प्रदेशसभा निर्वाचन सम्पन्न भएको दुई वर्ष पछाडि प्रदेश–३, को नामकरण र राजधानी तोकिएको छ । प्रदेशसभाको ११० मध्ये १०५ जनाले प्रदेशको नाम बागमती र राजधानी हेटौडा राख्ने पक्षमा मतदान गरे भने तीन जनाले विपक्षमा मतदान गरेका छन् । आइतबार प्रदेशको राजधानी र नामकरण टुंग्याउने प्रदेशसभा बैठकमा दुई जना सांसद अनुपस्थित भए । प्रदेश–४, ले गण्डकी, प्रदेश–६, ले कर्णाली र प्रदेश–७, ले सूदुरपश्चिम राखिसकेको छ भने यी सवै ठाउँमा अस्थायी राजधानीलाई नै स्थायी तोकिएका छन् । अर्थात्, गण्डकी प्रदेशको राजधानी पोखरा, कर्णालीको राजधानी सुर्खेत र सूदुरपश्चिम प्रदेशको राजधानी धनगढी तोकिएका छन् ।
गण्डकी, कर्णाली र सूदुरपश्चिमकै बाटोमा बागमती प्रदेश पनि हिडेको छ । बागमती प्रदेशले नामकरण भूगोलको पहिचान झल्कनेगरी राखेको छ भने अस्थायी राजधानी हेटौडालाई नै स्थायी गरिएको छ । बाँकी रहेको तीन वटा प्रदेशले नामकरण र राजधानी तोक्न बाँकी छ । प्रदेश–१, प्रदेश–२ र प्रदेश–५ ले नामकरण र राजधानी टुंग्याउन सकेको छैन । नामकरण र राजधानीबारे विवाद कायमै छ । प्रदेश–३ को नामकरण र राजधानी दुवैमा विवाद थियो । तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विवादलाई हल गरेको छ ।
११० मध्ये ८० सांसद रहेको नेकपाले गरेकै निर्णयलाई प्रतिपक्षी दलहरु नेपाली काँग्रेस, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र सांसदले अनुमोदन गरेको छ । राजधानी पहिले तोकिएको ठाउँमा राख्न यी दलहरुबीच सहमति जुट्यो भने नामकरणमा बागमती राख्नेबारे सर्वदलीय सहमति कायम भयो । तीन जना सांसद रहेको विवेकशील दलले भने विपक्षमा मतदान गरेको छ ।
ढिलै भए पनि सहमति जुट्यो, राम्रै भयो । प्रदेश–३ भनिदै आएकोमा अब उप्रान्त संघीय राज्यकै राजधानी उपत्यका रहेको यो प्रदेशलाई अब बागमती भनिनेछ । तर, निर्णय प्रक्रिया जसरी लिइयो, यसमा सत्तारूढकै सांसदहरूकै बिमती थियो । जब, मुख्यमन्त्री डोरमणि पौडेलको अनुनयमा पार्टी केन्द्रले निर्णय गर्यो, सांसद पद जोगाउन सवै सांसदहरु निरीह भएर पार्टी निर्णयको पक्षमा मतदान गरे । यसले नेपालको संविधानको धारा २८८ (२) मा उल्लेख गरिएको प्रदेशसभाको नामकरण र राजधानी प्रदेश संसदले नै गर्ने भन्ने प्रावधान पालना गरेको छैन । अर्का तर्फ राज्यपुनर्संरचना जस्तो गम्भीर विषयमा सामान्य अवस्था जस्तो पार्टी ह्वीपले दीर्घकालीन असर पार्न सक्ने संभावनालाई जिवितै राखिदिएको छ । अझ, संविधान कार्यान्वयन गर्नुपर्ने प्रमुख कार्यभार बोकेको नेकपाबाटै संघीयताको मर्म बिपरीतको काम भएको छ । यसले नेकपा प्रति राम्रो सन्देश गएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies