- शुभ चन्द्र राई, खोटाङ
मैले दुरुपयोग गर्छु भनेर
रङ घोप्ट्याएको क्यानभासमा
तिमी नै कसरी आइपुग्याै मुस्कुराउन ?
मैले नदेखुँ भनेर
छलिन राेजेकाे जीवनकाे अप्ठ्यारो बाटाेमा
कसरी आइपुग्याै हात समाउन ?
सम्झना आउने डरले
जवर्जस्ति निदाएकाे निन्द्रामा
किन आइपुग्याै सपना बनेर ?
कसरी आइपुग्याै ?
म जीवनविनाको मान्छेकाे जिन्दगी बनेर।
तिमी आइपुग्दासम्म
म खालि खालि थिएँ ।
तिमी आइपुगेपछि
हिमालहरूलाई तिम्रो लागि हाँसाे मागेँ
हिमालहरूले हिउँहरू बाेलायाे ।
अचेल हिँउद वर्षा नभनि तिम्रै लागि हाँसिरहन्छ ।
पहाडहरूलाई
तिम्रो खुशि मागेँ
उस्ले लेक बेँशी र फाँटहरू बनायाे ।
उकाली, ओराली देउरालीहरू बनायाे ।
र बनायाे ऋतुहरू
जुन तिम्रै खुशिका लागि बदलिरहन्छ ।
चन्द्रमासँग तिम्रो लागि उज्यालाे मागेँ
र
तिमी अँध्यारिएकाे साँझहरूमा
तिम्रो मनकाे आगनभरि तिमीसँगै चम्किन आइपुग्छ ।
तिमी हराउन सक्ने वा अलमलिन सक्ने
भ्रमपूर्ण क्षितिजहरू बनाएकाे सजायस्वरूप
आकाशलाई जिम्मा दिएकाे छु तिम्रो सुरक्षाकाे ।
त्यसैले बारम्बार तिम्रो रखबारीकाे लागि
बादलहरू गस्ती पठाइरहन्छ ।
हावाहरू जासुसी पठाइरहन्छ ।
इन्द्रेणीसँग मागेकाे छु
तिम्राेलागि खुशिकाे रङहरू
जुन तिम्रो ओठमा राखिदिनु छ ।
नदीहरुसँग मागेकाे छु
निश्चल चञ्चलता
जुन तिम्रो आँखामा राखिदिनु छ ।
गुलाफसँग मागेकाे छु
एउटा राताे थुङ्गा
जुन तिम्रो चुल्ठाेमा सिउरीदिनु छ ।
तिम्रोलागि मात्रै कति मागुँ भनेर
म पनि स्वार्थि बनेँ
र मागिपठाएँ तिमीलाई माया गरिरहने एऊटा मुटु !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies