काठमाडौं : कोरोना भाइरसको बढ्दो संक्रमणले अन्तर्राष्ट्रिय श्रम बजार पुनः जोखिमको घेरामा परेको छ । गत वर्ष चीनको वुहान प्रान्तमा देखा परेको कोरोना भाइरसको फैलँदो संक्रमणका कारण अस्तव्यस्त बनेको अन्तर्राष्ट्रिय श्रम बजार विभिन्न देशले शुरुमा लागू गरेका आवागमन नियन्त्रण आदेश खुकुलो बनाएपछि केही सहज भएको थियो । तर कोरोना संक्रमण पुनः तीव्र गतिमा फैलँदै गएपछि नेपाली कामदार रोजगारीमा जाने देशहरुमा फेरि कडाई शुरु गरिएको छ ।
नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेसियामा सोमबार रातिबाट प्रमुख शहरहरुमा पुनः आवागमन नियन्त्रण आदेश जारी भएको छ । आगामी डिसेम्बर ३१ पछि नयाँ कामदारको भिसा जारी गर्ने बताएको मलेसियामा संक्रमण बढ्दै गएपछि विदेशी कामदारका लागि नयाँ भिसा जारी गर्ने समय लम्बिन सक्ने बताइएको छ ।
नेपाली कामदारहरुको अर्को आकर्षक गन्तव्य मुलुक कतारले रोजगारीका लागि आफ्नो मुलुक प्रवेश गर्ने विदेशी कामदार क्वारेन्टिनमा बस्नुपर्ने अवधि डिसेम्बर महिनाको अन्तिमसम्म लम्ब्याएको छ । कतारले स्वदेश फर्किने आफ्ना देशका नागरिक, उनीहरुका सहयोगसहित आप्रवासी कामदार अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।
डिस्करभर कतारका अनुसार यसअघि अक्टोवर ३१ सम्मका लागि क्वारेन्टिन बस्नुपर्ने प्रावधान छ । कतारले आगामी नोभेम्बर–डिसेम्बरका लागिसमेत होटल बुकिङ खुला गरिएको बताएको छ । क्वारेन्टिन बस्ने विदेशीले न्यूनतम २ हजार एक सय कतारी रियाल करिब ६० हजार नेपाली रुपैयाँ तिर्नुपर्ने छ ।
कतारले यसअघि जारी भएका भिसामा कतार प्रवेश गर्नेहरुलाई मात्र प्रवेश अनुमति दिने भन्दै नयाँ भिसामा कतार आउनेहरुलाई नोभेम्बरपछि मात्र अनुमति दिने बताएको छ । कतारले कम जोखिम भएका देशबाट आफ्नो मुलक प्रवेश गर्नेहरुले घरमै बस्न पाउने र बाँकीले सरकारले तोकेका क्वारेन्टिनमा बस्नुपर्ने बताएको छ ।
कोरानो संक्रमणको बीचमा पनि उत्पादन तथा निर्माण क्षेत्रलाई सञ्चालन गरिरहेको मलेसियाले संक्रमणलाई रोक्न एक लाख पचास हजारभन्दा बढी कोरोना संक्रमित भएका विश्वका २५ मुलुकका नागरिकहरुलाई यात्रा प्रतिवन्ध लगाएको छ । करिब सवा लाख संक्रमित रहेको नेपाललाई भने मलेसियाले यात्रा प्रतिवन्धको सूचीमा समवेश गरेको छैन ।
त्यस्तै कोरोना संक्रमण पुनः बढ्न थालेपछि युरोपका विभिन्न देशमा पनि आवागमनमा नियन्त्रण गर्न थालिएको छ । चेक रिपब्लिकले ३ हप्ताका लागि आंशिक लकडाउन गरेको छ । नेदरल्याण्ड्सले पनि कोरोना संक्रमण रोक्न आंशिक लकडाउन गर्दै मास्कको प्रयोगलाई अनिवार्य गराएको छ । अष्ट्रिया, इटली लगायतका मुलुकले पनि संक्रमण फैलन नदिन उच्च सावधानी अपनाउन शुरु गरेको बीबीसीले जनाएको छ । विश्वभर कोरना संक्रमण तीव्ररुपमा फैलिरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies