प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि नेपाली राजनीतिमा सर्वाधिक छलफल भएको विषय हो– वर्तमान सरकारले निरन्तरता पाउँछ अथवा नयाँ सरकार बन्छ ? संसद् पुनस्र्थापना लगत्तै विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नयाँ सरकारको पहलकदमी शुरु गरे । चितवन रहेको दाहाल र नेपाल कार्यक्रम नै छोडेर काठमाडौं फर्किए । काठमाडौं फर्किए पछि निवास नगएर सिंधै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगे । बुढानिलकण्ठ पुगेर प्रचण्ड र नेपालले नयाँ सरकार निर्माणको अगुवाई गर्न आग्रह गरे । तर, त्यसबेला नेकपा विभाजनलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन । ओलीले पनि नेकपाकै दावी गरिरहेका थिए भने प्रचण्ड–नेपाल पनि दावीमै थिए । यसर्थ, देउवाले त्यो हिम्मत् देखाउन सकेनन् । देउवाको संशय थियो– कानूनी रुपमा एउटै भएको नेकपाको एउटा समूहले भन्दैमा म कसरी अगाडि बढ्ने ?
तर, १२ दिन नबित्दै अदालतले नेकपाको एकता प्रक्रिया नै बदर गरिदियो । यसपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो । अदालतले नै एकता पूर्वको पार्टी ब्यूँताउने फैसला दिएको थियो । त्यस यता पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निरन्तर नयाँ सरकार निर्माणको कसरतमा छन् । शनिवार मात्रै नेपाली काँग्रेसले सरकारको पहलकदमी लिने निर्णय गरेको छ । यो निर्णयसँगै प्रचण्ड उत्साहित बनेका छन् । तर, सँगै संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारको नेतृत्व गर्ने दावी गरेको छ । यसले फेरि पनि सजिलै नयाँ सरकार बन्ने देखिएको छैन । माओवादी केन्द्रले सरकारको दावी गरेको छैन, तर काँग्रेस र जसपा नमिलेमा फेरि पनि नयाँ सरकार बन्न सक्दैन । किनभने, अहिलेको संसद्को संख्या समीकरण नै त्यस्तो छ । नेकपाल एमालेको मात्रै संसद्मा १२१ सिट छ । एमालेलाई सरकार बनाउन १७ सिट आवश्यक पर्छ । तर, यसको वैकल्पिक सरकार बनाउन तीन वटै दल बीच सहमति आवश्यक छ ।
प्रतिनिधिसभा विघटनको निर्णयसँगै निम्तिएको संवैधानिक र राजनैतिक संकट मध्ये संवैधानिक संकट सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेर टारेको छ । तर, नयाँ सरकार खोजी गरिरहने, तर नबन्ने अवस्थाका कारण संसद्, सरकार र जनताका आवश्यकताहरुमाथि भने मुलुकको ध्यान जान सकेको छैन । लगभग, मुलुक राजनीतिक स्वार्थको बन्धक देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies