२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

छचल्किदो ‘प्रचण्ड’ राजनीति 

hardik ivf
जीवन शर्मा
२०८१ चैत १ गते ०६:३०
छचल्किदो ‘प्रचण्ड’ राजनीति 

काठमाडौं : अस्थिर राजनीतिको एउटा सशक्त खेलाडीको पहिचान बनाएका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलाबेला राजनीतिलाई छचल्क्याउने अभिव्यक्ति दिँदै आएका छन् । विगत ८ महिनादेखि प्रमुख प्रतिपक्षी बेन्चमा पुगेका प्रचण्डको पछिल्लो अभिव्यक्तिले पुनः यस्तै संकेत गरेको छ । 

उनको अभिव्यक्तिले राजनीतिक अस्थिरतालाई नै बल पु¥याउने छ । १० वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रिया हुँदै मूलधारको संसदीय राजनीतिमा आएका प्रचण्डको अधिकांश समय सत्ता केन्द्रित राजनीतिमै बितेको छ । सधैं सत्ताकै वरिपरि घुमेका प्रचण्ड र उनको दल सत्ताबाहिर पुगेसँगै मुलुकको राजनीतिलाई थप छचल्क्याउने अभिव्यक्ति दिँदै आएका छन्, जसले अस्थिरतालाई मलजल गर्ने गरेको राजनीतिबृत्तमा टिप्पणी हुने गरेको छ ।

पछिल्लो पटक राजावादीहरूको आन्दोलनप्रति कटाक्ष गर्दै प्रचण्डले सरकारका गलत काम र असफलताका कारण प्रतिगामीहरू सलबलाउन थालेका टिप्पणी गरे । सरकारकै कमजोरीका कारण राजावादीहरू सलबलाएका बताउँदै उनले भने, ‘जनताको उपलब्धि उल्टाउने कोसिस भएको छ । सरकारका गलत काम र प्रतिगामी कदमविरुद्ध जुध्नुपर्ने भएको छ । ८ महिनाअघिसम्म असन्तोष थिएन ।’

उनले वर्तमान कांग्रेस–एमाले गठबन्धनको सरकार आएपछि गुठीपीडित, लघुवित्तपीडित, सहकारीपीडित र शिक्षक पनि आन्दोलनमा भएकाले देशको स्थिति जटिल हुँदै गएको आरोप लगाए । ‘सरकारले जनतासँग संवाद गर्ने हैसियत गुमाएको छ’, उनले थपे, ‘यस कारण राजावादी हौसिए । अहिले सडकमा ओर्लिएर सल्बलाएका छन् । यसमा देशभित्र र बाहिरका चलखेल मिसिएका छन् ।’

उनको यो अभिव्यक्तिले वर्तमान व्यवस्थाप्रति नागरिकको वितृष्णालाई थप बल पुर्‍याएको आमटिप्पणी भएका छन् ।ुराना राजनीतिक दलहरूप्रति बढेको नागरिकको असन्तुष्टिलाई आशामा बदल्न सबै दल जिम्मेवार हुनु्पर्ने नेताहरूले बताएका छन् ।  

तर, पूर्वप्रधानमन्त्री दाहालको अभिव्यक्ति गैरजिम्मेवार भएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताए । प्रतिपक्षी दलहरूले धारिलो प्रश्न गर्न पाउने तर सबै दोष सरकारलाई मात्र लगाउनेभन्दा दलहरू एकअर्काका सहकर्मी भएर समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रतिपक्षी दलका नेतालाई खतरै कुरा भनेजस्तो लाग्छ होला । अहिले कोभन्दा को खतरा भन्ने प्रतिस्पर्धा चलेको छ । क्रान्तिकारी कुरा गरेर मात्र नागरिकका आक्रोश र असन्तुष्टिहरू आशामा बदल्न सकिँदैन । यो व्यवस्थाका पक्षधर सबै दल र नेताहरूले जिम्मेवार भएर तथा यथार्थमा जनताका पक्षमा काम गर्नुपर्ने छ ।’

गत आमनिर्वाचनपछि नेपाली कांग्रेससँगको चुनावी गठबन्धन तोडेर नेकपा एमालेसँग सरकार बनाएका थिए । त्यसको २ महिनामै फेरि उक्त गठबन्धन तोडेर कांग्रेससँग सत्ता गठबन्धन गर्दै प्रधानमन्त्री भइरहेका प्रचण्डले १ वर्षपछि पुनः एमालेसँगै मिलेर प्रधानमन्त्री खाइरहे ।

१ वर्षमा ३ पटक गठबन्धनको काँध फेरेर अस्थिरतामा रमाएका प्रचण्डप्रति विश्वास टुटेका कांग्रेस–एमालेले ३० असारदेखि सरकार बनाएका छन् । योसँगै सत्ताच्युतमा परेका प्रचण्डले सडकदेखि सदनसम्म सरकारलाई गाली गर्नेबाहेक आफ्ना एजेन्डा जनतामाझ नलगेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषक विष्णु पन्थी भन्छन्, ‘राजनीतिप्रति नागरिकको अविश्वास बढ्नुको मुख्य कारण आफू सत्तामा हुँदा मुलुकको अवस्था सबै ठीकठाक थियो र सत्ताबाहिर जानेबित्तिकै सबै भत्कियो भन्ने चरित्रले पनि काम गरेको छ ।’ 

अध्यक्ष प्रचण्ड सत्ताबाहिर पुगेसँगै थालेको विभिन्न अभियानमा पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका थिए । ‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’, अध्यक्ष प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं ।’ 

तराई–मधेश जागरण अभियानमा उनले पार्टीले केही त्रुटि गरेको स्वीकार गर्दै अब गम्भीर आत्ममीक्षासहित पार्टी आफ्नै वर्ग र समुदायमा फर्केको पनि बताए पनि उनको नजर सत्ताकै वरिपरि घुमेको देखिन्छ ।

प्रतिपक्षको हैसियतमा सदनमा खेल्नुपर्ने प्रचण्डको भूमिकाप्रति आमरूपमा टिप्पणी भइरहेका छन् । उनले सत्तामा रहेका नेताहरूलाई गाली गर्ने मात्र भन्दा पनि मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई सुूक्ष्म विश्लेषण गरेर सुधारको खाका ल्याउनुपर्नेमा प्रधानमन्त्रीको कुर्सीलाई मात्र केन्द्र भागमा राखेर राजनीतिक अभिव्यक्तिहरू दिने गरेका राजनीतिक विश्लेषकहरू बताउँछन् ।

सत्ता टिकाउन क्रान्तिका सबै संरचना बिर्सिएर शान्ति, समृद्धि र विकासवादीको रूप धारण गर्ने उनको स्वभाव र क्षमता वर्ग, समुदाय, जातजाति, भाषा र भेषअनुसार फरक ढंगले प्रस्तुत हुने रहेको माओवादीकै कतिपय नेताहरूले बताउने गरेका छन् ।

पछिल्लो समय पार्टीको केन्द्रीय समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले नै दाहालको प्रवृत्तिप्रति असहमति जनाएका थिए । पार्टीका नेताहरूलाई थाहै नदिई नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीमा भित्र्याउने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई उपाध्यक्ष दिएर ल्याउने योजना बनाएपछि माओवादी नेताहरू रुष्ट थिए । सत्ता राजनीतिमा होस् वा पार्टीको आन्तरिक राजनीतिमा, उनको चकचकले केही न केही तरंग ल्याउने र त्यसले अस्थिरतालाई प्रश्रय दिने गरेको नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले मध्यान्हलाई बताए ।

ADV

सम्बन्धित खबर

Advertise