२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

Nada
२०८२ वैशाख २६ गते १७:२६
Shares
डेंगु संक्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं : पानी पर्न थालेकाले डेंगु संक्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । 

ncell

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगु संक्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् ।

उनले भने, “पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्दछ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको १५ देखि २० दिन डेंगु संक्रमण हुने खतरा रहेको छ । सबैले आवश्यक सतर्कता अपनाउन आग्रह छ ।”

पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगु रोग लाग्ने गर्दछ । 

शाखा प्रमुख डा दाहालले गत वर्ष धेरै डेंगु संक्रमण भएका ३५ स्थानीय तहमा संक्रमण रोकथाम र नियन्त्रण गर्न पत्राचार गरिसकिएको बताए । उनका अनुसार पुस १७  यता ९६८ जनामा संक्रमण देखिएको छ । सन् २०२४ मा देशका ७६ जिल्लामा डेंगु संक्रमण फैलिँदा ४१ हजार ८६५ संक्रमित र १५ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित खबर