२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

कतारमा मनाइयो १४८औं लखन थापा स्मृति दिवस

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन २ गते १९:०४
कतारमा मनाइयो १४८औं लखन थापा स्मृति दिवस

दोहा, कतार : कतारमा १४८औं लखन थापा मगर स्मृति दिवस मनाइएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतार, नेपाल आदिवासी जनजाति महासंघ कतार र नेपाल मगर संघ शाखा कतारको संयुक्त आयोजनामा १४८औं प्रथम शहीद क्या. लखन थापा मगर स्मृति दिवस मनाइएको हो । 

कतारको अलत्तियामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभाहलमा जनजाति महासंघका अध्यक्ष डिएन मगरको सभापतित्व तथा एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो । कार्यक्रममा निर्धारित समयभन्दा निकै ढिला गरी पुगेका कतारका लागी नेपाली राजदूत रमेश चन्द्र पौडेलको विशेष उपस्थिति रहेको थियो । 

दीप प्रज्वलन, लखन थापाको फोटोमा माल्यार्पण गर्दै अगाडि बढेको कार्यक्रममा कतारमा स्थापित न्यून संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । एक दर्जनभन्दा बढी वैचारिक र सयौं सामाजिकसहित विभिन्न संघसंस्था रहेको कतारको नेपाली समाजमा रहेका संघसंस्था प्रमुख तथा प्रतिनिधिको उपस्थिति नदेखिएकोप्रति वक्ताले कडा कटाक्ष गरे । 

उपस्थित पाहुना वक्ताहरूले स्मृति दिवसको अवसरमा शहीद लखन थापा मगरको इतिहास र योगदानको बारेमा चर्चा गर्दै लखन कुनै जात समुदायको मात्र नभइ राष्ट्रका शहीद भएको बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका थिए । वक्ताहरूले राष्ट्रिय महत्वका पर्व तथा स्मृति दिवसका लागि नेपाली दूतावासले हल उपलब्ध गराउने प्रचलन रहे पनि स्मृतिका लागी हल उपलब्ध नगराइ तानाशाही प्रवृत्ति देखाएको भन्दै राजदूतकै अगाडि कटाक्ष समेत गरेका थिए । सरकारले गरेको सरकारी बिदा कटौतीका बारेमा समेत वक्ताहरूले आवाज उठाएका थिए । 

आफ्नो शुभकामना मन्तव्य राख्दै राजदूत पौडेलले राणा शासनको सुख, सुविधासहित बिलासी जीवन बिताउनुको सट्टा शासनकै विरुद्ध लड्न नेपालमा पहिलो पटक सशक्त आन्दोलनको सुरु गरेका शहीद लखनको बारेमा लामै व्याख्या गरे । उनले लखनसहित सबैलाई झुन्डाएर हत्या गरिएको स्मरण गराउँदै सबै शहीदहरूप्रति श्रद्धा सुमन व्यक्त गरेका थिए ।

आफ्नो धारणा राख्ने क्रममा राजदूत पौडेलले हल उपलब्ध नगराइ दूतावास तानाशाही बनेको भन्ने वक्ताहरूको शब्दको खण्डन गर्दै दूतावाससँग सुविधायुक्त हल नभएको र राष्ट्रिय सम्मान प्राप्त गर्ने शहीद धेरै भएको हुँदा सबैले अलग-अलग स्मृति दिवस मनाउनका लागि हल माग्न आउँदा समस्या उत्पन्न हुन सक्नेतर्फ दूतावास सचेत रहेको बताए । पौडेलले कतारमा रहेका सबै नेपाली र संघसंस्थाहरुलाई दूतावासले समान व्यवहार गर्ने प्रतिबद्धता जनाए । 

आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि भट्टले विभिन्न कालखण्डमा राष्ट्रका विभिन्न परिवर्तनका लागि आफ्नो प्राण आहुति दिने शहीदरूको सम्मानमा कम्तीमा एक दिन शहीद दिवस घोषणा गरेर एकमुष्ट शहीद दिवस मनाउन सके उत्तम हुने विचार राखे । उनले दूतावासमा राष्ट्रिय महत्वका बुद्ध जयन्ती, विश्वकर्मा पूजा, दशैंमा टीका जमरा ग्रहण जस्ता कार्यक्रम मात्र हुने गरेको इतिहासको स्मरण राजदूतलाई गराउँदै दूतावासमा भएको एक घटना र उक्त घटनाका पीडितले न्याय पनि नपाउँदा दूतावासले आफैं नेपाली समाजसँग दुरी बढाएको प्रष्ट पार्दै राष्ट्रिय महत्वका दिवसहरू मनाउन हल उपलब्ध गराइदिन एनआरएनएका तर्फबाट आग्रह गरे ।

मगर संघका अध्यक्ष रेशम आले मगरले स्वागत मन्तव्यसहित शहीद थापाका बारेमा प्रष्ट पारेका थिए । एनसीसी कतारका महासचिव रविन मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति डिएन मगरले लखन मगरको छोरा भएर मगर संघले दिवस मनाउने गरेको स्मरण गर्दै पछिल्ला केही वर्षयता दिवस कतारमा एनआरएनए एनसीसी, जनजाति महासंघसहित सबै नेपालीहरूमाझ मनाउन लागिएकोमा खुसी व्यक्त गरे । कतारमा रहेका दर्जन बढी वैचारिक संस्थासहितका अन्य संस्था प्रमुखहरूको अनुपस्थितिप्रति लक्षित गर्दै लखन राष्ट्र र हाम्रो पनि शहीद हो भन्ने अपनत्व नभएको हो त ? भन्दै प्रश्नात्मक रोष प्रकट गरे । मगरले लखनसहित सम्पूर्ण शहीदप्रति श्रद्धा सुमन व्यक्त गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise