोन वार्ता भएको छ । वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना समकक्षी पुटिनलाई चुनावी हस्तक्षपका विषयमा चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै बाइडेन र पुटिनबीच हाल रुसमा भइरहेको विपक्षीको विरोध प्रदर्शनका विषयमा पनि छलफल भएको बताइएको छ । यस्तै अमेरिका र रुसबीच परमाणु हतियारका सम्बन्धमा भएको सम्झौतालाई कायम राख्नेबारे पनि उनीहरुबीच छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
बाइडेन र पुटिनबीच अफ्गानिस्तानमा रहेका अमेरिकी सेनामाथि रूसले मूल्य तोकेको भन्ने खबरका विषयमा पनि छलफल भएको थियो । अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला र एलेस्की नभाल्नीमाथि भएको विषहमलाका विषयमा समेत उनीहरुबीच छलफल भएको बताइएको छ ।
बाइडेनले राष्ट्रपतिको पदभार सम्हालेपछि पुटिनसँग पहिलोपटक टेलिफोन वार्ता गरेका हुन् । टेलिफोन वार्तामा पुटिनले बाइडेनलाई अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका थिए । उनीहरुबीच सम्पर्क तथा सम्बन्ध कायम राख्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
एजेन्सी : अमेरिकी औषधी उत्पादक मोडेर्नाको खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै संक्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको छ ।
प्रारम्भिकरूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका नयाँ प्रकार पहिचान गर्न र लड्नका लागि खोपले प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो । थप अध्ययन भने खोप लगाएका मानिसमै गर्नुपर्ने मोडेर्नाले जनाएको छ ।
अनुसन्धानकर्ताहरूले खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूना जाँच गरेका थिए । निष्कर्षको वैज्ञानिक समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो ।
केही सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले पनि नयाँ प्रकारको कोरोनावाट जोगाउने देखाएको थियो । दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ ।
कोरोनाको नयाँ प्रकार ५० भन्दा बढी देशमा फैलिसकेको छ । सेप्टेम्बरमा बेलायत फैलिएको सो नयाँ प्रकार ७० प्रतिसतसम्म थप संक्रामक पाइएको छ ।
एजेन्सी : भारत र चीनका सैनिकबीच सिक्किममा झडप भएको छ । चिनियाँ सेनाले नियन्त्रण रेखा ‘एलएसी’ मिच्ने कोशिस गरेपछि दुई देशका सैनिकविच झडप भएको हो ।
झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए ।
यसक्रममा चीन र भारतका सैनिकबीच भएको बताइएको छ । अहिले स्थिति तनावपूर्ण रहेपनि स्थिर छ । सिमामा मौसम खराब भएपनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
एजेन्सी : भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीया किशोरीलाई आज एकदिनका लागि मुख्यमन्त्री बनाइएको छ । राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाइएको हो ।
प्रतिकात्मक रूपमा हुने कार्यक्रम अन्तर्गत उनले बाल विधानसभा सत्रमा मुख्यमन्त्रीका रुपमा सरकारको र अन्य विभागहरुको कामको बारेमा जानकारी लिनेछिन् ।
यसक्रममा उनलाई मुख्यमन्त्रीकै रुपमा मानेर सरकारका विभागीय प्रमुखले आ–आफ्नो कामको प्रस्तुति दिनेछन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि यस कार्यक्रममा सहभागी हुनेछन् ।
सृष्टिले सामाजिक सन्जालमार्फत आफूलाई एक दिनको मुख्यमन्त्री बन्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गरेकी छिन् । राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बनेकी हुन् ।
कृषि विषयमा स्नातक गरिरहेकी सृष्टीका पिता गाउँमा सामान्य पसल चलाउँछन् । उत्तराखण्ड बाल संरक्षण आयोगको पहलमा उनलाई मुख्यमन्त्री बनाइएको हो । किशोरीहरुको सशक्तिकरणका लागि जागरुकता फैलाउने उद्देश्यले कार्यक्रम राखिएको हो ।
एजेन्सी : रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको पक्राउको विरोधमा सहभागी हजारौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशव्यापी रुपमा सामाजिक सञ्जालबाट गरिएको आह्वान पछि भएको प्रदर्शनमा सहभागी भएका तीन हजार भन्दा बढी पक्राउ परेका हुन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा भएको यो अहिलेसम्मकै ठूलो प्रदर्शन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले प्रदर्शनअघि नै कयौं विपक्षी नेतालाई पक्राउ गरेको थियो । मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको थियो । चेतावनीबीच पनि मानिसहरु प्रदर्शनमा सहभागी भएका हुन् ।
अघिल्लो आइतवार उपचारपछि जर्मनीबाट स्वदेश फर्केका नाभाल्नीलाई विमानस्थलमा पक्राउ गरेपछि त्यसको अन्तर्राष्ट्रिय समुदायले पनि आलोचना गर्दै आएका छन् ।
गत अगस्टमा ४४ वर्षीय नाभाल्नीलाई स्नायु विषको हमला भएपछि उनी उपचारका लागि जर्मनी पुगेका थिए । त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नाभाल्नी अचेत भएका थिए । त्यसमा पुटिनको हात रहेको आरोप उनले लगाउदै आएका छन् ।
तर रुस सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ । गिरफ्तारीको विरोधमा ६० शहरमा प्रदर्शन हुने अनुमान गरिएको छ ।
नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक हुन् । उनलाई भ्रष्ट्राचार विरोधी अभियानकर्ताको रुपमा समेत चिनिन्छ ।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए । तर सरकारले उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिएको थिएन । सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा विजयी समेत भएका थिए ।
एजेन्सी : भारतस्थित विश्वकै ठुलो औषधि उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भएको आगलागीमा हजार करोड भारतीय रुपैया बराबरको क्षति भएको छ ।
सिरमका कार्यकारी अधिकृत अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका हुन् । आगलागीवाट कोरोनाविरुद्ध खोप उत्पादन र आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले बताएका छन् ।
कोरोना खोप धेरै कारखानाबाट बनारहेकाले आगलागीले असर नपर्ने भएको हो । बीसीजी खोपको आपूर्तिमा भने समस्या हुने उनले जानकारी दिएका छन् ।
कम्पनीमा आगलागी हुँदा पाँच जनाको मृत्यु समेत भएको थियो । सिरमले आगलागीमा मृत्यु भएका पाँच जनाको परिवारलाइर्ए जनही २५ लाख उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
एजेन्सी : बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै खतरानाक रहेको प्रारम्भिक अध्ययनले देखाएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको भन्दै सतर्क रहन आग्रह गरेका हुन् ।
पछिल्लो अध्ययनले तीव्र गतिमा संक्रमण फैलिनेसँगै नयाँ प्रकारको भाइरसका कारण हुने मृत्युदर पनि अधिक हुन सक्ने देखिएको उनको भनाइ छ ।
नयाँ स्वरुपको भाइरसको संक्रमणपछि प्रति एक सयमध्ये १४ जनासम्मको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।
खोप प्रभावकारी भएपनि नयाँ स्वरुपको भाइरसको संक्रमण दर तीव्र रहेकाले बेलायतमा मृत्युदर अझै बढ्नसक्ने जोनसनले बताए । बैज्ञानिकहरुले भने यसमा थप अनुसन्धानको खाँचो रहेको र खतराको तह स्पष्ट हुन बाँकी रहेको बताएका छन् ।
कोरोना भाइरसविरुद्ध विकास भएका खोपले नै नयाँ भाइरसका लागि काम गर्ने उनीहरुको भनाइ छ । बेलायतमा हालसम्म ३५ लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणवाट ९५ हजार नौ सय भन्दा बढीको मृत्यु भएको छ ।
एजेन्सी : कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ ।
सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो । आगो निभाउन १० वटाभन्दा बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ । सेरमले भारतमा अक्सफोर्ड एस्टाजेनेकाले विकास गरेको कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको छ ।
बिहीबार नेपाल आएको १० लाख डोज खोप पनि उसले बनाएको हो । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो ।
एजेन्सी : अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडेनले शपथ लिएका छन् । नोभेम्बर तीनमा भएको निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित बाइडेनले पूर्व निर्धारित कार्यक्रम अनुसार बुधवार अमेरिकी संसद् भवनमा शपथ ग्रहण गरेका हुन् ।
बाइडेनले जम्मा ३५ शब्दको शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाइडेन अघि अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले पनि पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।
कोरोना महामारीका कारण शपथ कार्यक्रम सामान्य बनाइएको थियो । शपथ समारोहमा एक हजार दुई सय मानिस स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सहभागि भएका थिए ।
बाइडेनको जित प्रमाणित गर्न आयोजित संसद बैठकमा ट्रम्प समर्थकले आक्रमण गर्दा प्रहरी सहित पाँच जनाको मृत्यु भएकाले शपथ समारोहमा सुरक्षा सतर्कता बढाइएको थियो ।
शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका थिए । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले पचासवटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बाइडनले उल्ट्याए ट्रम्पका नीति
बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम थालेका छन् । शपथ ग्रहणको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर काम थालेका हुन् ।
राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् । बाइडेनले जारी गरेको कार्यकारी आदेशमा संघीय सरकारका भवन तथा कार्यालयहरुमा मास्क लगाउन अनिर्वाय गरिएको छ ।
यस्तै उनले एक सय दिनका लागि मास्क च्यालेन्जको घोषणा गरेका छन् । विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा पनि उनले हस्ताक्षर गरेका छन् ।
बाइडेनले मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्ने आदेशपनि जारी गरेका छन् । गम्भिर चुनौतीहरु रहेकाले समय खेर नफाल्ने बाइडेनले बताएका छन् । उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताएका थिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies