शुभनारायण कामती/मध्यान्ह
सिरहा : जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउतले मधेसवादी पार्टी सत्ताका लागि मधेस र मधेसीको नाममा दलालीगर्ने पार्टी रहेको आरोप लगाएका छन् । जनमत पार्टी सिरहाले सिरहा सदरमुकाममा रहेको श्री सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पसको प्रङ्गनमा बिहीबार आयोजना गरेको सभामा बोल्दै डा. राउतले भने, ‘मधेसमा यी पार्टीहरुले जंगलराज कायम गरी दलाली गरिरहेका छन् ।’
प्रदेश २ का समाजवादी पार्टी र राजपाको सरकारले भ्रष्टाचारी, तस्कर, गुण्डालाई संरक्षण दिएर मधेसमा लुटतन्त्र मच्चाइरहेको डा. राउतले आरोप लगाए । ‘मधेसमा अहिले रहेको भ्रष्टाचारी र गुण्डाहरुको जंगलराजलाई हटाएर जनताको राज ल्याउन जनमत पार्टी स्थापना भएको हो,’ डा. राउतले भने, ‘मधेसी जनताको रगत र बलिदानीमा टेकेर सत्तामा पुगेका समाजवादी र राजपाले जनतामाथि शोषण र दमन गरिरहेका छन् ।
राउतको भाषण मधेसी दलहरुको चर्को आलोचनमा केन्द्रित रहेको थियो । ‘मधेसको मसिहा भनेर दाबी गर्ने समाजवादी र राजपा पार्टी अब कलंक मात्रै रहेका छन्,’ उनले भने, ‘यीनीहरु अब मधेसवादी पार्टी नै होइनन्, सत्ताका लागि मधेस र मधेसीको नाममा दलाली गर्ने दलाल मात्र हुन् ।’
प्रदेश नं. २ मा समाजवादी र राजपाको संयुक्त सरकार छ । समाजवादीले संगठन विस्तार र सुदृढिकरण अभियान चलाइहेको छ । राजपाको सांगठनिक गतिबिधि शून्य प्रायः छ । जनमत पार्टीले ती दुई दलको आलोचनामा सर्वाधिक समय खर्चिरहेका छन् ।
डा. राउतले मधेस आन्दोलनताका मधेसी जनता नाकाबान्दी गरेर बसेका बेला मधेसी पार्टीका नेताले नाकाबाट तस्करी गराएर अकुत सम्पति जोडेको आरोप पनि लगाए ।
कांग्रेस, कम्युनिष्ट र मधेसी दललाई म्याद गुज्रिसकेको (डेट एक्स्पायर) पार्टीको संज्ञा दिँदै डा. राउतले अब मधेस र मधेसीलाई दमन, शोषण र विभेदबाट मुक्ति दिलाउने एक मात्र विकल्प जनमत पार्टी नै रहेको जिकिर गरे ।
तराई मधेशमा जनमत पार्टीले आयोजना गरेको सबै सभाहरुमा एकै प्रकारले मधेशवादी दलहरुमाथि आरोप लगाउने गरेका डा. राउतले उक्त कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र सरकारको प्रशंसा नगरे पनि कमिकमजोरी पनि औंल्याएनन् ।
जनमत पार्टीका सिरहा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजकुमार त्यागीको अध्यक्षतामा भएको सभामा प्रमुख अतिथि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउत, केन्द्रयी सदस्य मो. अब्दुलखाँ, केन्द्रीय प्रशिक्षण तथा स्वयंसेवक विभाग प्रमुख संजय कुमार यादव लगायतले पनि मधेशी दलहरुको आलोचनामा सम्पूर्ण समय खर्चेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies