नवलपरासी : ऐतिहासिक नन्दन ताललाई केही स्थानीयले कब्जा गरेर खेती गर्दै आएका छन् । जसका कारण तालको अस्तित्व नै मेटिएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ६ मा पर्ने एतिहासिक नन्दन ताल, नन्दन नगरबारे बिहीबार जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सरोकारवालाहरुले नेपालको तेश्रो ठूलो तालको रूपमा रहेको नन्दन तालको संरक्षणका लागि पुरानै स्वरूपमा फर्काउन पालिका अडिकसँगै राजनीतिक दलका प्रतिनिधिहरूले पनि सहयोग गर्ने निष्कर्ष निकालेको छ । त्यससँगै सबै सरोकारवालाहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
नन्दन ताल स्थानीयहरुको अतिक्रमणका कारण तालको अस्तितत्वनै मेटिने खतरा उत्पन्न भएपछि सरोकारवालासँग छलफल गरी संरक्षणको काम अगाडि बढाउन अन्तरक्रिया गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दिपक)ले बताए । सो क्रममा बोल्दै सरोकारवालाहरूले तालको संरक्षण हुनुपर्ने विषयमा मत एक्यता जाहेर गर्दे स्थानीय तह सक्रिय रूपमा लाग्न जोड दिएका छन् ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री ध्रुवबहादुर प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रधानले नवलपरासीबाट त्रिवेणी धाम लगायतको धार्मिक तथा पर्यटकीय स्थलहरु अलग भएपछि जिल्लाको पहिचान मेटिदै गएको भन्दै तालतलैया लगायतका अन्य सम्पदाको संरक्षण गर्दे जानुपर्नेमा जोड दिए ।
माथिल्लो तहका सरकारले चासो नदिएपनि स्थानीय तहले संरक्षण र प्रवद्र्धनको काममा अठोट गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सो क्रममा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले नन्दन ताल संरक्षणको विषय चूनौतिको रुपमा रहेको बताउँदै यसलाई अवसरको रुपमा लिएर काम गर्ने हो भन्ने सम्भव भएको बताए । उनले भने, ‘बहानाबाजी गर्ने हो भने अर्थ छैन्, तर साँच्चै बनाउने हो भने स्थानीय तह कठोर बनेर निर्णय गरेर अगाडि बढ्न सक्नुपर्छ र यहाँ उपस्थित राजनीतिक प्रतिनिधिहरुले एकबद्धता जनाइ अघि बढ्नुपर्छ ।’
त्यस्तै पूर्व स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले नन्दन तालको संरक्षणमा सबै सरोकारवाला एकजुट बन्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले नन्दनतालको संरक्षण र प्रवद्र्धन गर्न सके पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्दे प्रदेश सरकारसँग पनि सहयोगको लागि पहल गर्ने आश्वासन दिए ।
जिल्लाको साविक हकुइ र सनइ गाविसको सीमाना रहेको नन्दन ताल तीन कित्ता गरी झण्डै ८० विगाहा र त्यस नजिक सनइ र रगरगन्जको बीचमा रहेको सनइ ताल ८२ गरी झण्डै १ सय ६२ बिगाहा क्षेत्रफलमा फैलिएको छ, तर अहिले स्थानीयले अतिक्रमण गरी खेतिपाती गर्दै आएका हुनाले तालनै मेटिदै गएको छ ।
विगतका दिनदेखि ताल मासिँदै गएको विषयमा कुरा उठे पनि संरक्षणको ठोस काम हालसम्म हुन सकेको छैन् । वि.स. २०७३ सालसम्म तालमा रहेको सानो पोखरीमा माछा पालन हुने गर्दथ्यो । जसका लागि ठेक्का समेत आह्वान हुने गरेकोमा पछिल्लो समय तीव्र गतिमा ताल अतिक्रमण भएपछि अस्तित्व संकटमा परेको छ । गाउँपालिका अध्यक्ष गुप्ताले अब स्थानीय र पालिका स्तरमा थप छलफल गरेर संरक्षणको काम सुरु गर्ने तयारी रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, गाँउपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, नेपाली कांग्रेसका नेता विक्रम यादव, जसपा नेपालका धरेन्द्र यादव, राप्रपाका किरण प्रधान, रास्वपाका रवि पाण्डे, लोसपाका मुकुरजि गिरी,राधेश्याम सिंह सैथवार लगायत पत्रकार तथा सरोकारवालाहरुले आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा पत्रकार बेचु गौड र रंजीत शर्माले तालको वर्तमान अवस्था र आगामी दिनमा गर्न सक्ने सम्भावनाका कार्यहरूबारे प्रस्तुतीकरण गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार विकास अधिकारीले गरेका थिए ।