काठमाडौं : सगरमाथाको उचाइ नाप्नका लागि चिनियाँ सर्वेक्षकहरुको टोली आज विहान चुचुरोमा पुगेको छ । चिनियाँ सञ्चारमाध्यमले सर्वे टोली चुचुरोमा पुगेको दृश्य प्रतक्ष्य प्रशारण गरेका छन् । सगरमाथाको उचाइ पत्ता लगाउनका लागि चीन सरकारले सर्भे टोली सगरमाथामा पठाएको हो ।
टोलीले चिनियाँ भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्भेक्षण गर्ने चिनिया सञ्चारमाध्यमले जनाएका छन् । सर्भेमा चीनले हालसम्मकै आधुनिक प्रणाली अपनाइएको जनाएको छ । त्यसमा घरेलु सर्वेक्षण उपकरणदेखि थ्री डी प्रविधिसम्म प्रयोग भएको छ ।
टोलीमा ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरु सहभागी छन् । चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका समयमा सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने सहमति दुई देशबीच भएको थियो ।
नेपालले सगरमाथाको उचाइ नाप्ने अभियान अन्तिम चरणमा पुर्याएकै समयमा चिनियाँ टोली पनि चुचुरोमा पुगेको हो । दुबै टोलीले काम सकेपछि संयुक्त रूपमा उचाई घोषणा गर्ने तयारी छ । नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत फिल्ड मा गर्नुपर्ने काम सकिसकेको छ ।
अहिलेसम्म १९५४ मा सर्वे अफ इण्डियाले सार्वजनिक गरेको ८ हजार ८ सय ४८ मिटरलाई सगरमाथाको उचाइका रूपमा मान्यता दिँदै आइएको छ । पछिल्लो सर्वेपछि सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies