सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मीमा बर्खा लागेसंगै बन्द भएको हाटबजार बन्द भएको ७ महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । जिल्लाको सदरमुकाम रेसुङ्गा नगरपालिकाको वडा नम्बर ९ चारीखोलामा संचालित हाटबजार बर्खा लागेसँगै बन्द भएको थियो ।
गएको कार्तिक महिनाको २३ गतेदेखि संचालनमा आएको उक्त हाटबजार गत चैत्र महिनादेखि बन्द अवस्थामा रहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को समस्याका कारण भएको लकडाउनले गर्दा बन्द भएको उक्त हाटबजार अहिलेसम्म संचालनमा आउन नसकेको रेसुङ्गा नगरपालिकाले जनाएको छ । एक करोड ३३ लाख रुपैयॉ लगानीमा संचालन गरिएको हाटबजार गत बर्षको कार्तिकदेखि चैत्रसम्म मात्रै ६ महिना पनि चल्न सकेन ।
“गएको चैत्र महिनाबाट लकडाउनको कारणले हाटबजार बन्द भएको हो । तर अहिलेसम्म खुल्न नसक्नुको कारण बर्खा नै हो’, रेसुङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिले भने, ‘ तरकारी तथा कृषि उपज संकलनको लागि गाउँ पुग्नुपर्ने भएकोले यातायातको समस्याका कारण अहिलेसम्म हाटबजार बन्द नै छ ।’
मानिसको दैनिक जिवनसँग जोडिएको आधारभूत आवश्यकता अन्तरगतको तरकारी तथा कृषि उपजहरुको विक्री केन्द्र अहिलेसम्म संचालनमा नआउनाले तम्घासका स्थानीयहरु आक्रोशित बनेका छन् ।
नगरपालिकाले आफै संचालन गरेको उक्त हाटबजार प्रभावकारी हुन नसकेको र बर्खापछि यातायातको असुविधासँगै तरकारीको अभाव भएका कारण हाटबजारलाई तत्काल संचालनमा ल्याउन नसकिने रेसुङ्गा नगरपालिकाले जनाएको छ । हाटबजारमा केही भौतिक संरचनाहरु पनि व्यवस्थित गर्न लागिएको छ ।
‘अब नगरपालिकाले कुनै सहकारी तथा इच्छाएको व्याक्तिसँग समन्वय गरेर हाटबजार संचालन गर्ने खाका तयार गर्दै छ । समूह, सहकारी तथा इच्छाएको व्याक्तिले नगरपालिकाले तोकेको मुल्यमा तरकारी तथा कृषि उपज बेच्नुपर्ने हुन्छ । जसलाई नगरपालिकाले अनुगमन तथा मुल्यांकन गर्ने छ ।’ प्रमुख प्रशासकीय अधिकृत मरासिनिले भने ।
समूह सहकारीले हाटबजारमा सहकार्य गरेपनि उनीहरुले चाहेको मूल्यमा भने विक्री गर्न पाउने छैनन् । कृषकसँगको निर्यात रकममा यातायातको शुल्क मात्रै जोडेर व्यवस्थापन गर्न लागिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । करिब डेढ करोड रुपैँया खर्च गरेर शित भण्डारसहित नगरपालिकाले संचालनमा ल्याएको उक्त हाटबजार ६ महिना नपुग्दै बन्द हुनु र नगरपालिकाले नै प्रभावकारी भएन भन्दै पन्छिन् खोज्नुले नगरपालिकामाथि प्रश्न उठाएको छ । १ करोड ३३ लाख ५० हजार लगानीमा शित भण्डारसहित संचालन गरिएको हाटबजार ६ महिना नपुग्दै बन्द हुनु नगरपालिकाको लापर्वाही भएको कतिपय स्थानीय बताउँछन् ।
हाटबजार संचालन नहुनाले सदरमुकाम तम्घासका उपभोक्ताहरु बाहिरी बजारमा चर्को मूल्य तिर्न बाध्य बनेका छन् । तम्घासमा अहिले गोलभेडा प्रति केजी १२०, प्याज ४५, भेन्डी ९०, तितो करेला १००, काँक्रो ५०, घिरौला १०० , लौका ७०, सिम्ला मिर्च १५०, खुर्सानी १२० , सानो सिमी १४० , फूल गोभी १५०, वन्दा ७०, सिमी १३०, अदुवा १८०, लसुन ३००, कागती १८० रुपैयाँ मूल्य रहेको छ । हाटबजारमा भने बाहिरी बजारमा भन्दा तरकारी तथा कृषि उपजको मूल्य ३५ प्रतिशत सस्तो थियो । हाटबजार कार्तिक १५ भन्दा अघि संचालन हुने सम्भावना नरहेको नगरपालिकाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies