गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलाको महाकाली नगरपालिका वडा नं. ९ मा पर्ने दत्तु - थाप्ला सडक निर्माणका नाममा अनियमितता भएको भन्ने चर्चाले अहिले महाकाली नगर तातेको छ । सो बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पछि स्थानीय नगरबासीहरुबीच चासो बढेको हो । सो उजुरीपश्चात अख़्तियारको टोलीले सडक निर्माण कार्यको स्थलगत अध्ययनसमेत गरि सकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर निकट श्रोतले जनाएको छ ।
दत्तु-थाप्ला सडक खण्ड निर्माणका लागि अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा स्थानीय वडा नं. ९, महाकाली नगरपालिका, सुदुरपश्तिम प्रदेश सरकार तथा संघीय सरकारबाट बजेट विनियोजन गरेको थियो । उक्त सडक खण्ड निर्माणका लागि वडा कार्यालयबाट ४० लाख, नगरपालिकाबाट ४० लाख र संघीय सरकारको स्थानीय पूर्वाधार विकास साधेदारी कार्यक्रमको २५ लाख गरी एउटै योजनामा १ करोड ५ लाख विनियोजन गरिएको थियो । वडा, नगरपालिका र संघीय सरकारको सांसद विकास कोष (स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम) को बजेट पनि उक्त सडकमै विनियोजन गरिएको वडा नम्बर ९ का वडाध्यक्ष हरसिंह डाँगाले जानकारी दिए ।
वडादेखि नगरपालिका र संघीय बजेटलम्म विनियोजन गरिएको उक्त सडकमै प्रदेश सरकारबाट प्राप्त बजेट समेत खर्च गर्ने तयारी भएपनि समय अभावले खर्च गर्न सकिएको थिएन । वडाध्यक्ष डाँगाका अनुसार सुदूरपश्चिम प्रदेश सकारकाको पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४० लाख बजेट समय अभावका कारण फ्रिज गएको हो । असारमा मात्रै बजेट प्राप्त भएकाले उक्त रकम खर्च गर्न नसकिएको र फ्रिज गएको वडाध्यक्ष डागाको भनाई छ ।
वडा तथा नगरपालिकाको ४०/ ४० लाख गरि जम्मा ८० लाखको बजेट कार्यान्वयनका लागि स्थानीय महेश सिंह कार्कीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । वडा र नगरको ८० लाख बजेट कार्यान्वयनका लागि समिति गठन गरी सके पछि संघबाट प्राप्त २५ लाख बजेट पनि उक्त समितिकै जिम्मा दिइएको थियो ।उपभोक्ता समितिले राम्रो काम गरेको भन्दै त्यही समितिलाई दिनुपर्ने आवाज उठेकाले सोही समितिलाई दिइएको नगरपालिकाले जनाएको छ । एउटै उपभोक्ता समितिले वडादेखि केन्द्रसम्मको बजेट चलाउने मौका पाएको थियो तर निर्माणमा अनियमितता भएको भन्दै अख्तियारमा मुद्दा परेको छ ।
काम सम्पन्न भइसकेकाले केही रकम भुक्तानी गरिएको र २५ लाख तथा धरौटी रकम रोक्का गरिएको महाकाली नगरपालिकाका नगरप्रमुख हंसराज भट्टले मध्यान्ह राष्ट्रय दैनिकलाई जानकारी दिए ।
नगर प्रमुख भट्टका अनुसार दुईवटा स्थानीय तह जोड्ने भएकोले पनि उक्त सडकलाई नगरपालिकावे आवश्यकताका रुपमा लिएको र महत्व पनि दिएको हो । अघिल्लो आर्थिक बर्षको बजेट बिनियोजित उक्त बाटो निर्माणको कार्य ६ किलोमीटर ट्र्याक खोल्न सफल भएबाट राम्रो काम सम्पन्न भएको नगरपालिकाको मूल्यॉकन छ । नगर प्रमुख भट्टले भने , ‘ बाटो निर्माण भए पछि ठेका गाउँमा पर्ने सडक खण्डमा बर्षाले माटो बगाए पछि स्थानीयको केहि बालीमा क्षति पुगेको सॉचो हो । पीडितलाई नगरपालिकाले राहतसमेत उपलब्घ गराइ सकेको छ । भूक्षय हुने छाउँमा यस पटक पनि महिला लक्षित कार्यक्रम अन्तरगत करिव चार लाख रुपैयॉ बजेट छुट्याई तार जाली लगाइएको छ । ‘
सडक निर्माण सम्पन्न भएपनि उक्त सडक सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले २५ लाख बजेट र धरौटी रकम रोक्का गरिएको नगर प्रमुख भट्टको भनाई छ । केहिले राजनीतिक खेलोको बिषय बनाएर बिषय उछालिएको हुन सक्ने बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको विषयबारे उपभोक्ता समिति अध्यक्ष कार्कीले भने व्यक्तिगत इबिका कारण उजुरी हालिएको आरोप लगाएका छन् । सडक निर्माण गर्दा एउटै ठाउँमा केही घुम्तीहरु बढी परेकोले ती ठाउँ बाहेक सम्पूर्ण काम राम्रोलंग सम्पन्न भइसकेको जो कोहिले पनि हेर्न बुझ्न सक्ने समिति अध्यक्ष कार्कीले दाबी छ । उक्त सडक निर्माण अनियमितता बारेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले हेरिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies