२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

सुस्ता झोलुंगे पुलमा पर्यटकको आकर्षण

ADV
विनोद निगम
२०८१ पुष २ गते १७:०७
सुस्ता झोलुंगे पुलमा पर्यटकको आकर्षण

नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, पक्लिहवा क्षेत्रस्थित नारायणी नदीमाथि निर्माण गरिएको झोलुंगे पुलले नेपालकै सबैभन्दा लामो झोलुंगे पुलको पहिचान बनाएको छ । १ हजार ५७१ मिटर लामो यो पुलले महाकाली नदीमाथि रहेको कञ्चनपुरको चाँदनी–दोधारा जोड्ने झोलुंगे पुललाई ११८ मिटरले पछि पार्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

झोलुंगे पुलको निर्माणसँगै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन उल्लेख्य रूपमा बढेको छ । दिनहुँ नेपाल र भारतका करिब हजार भन्दा बढी पर्यटक पुलको अवलोकन गर्न आउने गरेका छन् । यसले नवलपरासीको पर्यटकीय गतिविधिलाई मात्र होइन, स्थानीय आर्थिक क्रियाकलापलाई समेत चलायमान बनाएको छ । पुलको आकर्षणले स्थानीय होटल, रेस्टुरेन्ट र साना व्यवसायहरूलाई प्रोत्साहन दिएको छ भने स्थानीय बासिन्दाहरूले रोजगारीको अवसरसमेत पाएका छन् ।

पर्यटकको आकर्षणसँगै उनीहरूको सुरक्षाका लागि प्रहरी प्रशासनको उपस्थिति कमजोर रहेको गुनासो स्थानीयहरूले गरेका छन् । पुल क्षेत्रको बढ्दो भिडभाडका कारण पर्यटकहरू आफू असुरक्षित महसुस गरिरहेको बताउँछन् ।

एक स्थानीय बासिन्दाका अनुसार, "यहाँ पर्यटकको चाप दिन प्रतिदिन बढिरहेको छ । तर, प्रहरी प्रशासनको उपस्थिति नहुँदा पर्यटकहरूले डराई–डराई पुल अवलोकन गरिरहेका हुन्छन् । पुलमा मोटरसाइकल चलाउने प्रवृत्तिले पैदल यात्रुहरूलाई समस्या मात्र होइन, गम्भीर दुर्घटनाको सम्भावना पनि निम्त्याएको छ।"

यस क्षेत्रमा पर्यटकहरूको बढ्दो आकर्षणले विकासका थुप्रै सम्भावनाहरू खुला गरेको छ । यद्यपि, स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले आवश्यक पूर्वाधार विकास र सुरक्षा व्यवस्थामा चासो नदिएकोप्रति स्थानीयवासी असन्तुष्ट देखिन्छन् ।

पुलले भारत र नेपालका पर्यटकहरूलाई जोड्ने मात्र होइन, सीमा क्षेत्रका समुदायबीच सांस्कृतिक र आर्थिक अन्तरक्रियालाई समेत बढावा दिएको छ । नारायणी नदीमाथिको यो झोलुंगे पुल नवलपरासीको पर्यटन विकासको ढोका मात्र नभई, समग्र पश्चिम नेपालको पर्यटन क्षेत्रमा नयाँ युगको सुरूवात भएको स्थानीय बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise