काठमाडौं : वैदेशिक रोजगार विभागले साउदी अरेबियाले आफ्नो मुलुकमा जाने आप्रवासीहरुका सम्बन्धमा नयाँ नियम लगाएकोले सचेत हुन सरोकारवालाहरुलाई आग्रह गरेको छ । विभागले आइतबार साउदी अरब जाने सरोकारवाला सबैमा सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । साउदी सरकारले हवाई, स्थल तथा जलमार्गबाट हुने सम्पूर्ण आवागमन माथिको प्रतिबन्ध मे १७ तारिखसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।
विभागले साउदी अरबस्थित नेपाली दूतावासबाट प्राप्त जानकारी तथा जारी गरेको सूचनामा पुनः प्रवेश भिसामा नेपाल आएका
आप्रवासी कामदारहरु सो भिसाको अवधि सकिनु अगावै काममा नफर्किन आग्रह गरेको बताएको छ । पुनः प्रवेश भिसाको अवधि सकिनु अगावै काममा नफर्किएना ती कामदारहरु तीन वर्षसम्म साउदी अरब प्रवेश गर्न नपाउने गरी प्रतिबन्ध लाग्ने भन्दै सचेत हुन विभागले आग्रह गरेको हो ।
विभागले जुन कम्पनीबाट पुनः प्रवेश भिसामा गएको हो सोही कम्पनीमा नयाँ भिसामा फर्किन अनुमति पाएमा सो अवधि अघि नै जान पाउने साउदीको अध्यागमन कार्यालयले जनाएको भन्दै विभागले पछिल्लो केही दिनयता साउदी अरबमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नयाँ नियम आएको बताएको छ ।
साउदी सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गर्दै विभागले नयाँ मापदण्ड अनुसार व्यापारिक मलहरुमा जाने सबैले मलमा प्रवेश गर्नुपूर्व साउदी सरकारले उपलब्ध गराएको तावाक्कलान एप्स मोबाइलमा अनिवार्य डाउनलोड गर्न पनि आग्रह गरेको छ । त्यसले कोरोना संक्रमण भएका व्यक्तिको आवागमनको समेत ट्रयाकिङ्ग हुने बताइएको छ ।
साउदी सरकारले भारत, पाकिस्तान, अर्जेन्टिना, ब्राजिल, इजिप्ट, फ्रान्स, जर्मनी, इन्डोनेशिया, आयरल्याण्ड, इटाली, जापान, लेबनान, पोर्चुगल, दक्षिण अफ्रिका, स्वीडेन, स्वीट्जरल्याण्ड, टर्की, यूएई, बेलायत र अमेरिका गरी २० देशबाट प्रवेश गर्ने कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनीहरुका परिवार र कामदारहरुलाई अब अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नपाउने निर्देशन जारी गरेको छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies