बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : नेपालमा संख्यात्मक रूपमा सहकारीले फट्को मारेको छ । तर अपेक्षितरुपमा सहकारीको गुणात्मक विकास हुन नसकेको गुनासाहरु आउने गरेका छन् । खासगरी ‘सहकारी ऐन २०४८’ पछि नेपालमा च्याउसरि सहकारीहरु स्थापना भएका छन् । सहकारीले नेपालको अर्थतन्त्रको मुहार फेर्न सक्दैन भन्ने गरिएपनि पाल्पामा भने एक सहकारीले प्रभावकारी काम गर्न सफल भएको छ ।
व्यवस्थापन पक्ष राम्रो हुँदा छोटो समयमै सहकारीले काँचुली फेर्न सकेको हो । २०७३ सालमा स्थापना भएको माथागढी बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पाल्पाको माथागढी गाउँपालिका कार्य क्षेत्र बनाएको छ । समुहमा छरिएर रहेको स–साना पुँजीलाई एकीकृत गरी ‘वित्तीय क्षमता, सामाजिक विकासमा हाम्रो अग्रसरता’ भन्ने मूल नाराकासाथ स्थापना भएको यस सहकारीले सदस्यहरूको आर्थिक स्तर वृद्धि गर्दै जीवनस्तर उकास्नका लागि उद्यमशीलता तथा व्यवसायमा प्रोत्साहन गर्न ध्यान दिएको सहकारीका अध्यक्ष राजकुमार पन्थीले बताए ।
मध्यान्ह राष्ट्रिय दैनिकसँग कुरा गर्दै अध्यक्ष पन्थीले भने, ‘सहकारीले किसानले उत्पादन गरेको कृषि उपजहरूलाई बजारको अभाव हुन नदिन ‘कृषि एम्बुलेन्स’ सञ्चालन गरी उत्पादन उपभोक्ता बीचको पुलको काम गरिरहेको छ ।’
किसानबाट संकलन गरिएको तरकारी ‘कृषि एम्बुलेन्स’ मार्फत पाल्पा, रुपन्देही, स्याङ्जा र नवलपरासीसम्म पुर्याउने गरिएको अध्यक्ष पन्थीको भनाइ छ । उनका अनुसार सहकारीले किसानका धान, गहुँ, मकै तथा अन्य खाद्यन्न कुटानी पिसानीको निम्ति सहुलियतपूर्ण ढंगले ‘कुटानी पिसानी मिल’ सञ्चालन गरेको छ ।
सहकारीका सेयर सदस्यहरु तथा समुदायको आर्थिक स्तर वृद्धि र वातावरणीय सन्तुलन कायम गर्न, आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहका लागी फलफुल तथा अन्य बिरुवाहरू कागती, आँप, कटहर, दालचिनी, बडहर, राइ खनिया, कुरिलो, अंगुर, बकाइनो, टिमुर जातका फलफूल, घाँसपात तथा अन्य जातका बिरुवाहरु निःशुल्क उपलब्ध गराइएको अध्यक्ष पन्थीले बताए ।
करिब १० हजार बिरुवा चिदिपानी, हुमिन रुप्से, कसेनि, झडेवा क्षेत्रमा वितरण गरिएको उनको भनाइ छ । कागती, आँप तथा टिमुरले तीन देखि पाँच वर्षभित्र प्रतिफल दिने र सदस्यहरुको आर्थिक स्तरमा टेवा पुग्ने लक्ष्य राखिएको सहकारीले जनाएको छ । सहकारीको अभियानमा समुदाय स्तरबाट सहयोग भएको र सहकारीको सदस्यता लिई सेवा लिने कार्यमा समेत सहभागी हुन सहकारीका सचिव विजयदीप पन्थीले सबैलाई आग्रह गरेका छन् ।
सचिव पन्थीका अनुसार सहकारीले प्रदेश सरकारसँग र माथागढी गाउँपालिकासँग समन्वय गरी सदस्यहरुलाई कृषि सामग्री अनुदान, कृषकहरुलाई हाते ट्याक्टर, धान मिल स्प्रे ट्यांकी, मिनी मिल वितरण गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies