अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु कुनै हालतमा नझुक्ने बताएका छन् ।
जनआन्दोलन दिवसको अवसरमा मंगलबार जिल्लाको मुसिकोटमा आयोजित आमसभामा बोल्दै प्रचण्डले भने, ‘आज तपाईंहरुले दिएको ऊर्जाले त मलाई झन् ठूलो शक्ति प्रदान भएको छ । म कुनै हालतमा झुक्ने छैन ।’ प्रचण्डले संकटमा आफूलाई साथ दिएका जनतालाई कहिल्यै नभुल्ने बताए । प्रचण्डले अब आफू थोरै समय काठमाडौं बस्ने र बाँकी धेरै समय जिल्लामा बस्ने समेत बताएका छन् । उनले भने, हामी काठमाडौंमा बसेर लडेको लडाईंले धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, क्रान्ति होस् या जनआन्दोलन जनताको बलमा हामीले सफलता पाएका छौं ।’
प्रतिगामी शक्तिकाविरुद्ध लड्ने तागत अब हिजो जनयुद्धका बेलामा रहेका आधार इलाका, हिजोका योद्धा, घाइते र शहीद परिवारमा मात्र छ ।
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले आयोजना गरेको कार्यक्रममा ‘प्रचण्ड’ले धेरै समय जिल्लालाई दिने बताए । जनताको आगनमा बसेर धेरै समय बिताउने र प्रतिक्रान्तिकारीलाई चुनौती दिने समेत दाहालले घोषणा गरेका छन् । त्यस्तै अर्का नेता नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुमबाट समाजवादको उदय हुने बताएका छन् ।
३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले रुकुम पश्चिममा जनताको साझेदारीमा विभिन्न विकास निर्माण र आत्मनिर्भरतासम्बन्धी काम भइरहेकोले त्यसलाई देशव्यापीरुपमा बनाउनुपर्नेमा जोड दिएका छन् ।
समाजमा भइरहेको छुवाछुत, बालश्रम शोषणलाई आफूहरुले अभियान सञ्चालन गरेर समानतामुलक समाजको निर्माण गर्ने उनले बताए । आर्थिक उन्नतिका जोड दिएमात्रै समाजवादले पुर्णता पाउने नेता शर्माको भनाइ छ ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies