-झलनाथ खतिवडा
सूचना–प्रविधिले मानिसको दैनिकी सहज त बनाएको छ, तर यसको बढ्दो प्रयोगले मानिसमा डिप्रेसन हुने, डर लाग्ने, अनिन्द्रा हुने जस्ता समस्या निम्तिने गरेको एक अध्ययनले देखाएको छ ।
संसारभर प्रविधिले फड्को मारिरहेको छ । आज कोही पनि झन्झटमा, असहज परिस्थितिमा गुज्रिनुपरेको छैन । प्रविधिले हिजोआजको जीवनशैली फेरिदिएको छ । आज केटाकेटी, वयष्क र वृद्धवृद्धाहरू सबैको जीवनशैली फेरिएको छ ।
अभिभावकले केटाकेटी भुलाउने अचुक औषधि नै पाएको अनुभूत गरेका छन् । बालबच्चालाई मोबाइल दिएर कुनै काम गर्छन् बाबुआमा अनि बच्चा पनि आमाबुबाको माया–ममताभन्दा पनि प्रविधिमै रमाउने गरेका छन् ।
आजकाल मोबाइलमा सबै खुसी पाउन थालिएको छ । बालबच्चालाई उनिहरूसँग मिल्ने कार्टुन डेभलपर्सले विकास गरिदिएका छन् । युवाहरूलाई त फेसबुक, इन्स्टा, टिकटक, युट्युब इत्यादि सोसल साइडको विकास भएको छ ।
तर, यस्ता प्रविधिले बालबच्चाको शारीरिक तथा मानसिक विकासमा भने हानिकारक सावित भएको पाइन्छ । नेपालजस्तो विकासोन्मुख देशमा बसोबास गर्ने आममानिसहरू आफ्नो दैनिकी गुजारा गर्न केही न केही इलम गर्नु नै पर्छ । सुखसयलको खोजीमा अधिकांश गाउँमा बसोबास गर्ने मानिस कति सहर पसेका छन् त कति युवा रोजगारीका लागि बिदेसिएका छन् ।
गाउँमा आमाबुवा र बूढापाका मानिसबाहेक पर्याप्त युवा जनशक्ति गाउँमा नहुँदा एकातिर अधिकांश खेतियोग्य जमिन बाझिँदै गएको छ भने अर्कातर्फ सहर भरिएको छ । सानोतिनो इलम गरेर सहर नै प्यारो मानेर, प्रविधिमा रमाएर बसेका छौं हामी, अनि सबै कुरा प्रविधिमा निर्भर भई आफ्नो दैनिकी गुजारिरहेका छौं । कृषिप्रधान देशमा हामीले कृषिमा क्रान्ति नगरी समृद्धि हासिल गर्न सक्दैनौं ।
सहरमा बसेर आमयुवाले दुःख भुलेका छन् र बेलैमा विभिन्न रोगको सिकार भएका छन् । खानपानमा मिसावट, बासी सागसब्जी, प्रदूषण युक्त हावा सेवनले स्वास्थ्यमा समस्या आउने प्रस्ट देखिएको छ ।
सहर–बजारमा भर्खर जन्मिएका बालबच्चाका लागि खेल्ने, रमाउने ठाउँको अभाव छ, जसका कारण नानीबाबुहरू कमजोर हुने, लुला हुने, वातावरण अनुकूल घुलमिल हुन नसक्ने, विलासिताका वस्तुहरूको प्रयोगमा बढी रमाउने र किताबी ज्ञानका अतिरिक्त अरू बहिरी ज्ञान हासिल गर्न नसक्ने गरेको पाइन्छ ।
अभिभावकले पनि आफ्ना नानीबाबुलाई पर्याप्त समय दिन नसक्दा उनीहरूले पारिवारिक संस्कार पाउनबाट वञ्चित हुने र साइनो सम्बन्ध, सम्बोधन, घरपरिवारका अन्य सदस्यहरूसँग बोलीचालीको भाषा सिक्न पाउँदैनन् ।
सहरमा बसोबास गर्ने अधिकांशको बानी–व्यवहार सूचना–प्रविधिमैत्री हुन्छ । सँगैका साथीभाइ, इष्टमित्र, छरछिमेक टाढाटाढा र अनलाइनमा भेटिएका साथीसंगी नजिक बन्ने गरेको जस्ता हिजोआजको अवस्थाले प्रविधिले मानिसलाई दिनदिनै संस्कार र शैली फेरिँदै गएको छ । अझ भोलिको दिन कस्तो आउला, त्यो देख्न बाँकी नै छ ।
सूचना–प्रविधिले मानिसको दैनिकी सहज त बनाएको छ, तर यसको बढ्दो प्रयोगले मानिसमा डिप्रेसन हुने, डर लाग्ने, अनिन्द्रा हुने जस्ता समस्या निम्तिने गरेको एक अध्ययनले देखाएको छ ।
मानिसमा अल्छीपना आउने, हिँडडुल गर्न मन नलाग्ने र समाज र सामाजिक कार्यक्रममा सरिक हुन मन नलाग्ने र नचाहने, बरु सामाजिक सञ्जालमा बढी समय खर्चिने गरेको पाइन्छ । त्यसैले यस्ता खालका प्रविधिको प्रयोग गर्दा ध्यान दिन सम्पूर्णमा महानुभावमा अनुरोध गर्छु, नभए जानी–नजानी तपाईं र तपाईका सन्ततिलाई एक न एक दिन जटिल समस्या पार्न सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies