मन्त्रिपरिषद् बैठक नबसेको आइतबार एघार दिन हुन्छ । अघिल्लो बिहीबारदेखि मन्त्रिपरिषद बैठक बोलाइएको छैन । मन्त्रिपरिषद बैठक नबसेकाले विभिन्न मन्त्रीहरुसँग समन्वय गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले स्वदेश आउन चाहने नेपालीका लागि विभिन्न देशमा उडान थप गरेका छन् । मन्त्री भट्टराईले प्रधानमन्त्री, उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रममन्त्रीसँग समन्वय गरी विदेशमा रहेका नेपाली ल्याउन अन्तर्राष्ट्रिय उडान थप गर्ने निर्णय लिएका हुन् ।
तर, यदि मन्त्रिपरिषद् बैठक नियमित बस्थ्यो भने कोभिड महामारीका कारण अलपत्र परेका र स्वदेश आउन चाहने नेपाली ल्याउन उडान थप गर्नेबारे उनले बैठकमै मन्त्रालयगत रुपमा अजेण्डा प्रस्तुत गर्थे र मन्त्रिपरिषदबाट निर्णय हुन्थ्यो । मन्त्रिपरिषद नबसेकाले मन्त्री भट्टराईले धेरैतिर समन्वय गर्नुपरेको हो । जबकी यसबेला सरकार सधैं बैठक बस्न तयार हुनुपर्ने बेला हो । आठ महिना लामो लकडाउन र निषेधाज्ञाका कारण आम जनजीवन नराम्रोगरी बिग्रिएको छ भने रोग र भोकको पीडा झनै बढ्दै गएको छ । यस्तो बेला हप्तामा दुई दिन (जो नियमित बस्ने गरेका छन्) मात्रै नभएर दिनहुँ मन्त्रिपरिषद् बैठक बसेर कार्यसम्पादन समीक्षा र योजना बनाउनुपर्ने हो ।
प्रधानमन्त्रीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रीहरुको अनुभव र मन्त्रालयगत मूल्याङ्कन कोभिड महामारीबाट मुलुक र जनताको उद्धार गर्न उपयोगी सिद्ध हुने थियो । तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्ति संघर्षका कारण मन्त्रिपरिषद् बैठक लगातार प्रभावित बन्दै आएको छ भने सरकारको ध्यान मुलुकको समस्याप्रति नभएर आफ्नो पद जोगाउन र नेताहरु बलियो बन्नेमा केन्द्रीत बनेको छ ।
त्यसैपनि सरकारको विश्वास आम नागरिकमा गुम्दो छ । दुई तिहाइ नजिकको संसदीय जनतम प्राप्त नेकपाले जनअपेक्षा अनुरुप काम गर्न नसकेको समीक्षा हुँदै आएको छ । यसैबेला विश्वव्यापी कोभिड महामारीबाट नेपाल समेत अछुतो रहन सकेन । औषधि उपचार फेला परिनसकेको यो महामारी विरुद्ध लड्न जनताले सरकारलाई लगातार साथ दिदै आएका छन् । तर, जनताको यो साथलाई सरकारले कमजोरीका रुपमा लिएको भन्दै केही समय अगाडि देशब्यापी सडक विद्रोह समेत भएको थियो । उक्त विद्रोहलाई समेत गम्भीरतापूर्वक नलिएको सरकार अझै नसुध्रिएको उदाहरणकै रुपमा एघार दिनसम्म मन्त्रिपरिषदकै बैठक नबस्नु पनि एक हो । कतिसम्म भने सञ्चार तथा सूचना एवम् प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री युवराज खतिवडा पदमुक्त भएपछि सरकारले प्रवक्ता समेत तोकेको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies