केही वर्ष स्थगित भएर गएको सिजनबाट शहीद स्मारक ए डिभिजन लिगले फेरि निरन्तरता पाएको छ । तर, गएको सिजन बिना रेलिगेसन लिग चल्यो । त्यसैले देशकै ए डिभिजन लिगको आकर्षण देखिन नसकेको टिप्पणी भयो । यो सिजनबाट भने रेलिगेसनको व्यवस्था भयो । सरस्वती युवा क्लब रेलिगेसनमा प¥यो । रेलिगेसनमा परेसँगै, सरस्वती युवा क्लबले ए डिभिजनबाट बाहिरिनु परेको छ । अब सरस्वतीले बी डिभिजन खेल्नुपर्नेछ ।
रेलिगेसनसहित भएकै खेल पनि शनिबार सकिएको छ । १४ क्लबलाई पछि पार्दै सान मिगेल मछिन्द्र क्लबले उपाधि जितेको छ । गएको सिजनमा अन्तिम दोस्रोमा परेको मछिन्द्रले नाटकीय पुनरागमन गर्दै उपाधि नै जित्यो । १२ खेल सकिदा १९ अंक सहित शीर्ष स्थानमा रहेको आर्मीलाई एक–शून्य गोल अन्तरले हराउँदै मछिन्द्रले सनसनीपूर्ण जित निकाल्यो । मछिन्द्र गत सिजनमा दोस्रो अन्तिममा परेकाले एक अंक घटाइएको थियोे । तर, घटेको त्यो एक अंकले कुनै अर्थ राखेन । लिगको अन्तिम खेलमा मछिन्द्र जित निकाल्दै च्याम्पियन बन्यो ।
देशको प्रमुख र शीर्ष तहको लिग जितेकाले मछिन्द्रमा ठुलै उत्साह देखियो । तर, शनिबार मछिन्द्रले उपाधि जित्दा दशरथ रंगशालामा उत्साह र उत्सब सामान्य मात्रै थियो । खेल अवधिभर देखिएको ठुलो संख्याका दर्शक आर्मीका रहेको बुझ्न गाह्रो परेन । उपाधि जित्ने तयारीका साथ आर्मी खेलाडी र दर्शकसहित उपस्थित थियो । तर, उपाधि जित्न नसकेसँगै रंगशाला शून्यतामा परिणत भयो । गएको सिजनमा रेलिगेसन नभएकाले दर्शक नमिलेको आँकलन गरिएको थियो । तर, शनिबार रंगशालामा देखिएको दृष्यले रेलिगेसन हुनु र नहुनु भन्दा पनि समग्रमा फुटबलप्रति नै आकर्षण घटेको प्रष्ट पारेको छ ।
यसको प्रमुख कारण भने नेपालको फुटबल क्षेत्रमा देखिएको सुस्तता र भ्रष्टाचार नै प्रमुख हो । किनभने, जब राष्ट्रिय टीमकै कप्तान, उपकप्तान सहित प्रमुख खेलाडी नै म्याच फिक्सिङ प्रकरणमा तानिए । यसले समर्थकहरुमा उत्साह घटायो । अर्का तर्फ २०७२ को भूकम्पपछि फुटबल उठ्नै नसक्नेगरी थला प¥यो । गएको मंसिरमा राजधानीमै सकिएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल च्याम्पियन नै बनेको थियो । तर, यो उपाधि विश्व फुटबल महासंघ (फिफा) बाट मान्यता प्राप्त थिएन । त्यसैले फेरि पनि राष्ट्रिय लिगप्रति आकर्षण देखिएन । अतः यसपटक लिगका क्रममा देखिएको नैराश्यतापनबारे सरकार र सरोकारवाला गम्भीर हुनैपर्छ । होइन भने देशले गरेको लगानी बालुवामा पानी मात्रै हुनेछैन, अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम पहिलेकै जस्तोगरी चम्किलो नदेखिने खतरा हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies