परासी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकमा अहिले देखिएको असन्तुष्टि आक्रोशमा परिणत भएको बताएका छन् ।
राजनीतिक दलप्रति नागरिकमा असन्तुष्टिसँगै आक्रोश बढेको र त्यही आक्रोशमा घ्यू थपेर व्यवस्थामाथि नै प्रहार गर्नका लागि केहीले दिवास्वप्न देखेको उनले बताए ।
सुनवलमा बुधबार आयोजित सम्मेलनमा बोल्दै महामन्त्री थापाले आक्रोशको प्रमुख कारण भ्रष्टचार भएकाले त्यसतर्फ राजनीतिक दल गम्भीर हुनुपर्ने सुझा दिए ।
अहिले केही तत्त्वहरूले असन्तुष्ट जनतालाई अब देश बन्दैन भनेर निरास बनाउँदै व्यवस्थामाथि नै प्रहार गर्ने दिवास्वप्न देखेकाले त्यसका लागि नागरिकसँग संवाद थाल्न आवश्यक रहेको उनको भनाइ थियो ।
नागरिकमा सबैभन्दा बढी आक्रोश भ्रष्टचार बढेको र भ्रष्टचारीलाई कारबाही नभएको प्रति देखिएको भन्दै महामन्त्री थापाले त्यसतर्फ राजनीतिक दल गम्भीर हुनुपर्नेमा बताए ।
‘अहिले अख्तियारले पनि छानिछानी मुद्दा लगाउने कार्य गरेको छ । लामो समयसम्म त्यस्ता मुद्दा टुंगो लागेका छैनन् । यसरी जनतामा आक्रोश बढ्दै गएको छ । अब अख्तियार र सरकारसँग चित्त नबुझे छुट्टै आयोग गठन गरेर भ्रष्टचार गर्ने कसैलाई पनि नछाडौं । नागरिकको आक्रोश कम हुन्छ,’ उनले भने ।
देशमा भएको राजनीतिक परिवर्तनपछि विकास निर्माणदेखि जनताको जीवनस्तर सुधार हुँदै गए पनि दलहरूले त्यसलाई बुझाउन नसक्दा जनतामा निराशा छाउनु स्वभाविक भएको उनको भनाइ छ । ‘२०६२ सालमा जन्मेको बच्चा अहिले बुझ्ने भएको छ ।
त्यसअघिको नेपालीहरूको अवस्था कस्तो थियो र अहिले कस्तो थियो भन्नेबारे हामीले उसलाई बुझाउन सकेनौं र उनीहरूमा अहिलेको व्यवस्थामा निराशा छाउन थालेको छ । त्यसैले पहिला हामीले नागरिकसँग संवाद गरेर उनीहरूका समस्या बुझ्ने कोसिस गरौं,’ थापाले भने ।
संघर्षबाट ल्याएको व्यवस्था र संविधानलाई पनि सुधार गरेर अघि बढ्नसक्ने भएकाले युवा समूहलाई अहिले सडकमा देखिने मनोरञ्जनमा नलाग्न उनले आग्रह गरे ।