काठमाडौं : बहराइनका राजकुमारसहितको टोली हिमाल आरोहणका लागि नेपाल आइपुगेको छ । बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली चढेको शेख ईशा एयरबेसको विशेष विमान गएराति करिब १२:३० बजे बहराइनबाट नेपाल प्रस्थान गरेको थियो । बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको हो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।
भदौ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको राजकुमारसहितको टोलीलाई हिमाल आरोहणका लागि नेपाल आउन स्विकृति दिएको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक नेपाल आएको बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।
पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व क्वारेन्टाईनमा रहेको र कोभिड – १९ संक्रमण भए/नभएको परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि टोलीले यात्रा तय गरेको राजदूतावासले जनाएको छ ।
करिब २ महिना समयावधिको कार्यक्रमसहित नेपाल रहने राजकुमारसहितको टोलीले पूर्वतयारीको रूपमा लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् भने सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अनुमान छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies