काठमाडौं : राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठान नेपालको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको टोखामा सम्पन्न भएको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, बद्री पंगेनीसँगै वर्तमान अध्यक्ष रमेश विजीको उपस्थिति रहेको कार्यक्रममा प्रमुखअतिथिको रुपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी सहभागी थिए ।
समारोहमा संगीतकर्मी कृष्ण गन्धर्वलाई १५ हजार सहित ‘लोक बहादुर स्मृति पुरस्कार’, ११ हजार नगद सहितलोक पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सिताराम बडाल तथा नेपालीलोक संगीतमाविद्यावारिधी गरेका डा. राम प्रसाद घिमिरेलाई सम्मान गरियो । उनीहरुसँगै कोभिडको समयमा कलाकारहरुलाई सहयोग पुर्याएका पृथ्वी थकाली र विनोद श्रेष्ठ पनि सम्मानित भए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका नगर प्रमुख अधिकारीले प्रतिष्ठानको भवन निर्माणका लागि पूर्व अध्यक्ष बद्री पंगेनीसहित उनको टीमले खेलेको भूमिकाको प्रशंसा गरे । ‘तपाईंहरुले प्रतिष्ठान स्थापना गर्ने जुन अठोट गर्नुभयो, त्यसका लागि बद्री पंगेनीको ठुलो हात छ । यो काम जुगजुग बाँचिरहन्छ । प्रतिष्ठान हाम्रो सम्पत्ति हो । यसको संरक्षण र प्रवद्र्धन गर्नु हाम्रो कर्तव्य हो । प्रतिष्ठानका लागि नगरपालिकाले सक्ने सहयोग गर्नेछ,’ अधिकारीले भने ।
प्रतिष्ठानका महासचिव सुवास केसीले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानलाई कोरोनाको समयमा सहयोग गर्ने सहयोगी हातहरुलाई सम्मानका साथै आजीवन सदस्य बनेका संगीतकर्मीहरुलाई पनि कदर तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
समारोहमा बोल्दै प्रतिष्ठानका वर्तमान अध्यक्ष रमेश बिजीले प्रतिष्ठानलाई दिवंगत श्रष्टाहरुको बैकुण्ठ तथा पुण्यभूमि बनाउने योजना सुनाए । उनले भने, ‘बाजा संग्रहालय, संगीतालय स्थापना गर्ने सपनाले मुर्त रुप लिँदैछ । मलाई आफ्ना अनुभव साटेर आफुलाई सहयोग गर्ने पुर्व अध्यक्षहरुप्रति आभार व्यक्त गर्दछु ।’
साधारणसभा पश्चात आयोजित बन्द शत्रमा प्रतिष्ठानको सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । अहिलेको प्रतिकुल अवस्थामा पनि अत्यधिक संगीतकर्मीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा भावी योजनाको घोषणा पनि गरिएको थियो ।
भावी योजनाअनुसार प्रतिष्ठानले अघिल्ला कार्यकालहरुमा गर्दै आइरहेका महत्वपुर्ण कार्यहरुलाई निरन्तरता, लोकबाजा संकलन सहितको संग्रहालय स्थापना, संगीत विकास बोर्ड गठन प्रक्रियामा पहल, हालसम्म गठन नभएका जिल्ला र विदेश शाखाहरुमा संगठन विस्तारका साथै निस्क्रिय रहेका जिल्लाहरुलाई क्रियाशिल, अनुशासित, मर्यादित, व्यवस्थित र चलायमान गराउन पहल तथा रोयल्टी पाइरेसी सम्बन्धी सम्बन्धित सरोकारवालाहरुसँग बसी स्पष्ट धारणा ल्याउन पहल तथा लोक दोहोरी आचारसंहिता समेत तयार गर्ने लगायतका विषयहरु रहेका छन् ।
वि.सं २०५७ साल असोज १६ गते स्वर्गीय लोक गायक लोक बहादुर क्षेत्रीको सम्झनामा नवलपरासीको अरुण खोलामा भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगितामा उपस्थित गायक गायिका एवं निर्णायक मण्डलका अग्रजहरुको भेलापश्चात अम्बर विरही गुरुङको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिति गठन भई त्यसको ७ महिनापश्चात वि.सं २०५८ वैशाख १४ र १५ गतेको राष्ट्रिय भेलामार्फत गैंडाकोटको उच्च मा.वि.बाट अम्बर विरही गुरुङकै अध्यक्षतामा प्रतिष्ठानको पहिलो कार्यसमिति गठन भएको थियो ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies