काठमाडौं : यामाहा नेपालले काठमाडौंमा आफ्नो ‘रिजनल सेल्स स्किल्स कन्टेस्ट’ आयोजना गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउन काठमाडौंमा सोमबार यामाहाका विभिन्न डिलरसिपहरूबाट ११ जना बिक्री परामर्शदाताहरूको सहभागितामा उक्त प्रतियोगिताको आयोजना भएको हो ।
प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रडक्ट र सेल्स प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्यांकन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । प्रत्येक डिलरसिपबाट उच्च स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतियोगितामा स्थान पाएका थिए । प्रतियोगितामा सल्लाघारीस्थित द व्हील्सका विकास रञ्जितकार विजयी भए । त्यस्तै बल्खुस्थित एमएडब्लुका कुस्मा देवकोटा पहिलो रनर अप र गोरखा मनकामना अटो रातो पुलका सुमिता महर्जन दोस्रो रनर अप भए ।
प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरूको उत्साहजनक सहभागिता रहेको थियो । सबै प्रतियोगीहरूले आफ्नो ज्ञान र सीप प्रदर्शन गर्दै शीर्ष उपाधिको लागि प्रयास गरेका थिए । सहभागीहरू मध्ये विजेताहरूले अब नेसनल सेल्स स्किल्स कन्टेस्टमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यस अवसरमा यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले विजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरे । सहभागीहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको प्रशंसा गर्दै उनले भने, ‘यामाहा सधैँ आफ्नो टिमका सदस्यहरूलाई उत्कृष्ट हुन आवश्यक पर्ने सीप र ज्ञानले उनीहरूलाई सशक्त बनाउनमा विश्वास गर्दछ, यस प्रतियोगिताले सहभागीहरूको विशेषज्ञता बढ्ने मात्र नभई निरन्तर सिक्ने र उत्कृष्टताको संस्कृतिलाई बढवा मिल्ने मैले विश्वास लिएको छु ।’