काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी समिति सदस्य घनश्याम भुसालले आगामी केही हप्ता नेपाली राजनीति उथलपुथलपूर्ण हुने बताएका छन् ।
नेकपा प्रवास समन्वय कमिटीले आइतबार आयोजना गरेको जुम मार्फतको वेबनार कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा विघटन बदर हुने निश्चित प्रायः भन्दै प्रवासीहरुले पनि सोही स्पिरिटमा संगठन निर्माण गर्नुपर्ने सुझाव दिए ।
आफु प्रधानमन्त्री हुँदा वैदेशिक रोजगारीमा रहेका नेपाली र गैर आवासीय नेपालीहरुका पक्षमा धेरै निर्णय गराएको दाबी गर्दै प्रचण्डले नेपाली नियोगहरुको संस्थागत परिचालन, नागरिकता सम्बन्धी दोहोरो समस्याको प्रगतिशील समाधान, नेपाली कामदार रहेका देशहरुसँग नेपाली कामदारहरुको हित रक्षा हुने गरी द्विपक्षीय श्रम सम्झौता जस्ता पक्षलाई अघि बढाउने बताए ।
प्रवासमा रहेर काम गरेको अवधिलाई संगठनको पदोन्नतीमा जोडिने भन्दै अध्यक्ष प्रचण्डले कोरोनाको समयमा वैदेशिक रोजगारमा रहेका कामदारहरुका पक्षमा धेरै काम गर्नुपर्ने भएपनि सरकारको कमाण्ड प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा रहेको र उनले पार्टीको कुरा सुन्न नचाहेका कारण समयमा उद्धार तथा राहतका काम गर्न नसकिएको बताए ।
कार्यक्रममा स्थायी समिति सदस्य भुसालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको विरोध गरेको आरोपमा नेकपा प्रचण्ड–नेपाल समुह, समाजवादी दल वा नागरिक समाजका अगुवाहरुलाई राज्यशक्तिको चरम दुरुपयोगमा धरपकड गरी व्यापक गिरफ्तारी गरेर जेल हाल्ने परिस्थिति बन्ने दावी गरे । उनले भने, ‘त्यस्तो अवस्थामा रक्तपातको अवस्था समेत सिर्जना हुनसक्ने खतरा छ ।’
फागुन १३ गते सर्वोच्च अदालतबाट निर्णय आउने आँकलन गर्दै उनले प्रतिनिधिसभा विघटन बदर भएपनि अवस्था सहज नहुने आँकलन सुनाए । सर्वोच्च अदालतमा भएको बहसपछि प्रधानमन्त्री ‘इरिटेट’ भएको भन्दै उनले भने, ‘विराटनगर जानुअघि उहाँले केही कानून व्यवसायीहरुसँग छलफल गर्नु भएको थियो, विराटनगरमा शनिबारको सम्बोधनमा उहाँले त्यो संकेत दिइसक्नु भएको छ, त्यसैले नेपाली राजनीतिक क्षेत्रमा केही समयका लागि असहज परिस्थिति आउन सक्छ ।’
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies