काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) का कारण वैधानिकरुपमा पठाउने प्रक्रिया रोकिएपनि वैदेशिक रोजगारीका नाममा विगतदेखि हुँदै आएको ठगी धन्दामा कमी आउन सकेको छैन । नेपाल प्रहरीले साउन महिनाको तीन हप्ताको अवधिमा सार्वजनिक गरेको तथ्यांकअनुसार वैदेशिक रोजगार ठगीका आधा दर्जन घटनामा विभिन्न व्यक्तिहरु पक्राउ परेका छन् । ठगीका घटनामा युरोप अमेरिकाजस्ता विकसित देशमा आकर्षक तलवसहितको रोजगारी दिलाइदिने प्रलोभन दिई लाखौं रकम असुलिएको छ ।
वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले साउन १९ गते चितवन गर्दी गाविस ९ बस्ने ४० वर्षीया कमला कुमारी थापालाई पक्राउ गर्यो । उनले पोल्याण्डमा आकर्षक तलवमा काम लगाइदिने र त्यहाँबाट यूरोपका अन्य देश जान सकिने भन्दै विभिन्न प्रलोभनमा पारी १७ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दाबी छ । ठूलो रकम लिएर थापा फरार रहेको भन्ने उजुरी परेपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले चितवन प्रहरीको समन्वयमा उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो ।
त्यस्तै कुवेत, साउदी अरब र ईराकमा राम्रो रोजगारी दिलाइदिने भन्दै भारतमा लगेर ६ महिलालाई बन्धक बनाएको अभियोगमा प्रहरीले काठमाडौंबाट साउन १६ गते २ जनालाई पक्राउ ग¥यो । धरान उपमहानगरपालिका ११ बस्ने खोटाङ राबाबेसीका पुष्प परियार र काठमाडौं लाजिम्पाट बस्ने दाङ घोराहीका प्रविन शाहले झापा, मोरङ र पर्वतका ६ जना महिलालाई खाडीमा रोजगारी दिलाइदिने भन्दै उनीहरुलाई भारतको नयाँ दिल्ली लगेर शारीरिक तथा मानसिक यातना दिएको प्रहरीको भनाइ छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरो र शान्ति पुनस्र्थापना केन्द्र नयाँ दिल्लीको सहयोगमा ती महिलाहरुको उद्धार गरी काठमाडौं ल्याइएको थियो ।
त्यस्तै रोजगारीका लागि चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले धादिङ निलकण्ठ नगरपालिकाका रमेश कमरलाई पनि पक्राउ गरेको छ । उक्त देश पठाइदिने प्रलोभनमा पारी उनले ११ लाख १३ हजार रुपैयाँ रकम उठाएको उजुरी परेको थियो । उनी काठमाडौंको बसुन्धाराबाट पक्राउ परेका हुन् । रमेशले विभिन्न देश पठाइदिन्छु भनेर अन्य १५ जना व्यक्तिहरूबाट समेत १८ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।
त्यस्तै अमेरिका लैजाने प्रलोभनमा पारी ठगी गरेको अभियोगमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठे गाउँपालिकाका कोपिला शर्मा र अमिसा केसी पनि पक्राउ परेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफूलाई अमेरिकाको डिभी परेको र अमेरिकाको क्यालिफोर्नियामा स्थायी बस्दै आएको भन्दै बिहे गरी अमेरिका लैजाने भनी १३ लाख २० हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । उनीहरुले ठगी गर्न मित लगाई नक्कली नाता जोड्ने गरेको समेत पाइएको प्रहरीको भनाइ छ ।
त्यस्तै लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा प्रहरीले चितवन राप्ती नगरपालिकाका उद्धव घतानी र झापा मेची नगरपालिकाका गोरे भन्ने नर बहादुर श्रेष्ठलाई पनि पक्राउ गरेको छ । घतानीले एक युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने भन्दै १ लाख ६० हजार रुपैयाँ र १ हजार अमेरिकी डलर लिई दुबई हुँदै लिबियाको त्रिपोली पु¥याइ एक वर्षदेखि बन्धक बनाएको पाइएको प्रहरीको दाबी छ । श्रेष्ठमाथि घतानीलाई सहयोग गरेको आरोप छ ।
त्यस्तै उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका ४ जना महिलाहरुलाई कुवेतमा राम्रो तलब हुने घरायसी काममा लगाइदिने भन्दै भारतको नयाँ दिल्लीस्थित उत्तमपुरमा बन्धक बनाएको आरोपमा सिन्धुपाल्चोक चौताराका याङलाल लामा भन्ने ह्यांग लाल तामाङ पनि पक्राउ परेका छन् ।
यस्तै अमेरिकामा कम्पनी दर्ता गरी पार्टनर बनाई लग्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले अमेरिकी नागरिक डानियल ली मागिलाई पनि पक्राउ गरेको छ । उनले भक्तपुर सूर्यविनायकका टुक नारायण श्रेष्ठको एटलास सेक्युरिटी प्राईभेट लिमिटेडलाई अमेरिकामा दर्ता गरी पार्टनर बनाउँछु भनी १० लाख रुपैयाँ ठगी गरेको र अन्य २ जनालाई बिजनेस भिषामा अमेरिका लान्छु भनी प्रत्येकबाट ५ लाख रुपैयाँ उठाउने प्रयास गर्दागर्दै पक्राउ गरेको प्रहरीले बताएको छ ।
कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारी बन्द प्रायः छ । कोरोना संक्रमण केही सुस्ताएपछि सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन शुरु गरेपछि एक महिनाको अवधिमा करिब पाँच हजार जना आफ्नो पुरानो रोजगारीमा जोडिन गएका थिए ।
तर श्रम, रोजगार तया सामाजिक सुरक्षा मन्त्रालयले नयाँ श्रम स्वीकृति दिन शुरु गरेको छैन । कोरोना भाइरस संक्रमण अघि नेपालबाट नयाँ रोजगारी तथा पुनः श्रम स्वीकृति लिएर पुरानै रोजगारीमा मासिक ५० हजारको हाराहारीमा जाने गरेका थिए । कोरोना संक्रमणको विगत पाँच महिनाको अवधिमा मुलुकभित्र नयाँ रोजगार सिर्जना भएका छैनन् । होटल पर्यटन लगायतका क्षेत्रको रोजगारी पनि बन्द रहेको अवस्था छ । यस्तो अवस्थामा आकर्षक प्रलोभन दिएर ठगी गर्नेहरुले बेरोजगार युवाहरुलाई ट्र्यापमा पार्ने अनुभवीहरु बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies