काठमाडौं : नेपाल सरकारले अध्ययन तथा रोजगारीका लागि नेपालबाट विमान चार्टर गरेर जापान जान दिने निर्णय गरेपछि वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति माग गर्नेहरुको दवाब बढेको छ । नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत फागुन २९ गतेको बैठकले अर्को सूचना नभएसम्मका लागि वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णग गरेको थियो । त्यसको भालिपल्ट फागुन ३० देखि विभागले कसैलाई पनि श्रम स्वीकृति दिएको छैन ।
वैदेशिक रोजगार विभाग आफ्ना कर्मचारीलाई तलव प्रदान गर्न र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई नीतिगत सुझाव दिने विषयमा गृहकार्य गर्न केही समय यता खुलेपनि श्रम स्वीकृति दिने विभागको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय काठमाडौं दुई महिनादेखि निरन्तर बन्द रहेको छ ।
चार्टर फ्लाईटको अनुमति पाएपछि विदामा स्वदेश आएका कामदारहरुमा जसरी भएपनि जापान पुग्नुपर्ने छट्पटी बढेको छ । होटल तथा सेवा क्षेत्रमा काम गर्ने नेपालीहरुका लागि जापानको रोजगारी आकर्षक र सुरक्षित मानिन्छ ।
रोजगारीका लागि जापान जान चाहने करिब २० जना युवामध्ये केही युवा बागलुङ जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. सुर्य पाठकमार्फत श्रम स्वीकृति माग गर्दै बिहीबार विभागका महानिर्देशक कुमार दाहालको कार्यकक्ष पुगेका थिए । सांसद पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।
युवाहरुले श्रम स्वीकृतिका लागि सांसदमार्फत दवाब दिएपछि महानिर्देशक दाहालले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट श्रम स्वीकृति दिनु भन्ने चिठी लेखाएर ल्याए आफुले एक मिनेट ढिला नगरी श्रम स्वीकृति दिने बताएर श्रम स्वीकृति माग्न आएकाहरुलाई फर्काएका थिए ।
महानिर्देशक दाहालले रोजगारीमा जान चाहनेको दवाब भएपनि उच्चस्तरीय समितिको नयाँ निर्णय नआएसम्म रोकिएको श्रमस्वीकृति खुलाउन नसकिने मध्यान्हलाई बताए ।
उनले भने, ‘समितिबाट निर्णय आए विभागले जुनसुकै समयमा पनि कार्यालय खोलेर श्रम स्वीकृति प्रदान गर्ने छ । तर समितिबाट नयाँ निर्णय नआएसम्म विवादित बन्ने गरी श्रम स्वीकृति दिनु उचित हुँदैन ।
सरकारले विगत दुई महिनाअघि बन्द गरेको श्रम स्वीकृति खुला नहुँदा हजारौं नेपाली प्रभावित भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार रोजगारदाताले भिसा दिई विभागबाट विदेश जाने अनुमति प्राप्त गरेका १ लाख १५ हजार कामदार कोरोना भाइरस महामारीको कारणले विदेश जान नपाएको र पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदार पठाउने सम्वन्धी सबै कार्य बन्द भएको बताएको छ ।
लकडाउनको अवधि जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको सरकारले कोरोना संक्रमणका कारण बन्द गरेको हवाई उडान आउँदो जेठ मसान्तसम्मका लागि लम्ब्याएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले श्रम स्वीकृति रोकिरहनु भन्दा सरकारले नेपाली कामदार जाने देशको अवस्था हेरेर श्रम स्वीकृति खोल्नु उपयुक्त हुने बताएका छन् ।
चार्टर फलाईटबाट आफ्नो देश आउन अनुमति दिएको जापानले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । त्यसपछि उनीहरु आफ्नो निवास र काममा फर्किन पाउने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies