–जगत् शाही आचार्य
अहिले विश्वभर नै प्राकृतिक विपत्का घटना डरलाग्दो ढंगले भइरहेका छन् । भूकम्प, भारी वर्षा, हुरी, बाढी, अत्यधिक चिसो जस्ता विषय सामान्य जस्तो बनिरहेका छन् । समग्र विश्व प्रकोपमा छ । सगरमाथामा हिउँ द्रुत गतिमा पग्लिँदै छ र हिमाल कालो हुँदै छ । हिमनदीहरू पग्लिँदै छन् र तालहरू सुक्दै छन् ।
कतै धेरै वर्षा भइरहेको छ, कतै आँधीबेहरी आइरहेका छन्, कतै अत्यधिक सुख्खाको अवस्थासमेत बनेको छ । कतिपय नदीहरूमा अस्वाभाविक बाढी आइरहेका छन् त कतिपय साना नदीहरू सुकेका छन्, जसको प्रभाव जमिन मरुभूमीकरण भइरहेको छ । यसरी असन्तुलित भइरहँदा विभिन्न प्राणी जगत्मा उथलपुथल देखिएको छ । कतिपय पशुपक्षी विनासको अवस्थामा पुगेका छन् ।
वैज्ञानिकहरू भन्छन् कि यदि हामी यो प्रकोप टार्न चाहन्छौं भने हामीले १ दशमलव ५ डिग्रीमा तापक्रम वृद्धि रोक्नुपर्छ । र, हामीसँग यो गर्न कति समय छ ? मात्र २ वर्ष ! तथ्यांकले यो पनि देखाएको छ कि यदि मानवले आफ्नो बानी परिवर्तन नगरे र उपभोगको दर घटाउन सकेन भने आगामी २५ वर्षमा तापक्रम २ दशमलव ५ देखि ३ डिग्रीसम्म बढ्न सक्छ ।
१ दशमलव १६ डिग्रीको वृद्धिले निम्त्याएको विनाश हाम्रो सामु छ, २ दशमलव ५ देखि ३ डिग्रीको वृद्धिले के हुन्छ ? हामी कल्पना पनि गर्न सक्दैनौं । समग्रमा, हामी ठूलो विनासको अवस्थातर्फ उन्मुख छौं ।
जलवायु परिवर्तनलाई रोक्न भनी सन् १९९५ यता भएका राजनीतिक सम्झौता, नीति, संवाद अहिलेसम्म सबै व्यर्थ गएका छन् । यदि आउने पुस्तालाई बचाउनु छ भने संयुक्त राष्ट्रसंघको पछिल्लो रिपोर्टअनुसार अब पृथ्वी बचाउन अर्थात् पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्रीमै यथावत् राख्न हामीसँग मात्र २ वर्ष छ । यदि २ वर्षभित्र नियन्त्रण गरिएन भने १ दशमलव ५ डिग्रीमै सीमित गरिएन भने तापक्रम रोक्न सकिने छैन र आउने १० देखि ६० वर्षमा पृथ्वीको छैटौं महाविनास निश्चित छ ।
हालैका प्रतिवेदनहरूले देखाएका छन् कि नियन्त्रणबाहिरको मिथेन उत्सर्जनले आगामी दशकभित्र वैश्विक तापक्रममा १ दशमलव ९ देखि २ दशमलव १ डिग्री सेल्सियसको आपत्कालीन वृद्धि गराउन सक्छ । विश्वव्यापी मिथेन उत्सर्जनको दुई तिहाइ भाग मानव क्रियाकलापहरूबाट उत्पन्न हुन्छ ।
पछिल्ला २ दशकमा मानव निर्मित मिथेन उत्सर्जनमा २० प्रतिशतले वृद्धि भएको छ । ग्लोबल मिथेन बजेट, २०२४ को प्रतिवेदनअनुसार मानव क्रियाकलापहरूले अब विश्वव्यापी मिथेन उत्सर्जनको कम्तीमा दुई तिहाइ हिस्सा ओगटेका छन् । सन् २०२३ मा वायुमण्डलीय मिथेनको सान्द्रता १ हजार ९२३ पाटर््स प्रतिबिलियनमा पुगेको छ, जुन पूर्वऔद्योगिक समयको तुलनामा २ दशमलव ६ गुणा बढी हो र कम्तीमा ८ लाख वर्षमा सबैभन्दा उच्च स्तर हो ।
मिथेन एक अत्यन्त प्रभावशाली हरितगृह ग्यास हो, जसले वातावरणमा छिटो प्रतिक्रिया जनाउँछ र यसलाई प्रत्यक्ष रूपमा हटाउने कुनै प्रविधि उपलब्ध छैन । मानव निर्मित मिथेन उत्सर्जनका प्रमुख देशहरु चीन (१६ प्रतिशत), भारत (९ प्रतिशत), अमेरिका (७ प्रतिशत), ब्राजिल (६ प्रतिशत) र रुस (५ प्रतिशत) हुन् ।
कृषि, जीवित पशुहरूको पालनपोषण, जीवाश्म इन्धनको प्रयोग र फोहोर व्यवस्थापनले यसको उत्सर्जनमा ठूलो योगदान पुर्याउँछन् । आईपीसीसीको प्रतिवेदनले चेतावनी दिएको छ कि यस प्रकारको वृद्धिले शताब्दीको अन्त्यसम्ममा वैश्विक तापक्रम ३ डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्छ, जसले जलवायु परिवर्तनका गम्भीर प्रभावहरू निम्त्याउन सक्छ र समुद्री सतहको वृद्धि, चरम मौसम घटनाहरूको वृद्धि र जैविक विविधताको ह्रास हुन्छ ।
वर्तमानमा, वायुमण्डलमा कार्बनडाइअक्साइडको सान्द्रता लगभग ४२५ भाग प्रतिमिलियन पुगेको छ, जुन पूर्वऔद्योगिक स्तरभन्दा उल्लेखनीय रूपमा बढी हो । अन्य ग्रिन हाउस ग्यासहरूको प्रभावलाई समेत गणना गर्दा कार्बनडाइअक्साइडको समकक्ष स्तर लगभग ५६० प्रतिमिलियम पुगेको छ, जसले थप तापीय प्रभाव पारिरहेको छ ।
यसको परिणाम स्वरूप पृथ्वीको औसत तापक्रममा १ दशमलव २ देखि १ दशमलव ३ डिग्री सेल्सियस वृद्धि भइसकेको छ, जसले गम्भीर खालका प्रभावहरू देखाउन थालेको छ ।
अहिले विशेषगरी अन्टार्कटिकामा बरफको ह्रास भइरहेको छ । अन्टार्कटिकाको बरफ तीव्र रूपमा पग्लिरहेको छ, जसले समुद्री सतहको स्तर बढाइरहेको छ । यस्तै, अस्ट्रेलियाको ग्रेट बैरियर रिफमा व्यापक क्षति पुगेको छ, जसले समुद्री पारिस्थितिकीय तन्त्रमा गम्भीर असर पारेको छ ।
‘पृथ्वीको फोक्सो’ भनेर चिनिने अमेजन वनमा ठूलो क्षति पुगेको छ र यसको विघटन जारी छ । यदि तापक्रम वृद्धि १ दशमलव ४ देखिद १ दशमलव ५ डिग्री सेल्सियससम्म पुग्यो भने थप गम्भीर प्रभावहरू देखिन सक्छन् । समुद्री तापक्रममा वृद्धिले कोरल रिफहरू पूर्ण रूपमा नष्ट हुन सक्छन् ।
ग्लेसियरहरूको आधाभन्दा बढी भाग जोखिममा पर्ने छ, जसले भविष्यमा समुद्री सतहको स्तर बढाउने छ । पर्माफ्रस्टमा रहेको ताजा पानीको विशाल भण्डार तीव्र रूपमा पग्लिरहेको छ, जसले ग्रिन हाउस ग्यासहरूको उत्सर्जन बढाउन सक्छ । समुद्री सतहको स्तरमा धेरै मिटरको वृद्धि हुने सम्भावना छ, जसले तटीय क्षेत्रहरूमा बाढीको स्थिति गम्भीर बनाउने छ । अन्न उत्पादनमा ३–७ प्रतिशत गिरावट आउन सक्छ, जसले खाद्य सुरक्षामा संकट निम्त्याउन सक्छ ।
वैज्ञानिकहरूको अनुमानअनुसार सन् २०२५–२०२९ सम्ममा तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियससम्म पुग्न सक्छ, जसले माथि उल्लेखित प्रभावहरूलाई अझ तीव्र बनाउन सक्छ । जलवायु परिवर्तन मानव लोभ र उपभोगप्रतिको लालसाको परिणाम हो । जबसम्म हाम्रो शिक्षा प्रणाली आत्मज्ञान र जीवनको वास्तविक ज्ञानमा समर्पित हुँदैन, मानव जातिको, हाम्रो प्रजातिको र यो ग्रहको भविष्य सुरक्षित हुन सक्दैन ।
जलवायु परिवर्तन हाम्रो पृथ्वीमा जनसंख्या र प्रत्येक व्यक्तिको प्रतिव्यक्ति उपभोगको प्रत्यक्ष परिणाम हो । यो जलवायु संकट भनेको हराएको अध्यात्म र धार्मिकतामा आएको पतन हो । त्यसैले यदि पृथ्वीलाई बचाउने हो भने अन्तिम उपाय त्यसको उद्धार आत्मज्ञान र सही दर्शनको पुनरुत्थानमा छ ।
मनुष्यको जब आन्तरिक जलवायु सुधार आत्म.ज्ञान र बोधमार्फत हुन्छ, तब बाहिरको जलवायु संकट स्वाभाविक ठीक हुन्छ । जब मानिसले आफ्नो आन्तरिक अवस्थालाई अवलोकन गर्न थाल्छ, त्यो निर्लिप्तता र त्यागमा पुग्छ, जसले भित्री रोगहरूको कारण बनेका वस्तुहरूप्रति मोह घटाउँछ । आन्तरिक अवलोकन र व्यर्थ उपभोगको त्याग बाहिरी जलवायु सुधारको आधार बन्छ । यी २ सधैं परस्परमा जोडिएका हुन्छन् ।
मानव निर्मित जलवायु परिवर्तनको तुलनामा प्राकृतिक जलवायु परिवर्तन किन कम समस्याजनक छ भन्ने सवाललाई बुझ्न, मुख्य कुरा यसको गतिको विषयलाई बुझ्नुपर्छ । प्राकृतिक जलवायु परिवर्तन धेरै बिस्तारै हुन्छ, जसले वातावरण र कृषि प्रणालीलाई परिवर्तनसँग अनुकूल हुन समय लाग्छ । तर, अहिले देखिएको जलवायु परिवर्तनको गति यति धेरै तेज छ कि जसले मानवीय सभ्यताका लागि गम्भीर चुनौती सिर्जना गरिसकेको छ ।
मानव सभ्यताको विकास पछिल्लो १०–१२ हजार वर्षको स्थिर जलवायुमा भयो, जुन हामीले कृषि आविष्कार गरेर जीवनशैलीलाई सुधार्न उपयोग गर्यौं । स्थिर जलवायुले नै मानव प्रगतिलाई सम्भव बनायो । त्यसैले यो स्थिर जलवायुबाट बाहिर निस्किनु खतरनाक छ । अहिलेको जलवायु परिवर्तन मानवको अतिउपभोगको नतिजा हो । त्यसैले यो संकटको प्रमुख कारण मानवीय अज्ञानता र भोगवादी दर्शन नै हो ।
समग्रमा, सुख जीवनको लक्ष्य हो र सुख वस्तुहरूको उपभोगबाट प्राप्त हुन्छ । यही भोगवादी दर्शन नै जलवायु परिवर्तनको मुख्य कारण हो, जसले आज पृथ्वीमा सबै बर्बादी भइरहेको छ । त्यसैले सबै समस्याहरूको मूल कारण मानिसको लोभ र लालच हो, सधैँ बाँचिरहने र बाँच्दाबाँच्दै अतिभोग गरिरहने चाहना नै अहिले पृथ्वीको छैटौं महाविनासको कारण बन्दै छ ।