गणेश सिंह धामी / मध्यान्ह
दार्चुला, १२ मंसिर । लामो समयसम्म ठेकेदारले लापर्वाही गरेपछि दार्चुलाको शैल्यशिखर नगरपालिका वडा न.६ पनेबाजमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाका स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । स्थानीयहरुले पहिलो दिन एक घण्टा सडक चक्काजाम र पनेबाज बजारसमेत बन्द गरि शान्तीपूर्ण आन्दोलन गरेका थिए ।
बिरोध प्रदर्शनका क्रममा स्थानीयहरुले हातमा बोकेको ब्यानरमा ‘ हाम्रो माग पूरा गर ,बिद्दुत जडानमा भेदभाव गर्न पाइदैन, मेरो प्रश्न नेतालाई बिजुली कहिले जनतालाई, उज्यालो नेपाल भएन बिजुली बाल्न पाएन’ जस्ता नारा लेखिएका थिए । बिगत तीन बर्ष पहिले नै पोल गाड्ने काम गरेपनि धेरै जसो ठाउँमा लाइन बिस्तार गरिएको छैन। अझ धेरै ठाउँमा त ठेकेदारले लापर्वाहीले गाडेका पोलहरुसमेत ढलिसकेको देख्न सकिन्छ।
ठेकेदार र बिद्युत प्राधिकरणको लापर्वाहीका कारण गाउँमा बिजुली नबालेको भन्दै आन्दोलन गर्न बाध्य भएको आन्दोलनका संयोजक जगदीश सिंह धामीले मध्यान्हलाई जानकारी दिएका छन । जिल्लाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरुले यय अघि कार्तिक २४ गते लक्ष्मी पूजाको दिनसम्म विद्युत बाल्न नेपाल विद्यूत प्राधिकरण दार्चुला वितरण केन्द्रलाई २८ जनाको हस्ताक्षर निवेदनमार्फत अल्टिमेटम दिएका थिए। चमेलिया विद्युत छेउमै हुँदा पनि हालसम्म विद्युत बाल्न नसक्नु विद्युत प्राधिकरण र ठेकेदारको चरम लापर्वाही भएको स्थानीयहरुले बताएका छन। तत्काल विद्युत बाल्ने काम नगरे आज एक घण्टा सडक चक्काजाम र मंसिर १५ गते चमेलिया बिद्युत पावर हाउसमै गएर आन्दोलन गर्ने नेपाल तरुण दलका नेता दिपेन्द्र सिंह धामीले जानकारी दिए ।
अहिलेसम्म शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६, ७ र ८ तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २, ३ र ९ मा पोल गाडिए पनि लाइन बिस्तार गरिएको छैन । ठेकेदार र बिद्युत प्राधिकरण दार्चुलालाई बारम्बार आफुहरुले सम्पर्क गर्दा पनि अटेरी गरेको नेपाल स्वयंसेवक संघ युवा संगठन दार्चुलाका अध्यक्ष बिक्रम सिंह धामीले मध्यान्हलाई बताए ।माग पूरा नभए मंसिर १५ गतेदेखि चरणबद्ध आन्दोलन जारी राख्ने धामीले जानकारी दिए।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies