काठमाडौं : नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले एथ्लेटिक्समा कीर्तिमान बनाइसकेकी छिन् । गत वर्ष भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङमा भएको एथ्लेटिक्सको सटपुटमा कीर्तिमानसहित स्वर्ण पदक हात पारेकी थिइन् ।
सटपुटमा उनले १२ दशमलव ०४ मिटरको नयाँ कीर्तिमान बनाएकी थिइन् भने राखेप च्याम्पियनसिपमा चन्द्रकलाकै नाममा ११ दशमलव ५६ मिटरको कीर्तिमान बनेको थियो ।
सट पुटमा मात्रै होइन, ज्याभलिन थ्रोमा पनि चन्द्रकलाले नयाँ कीर्तिमान बनाएकी थिइन् । ४४ दशमलव ०५ मिटर थ्रो गर्दै उनले पुरानो कीर्तिमानमा सुधार गरेकी थिइन् । उनी विभागीय क्लब नेपाल पुलिसमा रहेर एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दै आएकी छिन् ।
तर, उनी दलित भएको भन्दै झापामा कुटिएकी छिन् । उनको अहिले विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । सोमबार राति झापा मेचीनगर १९ चारआलीका राजन दर्जीलाई बचाउन खोज्दा लामगादे सहित उनका श्रीमान सुमन खातीले कुटाए खाए । चन्द्रकलाको पेटमा सात महिनाको बच्चा रहेकाले भने अप्ठेरो भएको बताइएको छ ।
गर्भवती भएपछि चन्द्रकाल लकडाउन अघि काठमाडौंबाट झापा गएकी थिइन् । विभागीय क्लबकी खेलाडी चन्द्रकलालाई प्रहरीले कोरोना महामारीका कारण काजमा झापा पठाएको थियो । उनका पतिले काठमाडौंमा जुत्ता पसलको काम थालेपनि लकडाउन भएपछि उनी पनि काम विहीन थिए । जसका कारण उनीहरु झापामा गएर चिया पसल खोलेर बसेका थिए । चिया पसलमा चन्द्रकलाले सहयोग गर्दै आएकी थिइन् ।
तर, सोमबार राति राजन दर्जीलाई लखेट्दै आएका उनका छिमेकी दुर्गा श्रेष्ठ र विष्णुलाई चन्द्रकलाले रोक्न खोज्दा उनीहरुले उल्टै ‘तँ पनि दलित होस’ भन्दै निर्घात कुटेका थिए । त्यतिबेला अहिलेको समयमा पनि जातीय विभेदको कुरा नगर्नुस् भनेर आफूले सम्झाउन खोज्दा उल्टै कुटिएको चन्द्रकलाले बताइन् ।
घटनापछि चारआलीस्थित प्रहरी चौकीमा उजुरी गर्न चन्द्रकला पुगेकी थिइन् । तर उल्टै प्रहरीले मिल्न सुझाव दिएको थियो । रातिहुँदै गएपछि गर्भवति समेत रहेकी चन्द्रकलाले असहज महशुस गरेपछि स्थानीय मनकामना अस्पताल लगियो र त्यहाँ पनि ठिक नभएपछि बीएण्डसी अस्पताल लगिएको उनका पति सुमनले बताए । उनले भने ‘राति १२ बजेपछि छटपटाउन थालिन र उनलाई मध्यरातमा मनकामना अस्पताल हुँदै बीएण्डसी पुर्याएँ ।’ चन्द्रकलाको स्वास्थ्य अवस्था सामान्यरहे पनि पेटको बच्चालाई पनि असर परेकाले आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।
नेपालमा जातिय विभेद उन्मुलन भएको घोषणा कागजमा गरिए पनि व्यवहारमा लागू हुन सकेको छैन । जसका कारण यस्ता घटनाहरु भइरहन्छन् । रुकुम पश्चिमको नरसंहार जातिय विभेदकै एउटा रुप थियो । तर अहिले पनि यस्ता घटनाले समाजको अहिलेको व्यवस्थालाई पनि एक पटक प्रश्न गर्नुपर्ने बेला भएको छ । अस्पतालमा उपचाररत चन्द्रकलाले जातिय विभेदविरुद्ध आवाज उठाउने बताइन् । उनले भनिन् ‘जति कुटाई खाएपनि विभेदविरुद्ध बोल्न छोड्दैन ।’ विभेदविरुछ बोल्दा मारे पनि मारुन किन अपमान सहन उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीले चन्द्रकला र उनको श्रीमानलाई आक्रमण गर्ने श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएको छ । जातीय विभेद गरेको अभियोगमा निवेदन दर्ता भएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार जिल्ला अदालत झापाबाट पाँच दिन म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ । मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला परियारको अगुवाइमा चन्द्रकलाका श्रीमान् सुमनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । ‘त्यो परिवारले बारम्बार जातीय विभेद गरेको गुनासो आइरहेको थियो,’ परियारले भनिन्, ‘जातीय विभेद सहेर बस्नुहुँदैन भनेरै हामीले मुद्दा दर्ता गर्न लगाएका हौँ ।’
घटनामा संलग्नलाई कारबाही गर्न दलित अधिकारकर्मीले माग गरेका छन् । जातीय विभेदका घटनामा कारबाही भएको नजिर बसाउन सके त्यस्ता घटनामा कमी आउने दलित अधिकारकर्मी हुकुमसिंह नेपाली बताउँछन् ।
जाहेरी दर्ता गराएको सुनेपछि मिल्न भन्दै दुर्गाकी श्रीमती विष्णु भने चन्द्रकला उपचाररत बिएन्डसी अस्पतालमा पुगेकी थिइन् । उनले माफी माग्दै मिलाइदिन आग्रह गरिन् । ‘उपचारमा लागेको सबै खर्च बेहोर्छु, मुद्दा नलगाइदिनु भन्दै थिइन् । कामना गर्छु बच्चालाई केही नहोस् पनि भनिन्,’ चन्द्रकला भन्छिन्, ‘तर, मैले अपमान सहेँ भने सिंगो दलित समुदायले अपमान सहनुपर्छ भनेर उजुरी दर्ता गराएका हौँ ।’
अदालतबाट म्याद थप गरेर ल्याएपछि विष्णु बेहोस भएर लडेकाले उपचारका लागि बिएन्डसी अस्पतालमै पुर्याइएको इलाका प्रहरी कार्यालय धुलाबारीका निरीक्षक कैलाश चौधरीले जानकारी दिए । ‘सुगर, प्रेसरको बिरामी रहिछिन्, बेहोस भएपछि अस्पताल लगेको हौँ,’ उनले भने, ‘श्रीमानचाहिँ हिरासतमा छन् ।’
संघको सहयोग
जातीय विभेदको कारण कुटपिटबाट घाइते भएकी एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी लामगादेको उपचारका लागि एथ्लेटिक्स संघले नगद सहयोग गर्ने भएको छ । झापामा चन्द्रकला र उनका श्रीमान सुमन खातीलाई स्थानीय दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले कुटपिट गरेका थिए ।
कुटपिटका कारण घाइते भएकी उनको अहिले विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनलाई एथ्लेटिक्स संघले उपचारका लागि तत्काल २१ हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । संघका अध्यक्ष राजीब विक्रम शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत घटनाको भत्सर्ना गर्दै यस्ता गतिविधिले नेपाली समाज र सिंगो खेलकुद क्षेत्रको शिर निहुरिएको बताएका छन् ।
नेपाली समाजमा जातीय विभेदका कारण पनि अहिलेको अवस्थामा यस्तो घटना हुनु निकै दुःखद् पूर्ण रहेको शाहको भनाइ छ । त्यस्ता ब्यक्तिलाई कारवाहीका लागि नेपाल एथ्लेटिक्स संघले माग गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies