सागर भण्डारी/मध्यान्ह
गुल्मी : १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मुसिकोटमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिन्छ । दिवसको यस वर्षको नारा ‘महिला सुरक्षा सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ रहेको छ ।
मुसिकोट नगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि मुसिकोट नगरपालिका उपप्रमुख कमला शर्माले सभ्य र लैंगिक समानतामुलक समाज निर्माणका लागि अग्रसर रहन सबैलाई आग्रह गरिन् । विगतका दिनमा महिला र पुरुषका बीचमा हुने विभिन्न विभेदहरु विस्तारै कम हुँदै गएको भन्दै उनले महिलाहरुलाई प्राप्त हुने अवसरहरुलाई सदुपयोग गर्न समेत आग्रह गरिन् ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले स्थानीय सरकार सामाजिक न्याय र समानताको निम्ति प्रतिबद्ध रहेको भन्दै महिला माथिको भेदभाव असभ्यता भएकाले असभ्य व्यवहार गर्नेलाई दण्डित गर्नुपर्ने बताए ।
मुसिकोट नगरपालिकाका कानूनी सल्लाहकार अनन्तलाल भण्डारीले महिलाहरुका लागि कानूनले प्रदान गरेका हक अधिकारहरुको विषयमा जानकारी गराउँदै राज्यले महिला हिंसा अन्त्यका लागि बनेका कानून कार्यान्वयनको अवस्था अनुगमन गर्नुपर्ने बताए । उनले अहिले स्थानीय सरकारमा न्यायिक समिति बनेकाले आफु हिंसामा परे तुरुन्तै उजुरी दिन पनि आग्रह गरे ।
मुसिकोट नगरपालिका योजना शाखा प्रमुख मुना ज्ञवाली, लक्ष्मी नारायण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष यमुना खरेल, शिक्षिका सिता खरेल लगायतले महिला हिंसाका घटना न्यूनिकरण हुन नसकेकोमा दुःख व्यक्त गर्दै महिलाहरु आफैँ सक्षम नभएसम्म घरभित्रै हुने हिंसा अन्त्य नहुने बताएका थिए । उनीहरुले महिला र पुरुषले गर्ने समान काममा पनि ज्यालामा गरिने विभेद भने अझै पनि कायमै रहेको बताएका थिए ।
त्यस्तै उनीहरुले हिंसा गर्नेहरु कानुनी दायरामा आउन नसकेकाले सबैले गम्भिरतापूर्वक सोच्ने बेला आएको पनि बताए । पछिल्लो समय राज्यका हरेक निकायमा महिला सहभागिता बढिरहेको भएपनि यस्ता उपलब्धीप्रति गर्व गर्दै बाँकी उपलब्धीका लागि सचेत रहन आग्रह गरेका थिए ।
मुसिकोट नगरपालिका कार्यपालिका सदस्य सत्या जिसीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रेणु प्रधान, वडा नं ७ का कार्यवहाक वडाध्यक्ष लक्ष्मण खराल, मुसिकोट नगरपालिकाका कानुनी सल्लाहकार अनन्तलाल भण्डारी, वडा सदस्य सुकमाया विक, पान कुमारी विक, माया नेपाली लगायत सहभागि थिए ।
कार्यक्रमको अवसरमा विभिन्न सांगीतिक नृत्य, महिला हिंसामा आधारित रहेका कविता, नाटक पनि प्रस्तुत गरिएको थियो । मुसिकोट नगरपालिका योजना शाखा प्रमुख मुना ज्ञवालीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वास संयोजक सिता भुषालले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies