नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेको छ । पुरानो ऐन खारेज भइ नयाँ खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य सचिव सहित सबै पदाधिकारी पद मुक्त भएका थिए । फलस्वरुप अहिले मन्त्रालयका सहसचिव भक्तबहादुर ढकाललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी दिइएको छ । यस बीचमा युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्य सचिव छनोट समिति नै बनायो । उक्त समितिको आह्वानमा सदस्य सचिवका लागि निवेदन दिएका २७ मध्ये बाट तीन जनाको नाम युवा तथा खेलकुद मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेश भइसकेको छ । अब मन्त्रिपरिषद्ले खेलकुद मन्त्रालयले लगेको प्रस्ताव अनुसार, एक जनालाई सदस्य सचिव नियुक्त गर्नेछ ।
विगतमा राजनीतिक नियुक्ति भयो, खेलकुदमा राजनीतिकरण भयो भनेर नयाँ ऐनमा सदस्य सचिव खुला प्रतिस्पर्धाबाट गर्ने प्रावधान राखिएको हो । जसको पहिलो अभ्यास हुँदैछ । तर, यो त्यति पारदर्शी भने देखिएन । अहिले पनि बिगतकै परम्परालाई खुला प्रतिस्पर्धा भन्ने लेप लगाइएको भान भएको छ । सदस्य सचिवका लागि आवेदन दिनेहरुमा खेलकुद विज्ञानमै पीएचडीसम्म गरेका उम्मेदवार हुँदाहुँदै पनि पुरानै राजनीतिक परम्परा अनुसार निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, नेकपाका केन्द्रीय सदस्य रहेका लिलबहादुर थापा र महिला कोटा अनिवार्य गरिएकाले अञ्जु श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
यी तीन मध्ये एक जना सदस्य सचिव बन्ने छन् । सबैभन्दा बढी अवसर निवर्तमान सदस्य सचिव सिलवालकै छ । उनलाई मन्त्रिपरिषद्ले नियुक्त गरे कुनै आश्चर्य भने मान्नुपर्ने अवस्था छैन । किनभने उनले पदमुक्त हुनुभन्दा अघिको एक बर्षको कार्यकालमा राम्रा काम गरेको दावी गरेपनि खास योग्यता भनेको उनी मदन भण्डारी स्पोर्टस एकेडेमीमा हुनु हो भनी निष्कर्ष निकाल्नेहरुको पंक्ति पनि मनग्यै छ । अर्थात् सिलवाललाई प्रधानमन्त्रीसँगको निकटता समेत जोडेर हेर्ने गरिन्छ ।
अहिले खेलकुदमा सदस्य सचिव को बन्ला भन्ने भन्दा पनि अबको दिनमा खेलकुद क्षेत्रमा राजनीतिक हस्तक्षेप कुन तहसम्म हुन्छ भन्ने मुख्य कुरा हो । तसर्थ खेलाडी र खेलकर्मीको शीर माथि उठाउनेगरी काम गर्न सक्ने नेतृत्व अबको आवश्यकता हो । त्यसका लागि राजनीतिक आवद्धतालाई आधार मानेर ‘राम्रो भन्दा हाम्रो मान्छे’ छनोट गर्ने परिपार्टी अन्त्य गर्न सकियो भने नेपाली खेलकुदले पक्कै पनि थप उचाई हासिल गर्ने थियो । होइन भने अहिले दक्षिण एसियाली खेलकुद (साग) मा ल्याएको सर्वाधिक ५१ स्वर्ण सुनाएर बर्षौसम्म बस्नुपर्ने अवस्था आउने खतरा रहन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies