गणतन्त्र नेपाल स्थापना पछि पुस २७ को महत्व कमजोर बन्दै गएको छ । २०६२÷६३ को जनक्रान्तिको जगमा राजतन्त्र अन्त्यसँगै पुस २७ मा मनाइने पृथ्वी जयन्त ओझेलमा परेको छ । केही वर्षसम्म त नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको नाम समेत लिन नसकिने अवस्था थियो । जनक्रान्तिले गणतन्त्र स्थापना गरेपछि राष्ट्रिय एकताको प्रतीक नेपाली जनतालाई नै मानियो । सात दशक लामो राजनीतिक संघर्षबाट गणतन्त्र स्थापना भएकाले नेपालको राष्ट्रियताको प्रतीक नेपाली जनता नै नभएको परिभाषित गरियो ।
तर पनि राजावादी दलहरुले यो दिनलाई विशेष मान्न छोडेन । विशेषगरी जुट्दै र फुट्दै अगाडि बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि अहिले पनि पुस २७ विशेष हुने गरेको छ । यसपटक भने पूर्वपञ्चहरु सबै एक ठाउँ उभिएका छन् । पशुपति शमशेर राणा, कमल थापा, प्रकाशचन्द्र लोहनी एकै ठाउँ उभिएर यो दिनलाई विशेष दिन मनाउने प्रयास गरे । तर, गणतन्त्र नेपालमा राजसंस्थाको पक्षमा उभिएको यो शक्तिले राम्रोसँग पृथ्वी जयन्ती मनाउन पाएनन् । सोमवार उनीहरुले निकालेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भयो ।
यो राजनीतिक पक्ष भयो । यो दिनलाई राष्ट्रिय एकताको दिन मान्ने वा नमान्ने भन्ने नेपाली जनताकै चाहनामा भर पर्नेछ । नेपालको संविधानले पनि देशको सार्वभौमसत्ता नेपाली जनतामा निहीत गरेको छ । तर, मूल प्रश्न मुलुकको राष्ट्रियता कति बलियो छ भन्ने हो । पहिले राजसंस्थालाई राष्ट्रियताको प्रतीक मानिन्थ्यो । गणतन्त्रमा नेपालको संविधान र नेपाली जनता नै राष्ट्रियताको प्रतीक हुन् । यसपटक एउटा यस्तो संयोग बन्यो– संविधानमाथि स्वयम् सरकारले हमला गरेको थियो भने पूर्वपञ्चहरुले परम्परादेखि मान्दै आएको पृथ्वीनारायण शाहको शालिकसम्म राम्रोसँग पुग्न सकेन ।
बरू, नेपाली जनतामा एकप्रकारले अनिश्चय र अन्योल देखिन्छ । हुन पनि संविधान रहेन भने वा कमजोर बन्यो भने त्यसले राष्ट्रिय एकता धर्मराउने खतरा छ । मुलुकमा १२३ जातजाति र झण्डै उत्तिकै संख्यामा रहेको भाषाभाषीहरुको प्रतीक संविधान मात्रै बन्नसक्छ । त्यही संविधान सवै नागरिककलाई एउटै डोरीमा बाँध्न सक्छ । अहिले राष्ट्रपति पनि राष्ट्रियताको प्रतीक हो । तर, राष्ट्रपति विद्यादेवी भण्डारी राजनीति विवादमा तानिएकी छन् । विशेषरी संसद् विघटनमा प्रधानमन्त्रीलाई साथ दिएको आरोप छ । त्यसैले अहिले पृथ्वी जयन्ती मनाउन पाइयो वा पाइएन ? जरुरी छ वा छैन ? भन्दा पनि संविधान र संवैधानिक सर्वोच्चता प्राप्त संस्था जोगाउनु अपरिहार्य बन्न पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies