संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा गएको असोज १९ गते पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले महरालाई सफाइ दिने फैसला गरेको हो । केही दिनदेखि जारी सुनुवाइको अन्तिम फैसला सुनाउँदै जिल्ला अदालत काठमाडौंले सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला लगत्तै डिल्लीबजार कारागारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको भीड लागेको थियो ।
थुनामुक्त भएका महरालाई स्वागत गर्न पुगेका नेकपाका कार्यकर्ताहरुले राष्ट्रिय झण्डा र नेकपाको पार्टी झण्डा बोकेका थिए । फुलमाला र अविरले रंगिएका महराको पक्षमा डिल्लीबजार कारागार परिसरमा नाराबाजी नै भयो । जेलमुक्त भएको खुशियालीमा उत्सव नारा लगाउने क्रममा नेकपा कार्यकर्ताले महरालाई षडयन्त्र गरेर जेलमा हालिएको निष्कर्ष निकालेका थिए । अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न महराले अडान लिएकै कारण षडयन्त्र गरी कारागारसम्म पुर्याएको भन्दै ‘एमसीसी मुर्दावाद’को नारा लगाइएको थियो । महरालाई षडयन्त्र गर्ने एमसीसी खारेज गर्नुपर्ने माग समेत उनीहरुले लगाएका थिए ।
नेकपाका कार्यकर्ताहरुले जस्तो नारा लगाए पनि महरा पुर्पक्षका लागि थुनामा पठाइनुको कारण भने संसद सचिवालयकी महिला कर्मचारीले लगाएको आरोप हो । ती महिलाले दिएको भिडियो अन्तर्वार्ताकै कारण बहालवाला सभामुख पदबाट महराले राजीनामा दिएका थिए भने उनको पद समेत गुमिसकेको छ । भलै, महराले सफाई पाएपछि ती महिलाले अदालतको फैसलाले आफू अत्यन्तै धेरै खुशी भएको प्रतिक्रिया दिएकी छन् । ती महिलाले महरा पक्राउ परेदेखि लगातार आफ्नो भनाइको खण्डन समेत गर्दै आएकी थिइन् । तर, न्यायालयले आफ्नो प्रक्रिया पुरा गर्दै सफाइ दिएको छ । यसमा पुनरावेदन हुन पनि सक्ला अथवा महरा निर्दोष भएकाले फैसलाले न्याय दिएको भन्ने सकिएला ।
तर, प्रमुख सन्देश भने सार्वजनिक पद धारण गरेकाहरुको आँचरण, कार्यशैली र अभिव्यक्तिबारे देखाइनुपर्ने विवेक गुम्न पुगे महराले जस्तै न्यायिक प्रक्रिया जोकोहीले पुरा गर्नुपर्नेछ, कुनै ‘भीभीआईपी’ हुँदैमा छुट हुन्न भन्ने नै हो । किनभने, राजतन्त्रको अन्त्यसँगै मुलुकमा संविधानको सर्वोच्च स्थापित भएको छ । स्थीर सरकार विद्यमान छ । गणतान्त्रिक संविधानको सर्वोच्चता र स्थीर सरकारकै कारण स्वयम् सत्तारुढ दलकै नेताहरुबाट त्रुटि हुन पुगे पनि उम्कन सजिलो देखिन्न । लामो राजनीतिक संघर्षबाट प्राप्त उपलब्धीकै जगमा यस्तो थिति स्थापित हुनु समाज र जनताकै लागि पनि लाभदायक हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies