काठमाडौं : दक्षिण कोरिया रोजगारीका लागि आकर्षक मानिए पनि कोरोना भाइरस संक्रमणको प्रभावपछि ठूलो संख्यामा विदेशी कामदारले तलव पाउन सकेका छैनन् । दक्षिण कोरियामा कार्यरतमध्ये १५ लाख विदेशी मजदुरहरुले तलव पाउन नसकेको सार्वजनिक भएको छ । ईपीएस रोजगार प्रणालीबाट गएका करिब ४० हजार नेपाली कामदारहरु हालसम्म तलव नपाउने समस्यामा नरहे पनि अर्थतन्त्रले गति लिन नसके सबै विदेशी कामदार तलव पाउनबाट वञ्चित हुने विश्लेषण गरिएको छ ।
तलव नपाउनेमा सबैभन्दा धेरै उत्पादनमुलक कम्पनीमा कार्यरत कामदार, दोश्रोमा निर्माण मजदुर तेश्रोमा खुद्रा व्यापार तथा होटल मजुदर रहेका छन् । कोरियामा न्यूनतम पाँच जना कामदारलाई रोजगार दिएका रोजगारदाता भन्दा ठूला लगानीका रोजगारदाताले कामदारको तलव भुक्तानी गर्न नसकिरहेको बताइएको छ ।
कानूनविद्हरुले मजदुरको तलव धेरै समय रोक्नु न्यायोचित नहुने भन्दै सरकारले विशेष आर्थिक प्याकेज घोषणा गरेर भएपनि मजदुरहरुको तलव दिन दवाब दिएका छन् । त्यहाँको रिपब्लिकन जनशक्ति पार्टीका नेता किम सुङ वानले कामदारहरुको ज्याला रोक्ने वा समयमा भुक्तानी नगर्ने रोजगारदाताहरुलाई सरकारले जरिवाना तिराउनु पर्ने माग गरेका छन् ।
आर्थिक मन्दीको प्रभावकै कारण दक्षिण कोरियाले विदेशबाट लैजाने योजना बनाएकामध्ये केवल ९.९ प्रतिशत कामदार मात्र लगेको छ । चालु वर्षको दश महिनामा कोरियाले जम्मा ५ हजार ५ सय ९० जना कामदार लगेको छ । कोरियाले यस वर्षको डिसेम्बर अन्त्यसम्म इ–नाईन भिसा अन्तर्गत ५६ हजार विदेशी कामदार लैजाने बताएको थियो ।
कोरोना भाइरसकै कारण गत मार्च महिनादेखि कोरियाले रोक लगाएको विदेशी कामदारहरुको आवागमन अझै सुचारु गर्न सकेको छैन । विदेशी कामदार नजाँदा साना तथा मझौला लगानी गरेका रोजगारदाताहरुले सरकारसँग कामदार अभाव रहेको गुनासो पटक–पटक गर्दै आएका छन् ।
नेपालमा ईपीएस परीक्षा उत्तिर्ण गरेका कामदारहरु विदेशी कामदार रोक्ने कोरिया सरकारको निर्णयबाट बढी प्रभावित देखिएका छन् । ईपीएस परीक्षा लगायत सम्पूर्ण प्रकृया पूरा गरेका हजारौं नेपाली युवाहरु हातमा आएको आकर्षक रोजगारी गुम्ने चिन्तामा देखिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies