सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : नयाँ प्रविधिबाट खेती गर्न पाल्पा रामपुरका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ । पाल्पाकै एकमात्र चैते धान खेतीको पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान कृषक समूहका कृषकलाई आधुनिक उपकरण तथा औजार अनुदानमा उपलब्ध गराइएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममार्फत चैते धान पकेट क्षेत्र कार्यक्रम संचालनका लागि यसवर्ष १२ लाख वजेट विनियोजन भएको छ । सोही वजेटबाट सात हर्ष पावर क्षमताको दुईवटा हाते ट्याक्टर, तीन वटा सानो कुटानी मिल, पैतिस वटा त्रिपाल, एक वटा रोटाभेटर, एघार वटा स्प्रे वितरण गरिएको रामपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिए ।
समूहका अध्यक्ष ओमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका प्रदेश सभा सदस्य युवराज खनालले कृषि औजारको वैदिक परम्परा अनुसार पूजा गरी उद्घाटन गरे । प्रदेश सभा सदस्य खनालले रामपुर उत्पादनशिल ठाउँ रहेकाले नयाँ सीप जागर, नयाँ प्रबिधि प्रयोग गरेर काम गरेमा उत्पादन बढ्ने बताए ।
उनले प्रदेश सरकारबाट आएको वजेट पालिका मार्फत माग गर्ने भएकाले कृषकलाई आफ्नो पनि अपनत्व बनाउन सरकार र कृषकको ५०/५० प्रतिशत वजेट अनुदान उपलब्ध गराउने गरेको बताउदै स्थानीय सरकारले साना लगानी, प्रदेश सरकारले मझौला र संघ सरकारले ठूला खालका कृषिमा लगानी गर्ने गरेको बताउँदै अनुदानमा प्राप्त साामग्रीलाई सही ठाउँमा सदुपयोग गर्न उनको आग्रह छ ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले रामपुर नगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरेको बताए । कार्यक्रमको संचालन समूहका सल्लाहकार बलबहादुर पोखरेलले गरेका थिए ।
समूहका सचिव पविसरा पचभैयाले स्वागत गरेको कार्यक्रममा सहभागीलाई धन्यवाद उपाध्यक्ष तुलबहादुर थापाले ज्ञापन गरेका थिए । वडमान क्षेत्रमा गत वर्षदेखि चैते धानको पकेट कार्यक्रम संचालन भइरहेको छ ।
गतवर्ष दुई सय दुई रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको थियो भने यसवर्ष तीन सय पाँच रोपनी क्षेत्रफलमा २९ जना कृषकले चैते धान लगाउने तयारी गरेका छन् । पकेट क्षेत्रका रुपमा कार्यक्रम सुरु गरेपछि बाँझो रहेका तथा मकै मात्र लगाउने खेतमा चैते धान लगाउन थालिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies