नेपाल भ्रमण वर्ष–२०२० शुरु भएको पहिलो महिना जनवरीको तेस्रो साता मकवानपुरको पर्यटकीय क्षेत्र दामनमा भारतीय पर्यटक सुतेकै अवस्थामा बेहोस भए । अचेत अवस्थामा भेटिएका आठ जनाको उपचारको क्रममा मृत्यु भएको छ । उनीहरु भारतको केरलाबाट नेपाल घुम्न आएका थिए । तर, उनीहरु सुरक्षित रुपमा स्वदेश फर्कन सकेनन् । १६ जना नेपाल घुम्न आएकोमा चार बालबालिका सहित आठको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, हिटर बालेर सुतेका भारतीय नागरिक निस्सासिएर बेहोस् भएको र उपचारका क्रममा मृत्यु भएको हो ।
यो घटनाबारे थप अनुसन्धान हुने नै छ । तर, यसको सन्देश विश्वव्यापी रुपमा गइसकेको छ । नेपाल भ्रमणमा आएका भारतीय पर्यटक सुरक्षित रुपमा स्वदेश फर्कन सकेनन् । मृतक पर्यटकका परिवार र तिनको देशलाई क्षति त पुगेकै छ, त्यो भन्दा पनि नेपालमा आउने पर्यटकहरुलाई यो घटनाले तर्साएको छ । नेपाल घुम्न आउँदा र बस्दा सुरक्षित नरहेको सन्देश छिमेकी देशहरु सहित अन्य देशमा पनि पुग्न सक्छ । भारत नेपालमा धेरै पर्यटक पठाउने देश हो । त्यसैले आठ जनाको मृत्युको क्षति देशले निकै ठूलो बेहोर्नु पर्न सक्छ ।
नेपालमा सवैभन्दा धेरै पर्यटक आउने हिमालय यात्रालाई सुरक्षित गर्न नसकेको सरकारले पहाडी क्षेत्रलाई सुरक्षित राख्न सक्नुपर्नेछ । पर्यटकीय गन्तव्यस्थल सम्म पुग्ने बाटो, बस्ने होटल तथा रेष्टुरेन्ट र सुरक्षित सवारीबारे सरकारले अनुगमन गर्नुपर्नेछ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य लिएको सरकारले भ्रमण वर्षमा नीजि क्षेत्रसँग साझेदारीको नीति लिएको छ । तर, साझेदारी गर्दैमा नीजि क्षेत्रप्रति अनुगमन नगर्ने भन्ने होइन । किनभने, नीजि क्षेत्रलाई नाफाको बढी अर्थ रहन्छ । उनीहरु नाफाको लोभमा अन्य क्षेत्र तर्फ ध्यान नदिन पनि सक्छन् । दामनमै पनि अनुगमनलाई बलियो बनाइएको थियो भने ती पर्यटकहरुले अकालमा ज्यान गुमाउने थिएनन् । अतिथिलाई ‘दैव’ सरह मान्यता दिने नेपाली समाजमा कोठामै कोही निस्साएर मर्ने अवस्था हुनु दुखद् हो ।
अतः यस्ता थुप्रै पाटोलाई ध्यान नदिने हो भने नेपाल भ्रमणमा आउनेहरु सशंकित हुन सक्छन् । नेपाल घुम्न आउने तर्फ निरुत्साहित हुन सक्छन् । सरकारले गर्न सक्ने तर, नगरिरहेको अनुगमनको पाटोलाई ध्यान दिन दामन घटना नजीर बनेको छ । नीजि क्षेत्रसँग साझेदारी त गर्ने तर, सँगै अनुमगनलाई पनि जोड दिने सरकारको नीति हुनुपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies