योगी योगेन/मध्यान्ह
दोहा : कोरोना भाइरसको जोखिम रोक्न साउदी अरव सरकारले २१ दिनसम्म कर्फ्यू लगाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र यसको रोकथामका लागि साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले सोमबार रातिदेखि नै लागू हुनेगरी रात्रीकालीन कर्फ्यु लगाएको हो ।
कर्फयु उल्लङ्घन गरे २० दिनसम्म जेल र १० हजार साउदी रियाल जरिवाना हुने साउदीस्थित नेपाली दूतावासले जनाएको छ । कर्फ्युको समयमा बाहिर नहिँड्न र सुरक्षित रुपमा कोठामै बस्न दूतावासले अनुरोध गरेको छ । साउदी सरकारले बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको दूतावासले जानकारी दिएको छ ।
कर्फयुको पहिलो दिन नै केही साउदी नागरिक र विदेशी नागरिकहरुले कर्फ्यु उल्लङ्घन गरेका कारण जरिबाना तिर्नु परेको जानकारी दूतावासलाई प्राप्त भएको भन्दै साउदी सरकारको कानुन र आदेश पालना गर्न साउदीमा रहेका सम्पूर्ण नेपालीलाई आग्रह गरेको दूताबासले जनाएको छ ।
कर्फ्युको समयमा बाहिर निस्किनुपर्ने भएमा सरकारी अधिकारीहरुसँग समन्वय गर्न र अत्यावश्यक सहयोग र सल्लाहको लागि दूतावासको नम्बरमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । साउदीमा ७६७ जनामा कोरोनाको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपाली कामदार सुरक्षित रहेको दूताबासले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies