सामान्य अवस्था रहदो हो त यसबेला मुलुकभर नयाँ वर्षको उत्सव चलिरहेको हुने थियो । वर्षभर सम्पन्न कामको समीक्षा अनि आउने वर्षमा गरिने संकल्प प्रस्तुत भइरहेको हुने थियो । राजधानीलगायत देशभरका ठूला शहरहरूमा व्यापारिक जमघट र उत्सवको रंगिन आकाश नाँचिरहेको हुन्थ्यो । तर, यी त सवै कल्पनाको विषय भयो । किनभने, यसबेला मुलुक असामान्य अवस्थामा छ । वर्षको अन्तिम महिना चैतको पहिलो साताबाटै मुलुकभर बन्दाबन्दी घोषणा गरिएकाले सामाजिक सञ्जाल बाहेक अन्यत्र नयाँ वर्ष स्वागतको कुनै गतिविधि हुन सकिरहेको छैन ।
सरकारले अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर निस्कन रोक लगाएकाले नयाँ वर्षको उत्सव रहने कुरै रहेन । बरु, यसको ठीक बिपरीत राज्य संयन्त्र नै सामाजिक दुरी कायम गरेर नियमित कार्यमा नरहन निर्देशन दिइरहेको छ । कुनै अदृष्य समस्या विरुद्ध सरकार र नागरिक दुवै मिलेर असामान्य अवस्था सिर्जना गरिनु नेपालको आधुनिक इतिहासमै पहिलो पटक भइरहेको छ । त्यसैले नयाँ वर्षको उत्सवको साटो सचेतताको उपायहरु आम पंक्तिमा बढी प्रचारित भइरहेको छ ।
तर पनि भित्ताको पात्रो त पल्टने नै छ । शान्त साक्षी बनेर २०७७ लाई स्वागत गरिनेछ । संभवतः उत्सवको साटो सन्नाटा छाएर आएको यो नियति अब नदोहोरिउन् । सन्नाटाले स्वागत गरिएको यो नै अन्तिम वर्ष बनोस् । त्यसका लागि हामीले केही तर, महत्वपूर्ण कदम भने चाल्नुपर्नेछ । किनभने, विश्व महामारीको रुप लिएको कोरोना भाइरसले हामीलाई निकै लामो समयसम्म असर पार्नेछ । इतिहासको साहित्य, राजनीति र सामाजिक अवयव यही महामारीको केन्द्र भएर घुम्नेछ । अर्थतन्त्रमा नराम्रोसँग प्रभाव पर्ने हुनाले सामान्य लयमा फर्कन विश्व मानव जगतले ठूलै प्रयत्न गर्नुपर्नेछ । नेपालजस्तो परनिर्भर मुलुकले अझ बढी मेहनत गर्नुपर्ने हुन्छ । तसर्थ, यो नयाँ वर्षको स्वागत अघिल्ला वर्षहरु जसरी धुमधामका साथ उत्सव मनाएर नभई शान्त भएर तर, दृढ संकल्प लिएर गर्नुपर्नेछ ।
यो महामारीकै कारण हामीमा रहेको, देखिएको तर, बदल्नतिर नलागिएको विषय समेत उजागर हुनेछ । तसर्थ, हामीले नयाँ वर्ष २०७७ लाई एउटा संकल्प वर्षका रुपमा स्वागत गर्नुको अर्को विकल्प समेत छैन । फेरि पनि हाम्रो समाज जोगाउन सके, भविष्य समेत जोगिने भएकाले कोरोना विरुद्धको यो लडाईलाई जित्नेगरी एउटा विराट संकल्प गरौं, नयाँ वर्ष २०७७ मा शुभकामना !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies