सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेललाई राष्ट्रिय राजनीतिमा एक चतुर राजनीतिज्ञको रुपमा चित्रण गर्ने गरिन्छ । नेकपाभित्रै उनले खेल्ने भूमिका र ल्याउने परिणामले नेकपाभित्र समेत पौडेललाई प्रभावशाली मानिन्छ । हुन पनि स्थानीय, प्रदेश र संघमा दुई तिहाइ जनमत सहित सरकार बनाएको शक्तिशाली पार्टी नेकपाको महासचिव उनले कुनै निर्वाचन जितेर बनेका होइनन् । दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी बनेको नेकपामा उनले खेलेको भूमिकाकै कारण शीर्ष नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल लगायत उनलाई महासचिव राख्न सहमत भए ।
महासचिवकै रुपमा उनले नेकपाभित्र महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । नेकपाभित्र देखिने अनेकौ विवाद हल गर्न पौडेल अग्रमोर्चामा देखिने गरेका छन् । उनको पदीय भूमिका र समन्वयमा बढी रुचि देखाउने स्वभावले पनि पौडेल हरेक विवाद सुल्झाउने केन्द्रभाग देखिने गरेका छन् । पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाएर अर्थमन्त्रालय खाली गर्ने, गएको मंसिरमै अब यो कार्यकालभर सांसद हुन्न भनेका उपाध्यक्ष वामदेव गौतमलाई सांसद बन्ने रुचि जगाउँदै आफू अर्थजस्तो शक्तिशाली मन्त्री बन्नुमा आफैले ‘ब्यूह’ रचेको उनलाई आरोप लाग्ने गरेको छ ।
आरोप र पृष्ठभूमि जस्तासुकै भएपनि अर्थमन्त्री नियुक्त पौडेलको यात्रा सहज भने देखिदैन । किनभने, दुई तिहाइ जनमत प्राप्त सरकारसँग जनअपेक्षाको सगरमाथा नै रहेको तथ्य कसै सामु छिपेको छैन । विद्वान अर्थमन्त्रीको संज्ञा पाएका युवराज खतिवडाप्रति उत्पन्न आक्रोश मत्थर पार्नु पौडेलका लागि सजिलो छैन । तीन आर्थिक वर्षको बजेट खतिवडाले ल्याएकाले पौडेलसँग एक वर्षको बजेट ल्याउने समय मात्रै छ । किनभने, अन्तिम वर्षको बजेट निर्वाचनतर्फ केन्द्रीत गर्नुपर्ने हुन्छ । तसर्थ, पौडेलले लिने नीति उनको व्यक्तिका लागि मात्रै नभएर नेकपा र मुलुककै लागि समेत निर्णायक हुनेछ । किनभने, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि नेकपाले पहिलो पटक ऐतिहासिक अवसर पाएको छ । तर, अहिलेसम्म त्यो अवसर उपयोग गरेको पाइदैन । अर्कातिर कोरोना महामारीले विश्वकै अर्थतन्त्र तहसनहस भइरहेका बेला नेपाल जस्तो मुलुकलाई सजिलै सामान्य अवस्थामा फर्काउदै नेकपालाई फेरि पनि शक्तिमा ल्याउन पौडेललाई पक्कै सजिलो हुने छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies